सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालुवाटारमा ओली र गौतमको चर्काचर्की : 'राजीनामा दिनुस्, बालकोट फर्कनुस्'

वामदेवलाई ओलीको जवाफ : मविरुद्ध षड्यन्त्र भयो, हिसाब-किताब गर्छु
शनिबार, १३ वैशाख २०७७, २२ : २१
शनिबार, १३ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद पेचिलो बन्दै गएको छ । शनिबार साँझ बालुवाटारमा नेताहरुबीच चर्काचर्की नै हुन पुगेको छ । अध्यादेश प्रकरणपछि स्थायी समिति बैठककोे माग भइरहेका बेला त्यसलाई टार्ने योजनामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लागेका छन् । 

तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लगायतका बहुसंख्यक नेताहरु बैठक बोलाएर त्यसको छिनोफानो गर्ने पक्षमा छन् । यहि क्रममा प्रधानमन्त्री ओलीले शनिबार पार्टी सचिवालयका चार शीर्ष नेताहरुसँग छुट्टाछुट्टै भेटेर सचिवालय बैठक तत्काल नबोलाउने संकेत दिइसकेका छन् । 

ओलीले कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेललाई बालुटार बोलाएर छलफल गर्दै अध्यादेश फिर्ता भएको अवस्थामा स्थायी समिति बैठक बोलाउन आवश्यक नभएको भन्दै टार्न खोजेका थिए । 

तर ओली र गौतमबीच शनिबारको भेटवार्तामा चर्काचकीमात्रै होइन, एकले अर्कालाई देखाइदिने सम्मको चुनौती दिएका छन् । स्रोतका अनुसार भेटमा नेता गौतमले ओलीलाई बेमौसममा अध्यादेश ल्याएर पार्टी र सरकारकै बद्नाम भएको भन्दै तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न सुझाएका थिए ।

तर, गौतमको यस्तो सुझाव सुनेर आक्रोसित बनेका ओलीले यसको हिसाब किताब राम्रैसँग गर्ने जवाफ फर्काएका थिए । नेताहरुबीच बिबाद चर्कदै गएपछि एकले अर्कोलाई हैसियत देखाउने सम्मका अभिव्यक्ति दिएका थिए । 

‘तपाईंले बेमौसममा अध्यादेश ल्याएर गम्भीर गल्ती गरिसक्नुभयो । यसमा तपाईंको मनस्थिति ठिक देखिएन । अब खुरुक्क राजीनामा दिनुस् र बालकोट गएर बस्नुस् । त्यसैमा तपाईंको भलो हुन्छ’, ओलीलाई गौतमको सुझाव  थियो । 

तर गौतमको सुझाव सुनेपछि ओली आक्रोसित मात्र भएन्न, गौतमलाई देखाइदिने धम्की नै दिएका थिए । ओलीले गौतमलाई धम्क्याउदै भनेका थिए, ‘यो त अति भो, पार्टीभित्रैबाट यस्तो षडयन्त्र हुन्छ भन्ने मैले सोचेको पनि थिइनँ । म राजीनामा कुनै हालतमा दिन्न । सक्नुहुन्छ भने हटाएर देखाउनुस् ।’


बालुवाटार श्रोतका अनुसार दुई नेताबीच झण्डै आधा घण्टा यस्तो चर्काचर्की परेको थियो । आफूविरुद्ध मोर्चाबन्दी भइरहेको भन्दै ओलीले त्यसको हिसाब-किताब आफुसँग रहेको भन्दै गौतमलाई धम्क्याएका थिए । गौतम नेकपाभित्रका हक्की स्वभावका नेता हुन् ।

नेकपाभित्र ओलीको कार्यशैलीलाई लिएर तीव्र आलोचना भइरहेको छ । अध्यादेशको चर्को विरोधपछि फिर्ता लिएका प्रधानमन्त्री ओलीले शुक्रबार विपक्षी दलका नेता शेरबहादुर देउवा र अध्यक्ष प्रचण्डसँग पनि छुट्टाछुटटै र सामूहिक भेटवार्ता गरेका थिए । 

गत बैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्य्विधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ संशोधन गर्ने निर्णयलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले ति दुवै अध्यादेश प्रमाणिकरण गरेकी थिइन् । त्यसको चार दिनमै १२ गते अध्यादेश फिर्ता लिनुपरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप