सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः अमेरिका र चीनबीच षड्यन्त्रको कहानी

सोमबार, १५ वैशाख २०७७, १० : १६
सोमबार, १५ वैशाख २०७७

कोरोनाभाइरसको महामारीको सुरुवाती समयदेखि नै यसबारे षड्यन्त्रका कहानी इन्टरनेटमा सुन्न र देख्न पाइएको छ ।

यस्तै झुटो दाबीमध्ये एउटा झुट यो पनि थियो कि कोरोनाभाइरस चीनको ‘गोप्य जैविक हतियार कार्यक्रम’ को हिस्सा थियो ।

अर्को एउटा आधारहीन दाबी यो पनि गरियो कि क्यानडा र चीनको जासूसको एक समूहले ऊहानमा कोरोना भाइरस फैलाएको थियो ।

कोरोनाभाइरस प्रयोगशालामा तयार गरिएको दाबी त फेसबुक र ट्वीटरबाट अघि बढेर रुसको सरकारी टेलिभिजन च्यानलको प्राइम टाइमसम्म पुग्यो ।

महामारी सुरु भएको महिनौं बितिसकेको छ तरपनि षड्यन्त्रको यो कहानी समाप्त हुने छाँटकाँट छैन ।

यसको साटो अब त सरकारी अधिकारी, वरिष्ठ राजनेता र अमेरिका र चीनका मिडिया आउटलेट्स नयाँ र अपुष्ट दाबीलाई प्राथमिकता दिइरहेका छन् ।

महामारी र झुटो खबरः

चीनको विदेश मन्त्रालयका एक प्रवक्ता शाओ लिजियानले बारम्बार र कुनै प्रमाण बिना नै ‘कोभिड–१९ को महामारीको सुरुवात अमेरिकाबाट भएको हुनसक्छ’ भन्ने बयान दिएका छन् ।

१२ मार्चमा उनले एक ट्वीट गर्दै भने, ‘अमेरिकी सेनाले कोरोनाभाइरसलाई ऊहानमा ल्याइपुर्याएको हुनसक्ने सम्भव छ ।’

त्यसको एक दिन पछि शाओ लिजियानले वेबसाइट ‘ग्लोबल रिसर्च’ एउटा आर्टिकल ट्वीट गरे ।

यो आर्टिकलको हेडलाइन थियो, ‘कोरोनाभाइरस अमेरिकाबाट सुरु भएको थियो, यो कुराको थप प्रमाण भेटियो ।’ उनले मानिसहरुलाई उक्त लेख पढ्न र सेयर गर्न अपिल गरे । पछि त्यो आर्टिकल डिलिट गरियो ।

चीनको पत्रिका ‘ग्लोबल टाइम्स’ ले पनि शाओ लिजियानको सुरमा सुर मिलायो । पत्रिकाले शाओ लिजियानले ‘निजि हैसियत’ ले यस्तो दाबी गरेको हुनसक्ने बताउँदै लेख्यो, ‘उनले त्यहि भने जसमाथि चिनियाँ जनताले शंका जताइरहेका थिए ।’

लिजियानको छविः

लिजियानको दाबी फैलाउनमा विभिन्न चिनियाँ दूतावास र संसारभरी फैलिएका सोसल मिडिया प्रयोगकर्ताले आफ्नो भूमिका निभाए ।

बीबीसी मोनिटरिङ समूहमा चीन मामलाकी जानकार केरी एलेनले भनेकी छिन्, ‘लिजियनको छवि एक मुखर व्यक्तिको रुपमा रहेको छ । विशेषगरी सोसल मिडियामा । मेनल्याण्ड चाइना (हङगकङ र मकाउलाई छोडेर बाँकी रहेको चीन) मा उनको एक भिन्न पहिचान छ । उनले सधैं नेतृत्वको दृष्टिकोणसँग मेल खानेमात्रै कुरा गर्छन् भन्ने छैन ।’

थिङ्कट्याङ्क सेन्टर फर रिसर्च अन ग्लोबलाइजेशनको स्थापना क्यानडामा सन् २००१ मा भएको थियो । ग्लोबल रिसर्च यसै थिङ्कट्याङ्कको वेबसाइट हो ।

वास्तविकताबारे अनुसन्धान गर्ने अमेरिकी वेबसाइट ‘पोलिटिफ्याक्ट’ का अनुसार ग्लोबल रिसर्चसँग सेप्टेम्बर इलेभेन, ग्लोबल वार्मिङजस्ता मुद्दामाथि षड्यन्त्रका कहानी छन् जुन सुन्दा आकर्षक लाग्छ ।

लेरी रोमानाफको दाबीः

शाओ लिजियानले जुन लेख ट्वीट गरेका थिए त्यो लेरी रोमानाफको थियो । लेरी ‘ग्लोबल रिसर्च’ का लागि नियमित रुपमा लेख्ने व्यक्तिमध्येका एक हुन् ।

लेरी रोमानाफले आफ्नो एउटा पुरोना लेखको निष्कर्षलाई नै उक्त लेखमा दोहोराएका थिए जसमा यो भाइरसको उत्पत्ति चीनमा नभएको बताइएको थियो ।

तर चीनमा भएको अनुसन्धान र जुन साइन्स पत्रिकाको उनले उल्लेख गेरेका थिए, त्यसमा ऊहानको जुन बजार छ, त्यो नै नयाँ कोरोनाभाइरसको उत्पत्ति स्थल भन्न नसकिने बताइएको छ ।

गलत खबरको आधारः

लेरी रोमानाफले ‘जापान र ताइवानका वैज्ञानिकले नयाँ कोरोनाभाइरसको उत्पत्ति अमेरिकामा भएको हुनसक्ने’ दाबी पनि गरेका छन् ।

जापान र ताइवानका केही च्यानलमा आएको रिपोर्टलाई आधार मानेर लेरी रोमानाफले आफ्नो लेखमा यस्तो निष्कर्ष निकालेका होलान् ।

वास्तवमा, फेब्रुअरीमा एक जापानी टेलिभिजन च्यानलमाथि यस्तै एउटा रिपोर्ट आएको थियो र ताइवानको एक च्यानलमा एक फार्माकोलोजीका प्राध्यापकले यस्तो दाबी गरेका थिए ।

वास्तवमा ताइवानका ती प्राध्यापक एक राजनेता हुन् र चीन समर्थक मानिन्छन् जबकी लेरी रोमानाफको नजरमा त उनी एक शीर्ष स्तरका वायरोलोजिस्ट (किटाणु विशेषज्ञ) हुन् ।

अर्को एउटा गलत खबरः

लेरी रोमानोफले कुनै प्रमाण बिना  नै मेरिल्याण्डको फोर्ट डेट्रिकस्थिती अमेरिकी सेनाको ‘जर्म ल्याबोरेटरी’ मा कोरोनाभाइरस तयार गरिएको हुनसक्ने दाबी गरे ।

उनले आफ्नो कुरा प्रमाणित गर्नका लागि थप लेखे, ‘यसमा अचम्म मान्नुपर्दैन किनभने किटाणुको संक्रमण रोक्नका लागि कुनै सुरक्षा मापदण्डको कमीका कारण गत वर्ष उक्त प्रयोगशाला पूर्ण रुपमा बन्द गरिएको थियो ।’

जब लेरी रोमानाफले यस्तो लेखे तब न्यूयोर्क टाइम्समा उक्त ‘जर्म ल्याबोरेटरी बन्द नभई उसको अजुसन्धानको काम मात्र रोकिएको’ भन्ने खबर छापियो ।

ल्याबोरेटरकी प्रवक्ताले प्रयोगशाला बाहिर कुनै पनि खतरनाक चुहावट नभएको स्पष्टिकरण दिएकी छिन् ।

चीनसँग विशेष लगावः

लेरी रोमानाफ आफूलाई एक अवकाशप्राप्त म्यानेजमेन्ट कन्सल्टेन्ट र व्यवसायी बताउँछन् ।

साथै, उनका अनुसार उनी सांघाईको फुडान युनिभर्सिटीमा भिजिटिङ प्राध्यापक पनि हुन् र उनले एग्जिक्युटिभ एमबीएको सिनियर क्लासेजका लागि अन्तर्राष्ट्रिय मामलामा केस स्टडिज पनि प्रस्तुत गरेका छन् ।

वाल स्ट्रिट जनरलका अनुसार फुडान युनिभर्सिटीको एमबीए प्राग्राम्ससँग जोडिएका अधिकारीलाई लेरी रोमानाफबारे कुनै जानकारी थिएन ।

के लेरी रोमानाफ फुडान युनिभर्सिटीमा भिजिटिङ प्रोफेसरको रुपमा जोडिएकी छिन् ?

फुडान युनिभर्सिटीले बीबीसी न्यूजको यो प्रश्नको कुनै जवाफ दिएनन् ।

अमेरिकाका लागि आलोचनाः

‘ग्लोबल रिसर्च’ का लागि नियमित रुपमा लेख्ने लेरी रोमानाफका धेरैजसो लेखमा अमेरिकाका लागि आलोचना र चीनका लागि समर्थनको भाव पढ्न सकिन्छ ।

उनका विभिन्न दाबीमाथि प्रश्न उठिरहन्छन् । एक पोडकास्ट स्टेशनलाई यसै महिना उनले भने, ‘सुरुवातमा कोभिड–१९ ले चिनियाँलाई निशाना बनाइरहेको थियो र अन्य मूल तथा जातीमाथि यसको कुनै प्रभाव परिरहेको थिएन ।’

कुरा डब्ल्यूएचआको फन्डिङसम्म पुग्योः

चीनको सरकारसँग जोडिएका मानिस र मिडियाले जब कोरोना भाइरसको महामारीको पछाडि अमेरिकाको हात छ भनियो तब वासिङ्टनबाट पनि यसको प्रतिक्रिया आउन थाल्यो ।

राष्ट्रपति ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस बताए भने विदेशमन्त्री माइक पोम्पियोले चीनलाई भ्रामक सूचना बन्द गर्न माग गरे ।

राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकी फन्डिङ रोक्ने घोषणा गरे । उनले डब्ल्यूएचओमाथि चीन परस्त भएको आरोप पनि लगाए ।

यसको जवाफमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एडहानोम गिब्रियेससले संयुक्त राष्ट्रको एजेन्सीको रकम कटौतीका लागि यो सही समय नभएको बताए ।

ऊहानको प्रयोगशालाबाट कोरोना निस्किएको कहानीः

तर अमेरिकी राजनेता र राजनीतिक विश्लेषकका एक तप्काले पनि कोरोनाभाइरसको उत्पत्तिका लागि अपुष्ट दाबीको सिलसिला जारी राखे ।

फक्स न्यूजमा प्राइम टाइम होस्ट गर्ने टकर कार्लसनले एक अनुसन्धानको कुरा गर्दै ऊहानको कुनै प्रयोगशालाबाट कोरोनाभाइरस दुर्घटनावश फैलिएको हुनसक्ने सम्भावना व्यक्त गरे ।

रिपब्लिकन पार्टीका सिनेटर टम कटन र टेड क्रुजले पनि यस्तै सम्भावना व्यक्त गरे ।

फेब्रुअरीमा ग्वांगजूस्थित साउथ चाइना युनिभर्सिटी अफ टेक्नोलोजीका दुई अनुसन्धानकर्ता बोटाओ शियाओ र ली शियाओले एक रिसर्च पेपरको सुरुवाती ड्राफ्ट जारी गरे जसको औपचारिक मूल्यांकन हुन बाँकी थियो ।

उनीहरुले आफ्नो अनुसन्धानमा ऊहानको कुनै प्रयोगशालामा यो भाइरस निस्किएको हुनसक्ने भन्दै निष्कर्ष निकालेका थिए ।

वासिङ्टन पोस्टको रिपोर्टः

पछि बोटाओ शियाओले ‘वाल स्ट्रीट जर्नल’ लाई उनीहरुले आफ्नो अनुसन्धान फिर्ता लिएको बताए ।

वाल स्ट्रीट जर्नलले शियाओलाई उद्धृत गर्दै लेख्यो, ‘कोरोना भाइरसको उत्पत्तिको सम्भावनाको विषयमा हाम्रो निष्कर्ष पत्रिका र मिडियामा छापिएको रिपोर्टको आधारमा थियो । यसको पक्षमा हामीसँग कुनै सिधा प्रमाण थिएन ।’

‘वासिङ्टन पोस्ट’ ले अप्रिलमा एउटा रिपोर्ट सार्वजनिक गर्यो जसमा अमेरिकी दूतावासका दुई साइन्स डिप्लोमेट्स थुप्रै पटक ऊहान इन्स्टिच्युट अफ वायरोलोजी गएको बताइएको थियो ।

रिपोर्टका अनुसार साइन्स डिप्लोम्याट्सले अमेरिकालाई चेतावनी दिँदै भनेका थिए, ‘प्रयोगशालामा पर्याप्य सुरक्षा प्रबन्ध छैन र त्यहाँ चमेरोको कोरोनाभाइरसमाथि खतरनाक अनुसन्धान गरिँदै छ । ’

इबोला महामारीका बेला अमेरिकाको रेस्पोन्स टीमको नेतृत्व गर्ने जेरेमी कोनिन्डिकले कोरोनाभाइरस प्रयोगशालाबाट दुर्घटनावश लिक भएको भन्ने दाबीबारे भने, ‘प्रयोगशालामा भाइरस तयार हुने कुरा विज्ञानले खारेज गर्दैन तर यस्तो हुन असम्भव छ भन्ने जानकारी पनि दिन्छ ।’

स्रोतः बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप