सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनकपुरमा पीसीआर परीक्षणमा 'नेगेटिभ' देखाएका रौतहटका दुई जनाको काठमाडौँमा परीक्षण गर्दा 'पोजेटिभ'

मङ्गलबार, १६ वैशाख २०७७, १० : ३६
मङ्गलबार, १६ वैशाख २०७७

काठमाडौँ । रौतहटमा दुई जना व्यक्तिको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा  गरिएको पीसीआर परीक्षणमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल गौरका अधिकृत महेश साहका अनुसार दुई जना पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।

लकडाउनपछि चोर बाटो हुँदै नेपाल प्रवेश गरेका दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडौँ पठाउँदा उनीहरुको नतिजा पाजेटिभ देखाएको साहले जानकारी दिए ।


अस्पतालका अनुसार देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष कोलकाताबाट लकडाउनपछि चोरबाटो हुँदै नेपाल आएका थिए । जनकपुरमा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर जान दिइएको थियो । अहिले काठमाडौँमा गरिएको पीसीआर परीक्षणमा नतिजा पोजेटिभ आएपछि उनको सम्पर्कमा आएकाहरुको खोजी सुरु गरिएको छ ।

त्यस्तै, वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुषमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनी पनि लकडाउनपछि भारतबाट चोरबाटो हुँदै नेपाल प्रवेश गरेका थिए । उनलाई भने चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।


यसअघि पनि प्रादेशिक अस्पताल जनकपुरमा पीसीआर परीक्षण गर्दा गलत नतिजा देखाएको थियो । सर्लाहीका १४ वर्षीय एक किशोरमा पीसिआर चेकजाँच गर्ने क्रममा मेसिनले गलत रिपोर्ट दिएको थियो। उक्त घटनापछि प्रादेशिक अस्पताल जनकपुरमा गरिँदै आएको स्वाब परीक्षणको कार्य स्थगित गरिएको थियो ।

योभन्दा अगाडि रौतहटमा एक जना संक्रमित फेला परेका थिए । उनी निको भएर घर फर्किसकेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप