सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपाभित्र विवाद बढ्दा दोस्रो र तेस्रो तहका नेताको खबरदारी

व्यक्तिगत स्वार्थ छोडेर विधि र प्रक्रिया अवलम्बन गर्नुपर्नेमा जोड
बुधबार, १७ वैशाख २०७७, १६ : ३८
बुधबार, १७ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बढेको शक्ति संघर्ष घट्ने संकेत अझै देखिएको छैन । गत सातायता पार्टीमा चुलिँदै गएको अन्तरसंघर्षका कारण नेता–कार्यकर्ताहरु पार्टी एकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ताबाट ग्रसित देखिएका छन् ।

सत्तारुढ दलभित्रकै किचलोका कारण संसद विघटन गरी मध्यावधि निर्वाचन गराइने, पार्टी विभाजन हुन सक्ने तथा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुईमध्ये एक पद छाड्न सक्ने भन्नेजस्ता विभिन्न अड्कलबाजी भइरहेका छन् ।

पार्टीभित्रका दोस्रो तथा तेस्रो पुस्ताका नेताहरु पार्टी एकतालाई संकटमा पार्ने काम कतैबाट हुन नहुने बताउँछन् । उनीहरु पार्टीलाई विधि, प्रक्रियाअनुसार सञ्चालन गर्नुपर्ने खाँचोसमेत औंल्याउँछन् । 
सत्तारुढ दलभित्र देखिएको राजनीतिक समस्या कसरी समाधान हुन सक्छ ? रातोपाटीको जिज्ञासामा नेकपाका दोस्रो र तेस्रो पुस्ताका नेताहरुको यस्तो छ जवाफ– 

पूर्वसहमति कार्यान्वयन गर्नुपर्छः गणेश साह, स्थायी कमिटी सदस्य


नेपालको राजनीतिक इतिहासमा कुनै पनि पार्टी सत्तामा पुगेपछि सरकार र पार्टीबीच एक प्रकारको द्वन्द्व देखा पर्दै आएको छ । पार्टी ठूलो कि सरकार ठूलो भन्ने विषयमा कांग्रेस होस्, तत्कालीन एमाले होस्, जुनसुकै पार्टी सत्तामा पुगेपछि यस्तो द्वन्द्व हुने गरेको छ ।

तर अहिले परिस्थिति अलि बेग्लै छ । विश्वनै कोभिड–१९ को संक्रमणसँग जुधिरहेको छ । नेपालमा पनि संक्रमण फैलिँदै गएको अवस्था छ । यस्तो बेलामा एकजुट भएर संकटको सामना गर्नुपर्ने भए पनि सरकार र पार्टीबीच विवाद देखिनु स्वाभाविक होइन । दाजुभाइबीच झगडा हुनु स्वाभाविक हो तर घरमा पाहुना आएको बेला झगडा गर्नुचाहिँ ठिक होइन । त्यसैले कोभिड–१९ संक्रमणले मुलुकलाई प्रभावित बनाइरहेको समयमा सत्तारुढ दलभित्र आन्तरिक विवाद चुलिनुलाई कसैले राम्रो र स्वाभाविक मान्न सक्दैन ।

यस्तो समस्याको निकास के हो भनेर चर्चा गर्नुअघि विगतमा भएका समझदारी र सहमतितिर फर्केर हेर्नुपर्ने हुन्छ । पार्टी एकता अघि नै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अढाई–अढाई वर्ष पार्टी र सरकारको नेतृत्व पालैपालो गर्ने एउटा महत्त्वपूर्ण समझदारी भएको थियो । पछि त्यो समझदारीलाई परिमार्जन गर्दै ओलीजीले पाँच वर्ष सरकारको नेतृत्व गर्ने र प्रचण्डजीले पाँच वर्षसम्म पार्टीको नेतृत्व गर्ने तर दुवैले आपसमा सरसल्लाह गरेर निर्णयमा पुग्ने भनियो ।

कतिपय साथीहरुले ती सहमति पालना भएन भनेर आवाज उठाइरहनु भएको छ । पार्टीका निकायहरुको नियमित बैठक नहुँदा यस्ता आवाज मिडियामार्फत सार्वजनिक हुने गरेका छन् । मिडियामा कुरा आइसकेपछि ती विषय सार्वजनिक चर्चा र चासोका हुन्छन् । त्यसैले पार्टीभित्रका कुरा पार्टीभित्रै सुल्झाउनका लागि पहिला त हामीले नियमित रुपमा पार्टी निकायका बैठक बोलाउनु पर्छ । बैठकले गरेका निर्णयलाई सवै पक्षले इमानदारीपूर्वक पालना गर्नुपर्छ ।

जसरी हामी स्वस्थ रहनका लागि नित्य कर्म गर्छौं, पार्टी स्वस्थ रहनका लागि नियमित बैठक पनि नित्यकर्मजस्तै हो । पार्टीलाई विधान र पद्धतिअनुसार सञ्चालन गर्नुपर्छ । निर्णयहरु कार्यान्वयन गर्दै जानुपर्छ । निर्णय, सहमति गर्ने अनि कार्यान्वयन नगर्ने हो भने यस्ता अन्तरविरोधहरु, असन्तुष्टिहरु अझ बढ्दै जान्छ । त्यो अवस्थामा नेतृत्व, पार्टी र देशलाई पनि फाइदा हुँदैन ।

उन्माद देखाउने होइन, विधिसम्मत चल्नुपर्छ : रामकुमारी झाँक्री, केन्द्रीय समिति सदस्य


प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारको शक्ति आफूमा केन्द्रिकरण गरेर एकप्रकारको उन्माद प्रदर्शन गर्नुभएको छ । समस्याको जड यहीँ छ । जहाँ समस्या हुन्छ, समाधान पनि त्यहीँ हुन्छ । 

अहिले सत्ताको घाँटीमा पासो कसिन लाग्या अवस्था छ । सत्ता जति चल्मलाउँछ, त्यो पासो उति सुर्किदै जान्छ । आफूमा केन्द्रिकरण गरेर थुपारेको शक्ति विधि, पद्धतिअनुसार सबैमा बाँड्ने हो भने समस्या रहँदैन ।

सरकारले एकाएक अध्यादेश ल्यायो, पार्टीलाई छनकसम्म भएन । यतिका अनियमितता र भ्रष्टाचारका काण्ड छन्, जसमा जनताले प्रश्न गरिरहेका छन् । प्रश्न त पार्टीतिर पनि हो नि ? भोलि फेरि जनतासम्म जाने भनेको पार्टी नै हो । पार्टीमा बसेर सल्लाह, सुझाव लिएर काम गर्नु कता हो कता, सत्ता नजिक रहेकाहरु सामाजिक सञ्जालदेखि लिएर विभिन्न माध्यमबाट पार्टी एकताविरोधी हरकत गरिरहेका देखिए । जसका कारण समस्या झन् बढ्यो ।

दल विभाजनका लागि सांसदहरुको टाउको गन्ने, मध्यावधि निर्वाचन घोषणा गर्ने जस्ता कुराहरु पनि सुनिन थालेको छ । यदि त्यस दिशामा कोही अघि बढ्न चाहेको छ भने म खबरदार गर्छु । पार्टी एकताविरोधी गतिविधिलाई कसैले साथ दिन्छ भन्ने भ्रममा कोही नपरोस्, त्यस्तो गतिविधि सफल हुनेवाला पनि छैन । पार्टी एकता पहिलो शर्त हो । पार्टी एकतामा कसैको स्वार्थका खातिर चिसो पानी छर्किने काम स्वीकार्य हुन सक्दैन ।

निकास खोज्ने नै हो भने स्थायी कमिटी बैठक बसेर छलफल गर्नुपर्छ । त्यसको निर्णय केन्द्रीय कमिटीमा पठाउनु पर्छ । केन्द्रीय कमिटीले आवश्यक निर्णय गर्छ र त्यही अनुसार अघि बढ्नु पर्छ । विधि र प्रक्रियामा बसेर राजनीति गर्ने हो भने समस्या नै रहँदैन । केही अयोग्य मान्छेलाई वरिपरि राखेर सबै शक्ति आफूमा केन्द्रित गर्छु भन्ने सोच गलत हो, अहिलेको युगमा त्यस्तो सोचले पार्टी र देशको भलो गर्न सक्दैन ।

प्रधानमन्त्रीको राजीनामाबाहेक सबै मान्नुपर्छः कर्णबहादुर थापा, केन्द्रीय सदस्य नेकपा


हाम्रा नेताहरुमा सबलता पनि छन्, कमजोरी पनि छन् । त्यसकारण अबको निकास भनेको सबैले सबैका कमजोरीहरु सच्चाउने पहिलो विकल्प हो । कम्युनिस्ट आन्दोलनलाई केन्द्रबिन्दुमा राख्ने । देश र जनताले दिएको जुन अभिभारा र अभिमत छ, त्यसलाई आत्मसाथ गर्ने । त्यसो गर्दा अहिले उम्लिएको पारो शान्त हुन्छ । यो गर्न कठिन पनि छैन ।

यसले मैले भनेको मानेन, यसो गरेन, उसो गरेन, मैले भनेको मान्छे राखेन भन्नेजस्ता सानातिना कुरा नै प्रमुख रुपमा आएका छन् । त्यसपछि सत्ताको कुरा आउँछ । कोको अहिले मन्त्री भएका छन् ? तिनीहरुलाई फ्याँकेर अरु मान्छे मन्त्री बनाइदिने, प्रधानमन्त्रीको सचिवालय राम्रो भएन भनिएको छ, ती पनि हटाइदिने । त्यसपछि को राख्नुपर्ने हो, राखिदिने । त्यसपछि यो पार्टी एकता गराउने मुख्य दुई नेता केपी ओली र प्रचण्ड मिल्ने । जहिले पनि यस्तो किसिमको समस्यामा के हुन्छ भने प्रमुख नेता मिलाउनुपर्ने हुन्छ । अरुले‘हामी केही होइनौं?’ भन्लान् । हौं सबै, तपाई पनि हो, म पनि हो तर मुख्यरुपमा हरेक दलमा मुख्य नेता हुन्छन् ।

हाम्रो पार्टीका मुख्य नेता केपी ओली र प्रचण्ड हुन् । तर ओली र प्रचण्डलाई फुटाइदिए । यसमा प्रचण्डको गल्ती छैन । यसमा एकदुई जना नेता छन् । उनीहरुको नाम नलिउँ । उनीहरुको महत्वाकांक्षाको शिकार नेपालको कम्युनिस्ट आन्दोलन हुँदैछ । पार्टीभित्रका केही महत्वाकांक्षी मानिसहरुको इच्छा पुरा गर्नका लागि कम्युनिस्ट आन्दोलनलाई नै तिलान्जली दिने काम भइरहेको छ । यो कुनै हालतमा जायज छैन । यसमा प्रधानमन्त्री र अध्यक्ष दुवै पद छोड्नुपर्छ भनिएको छ । यो तर्क कुनै हिसावले पुष्टि हुँदैन । यो प्रस्ताव त दुर्घटना र पार्टी विभाजनको प्रस्ताव हो । त्यसैले प्रचण्डका केके कुरा मान्नुुपर्ने हो, केपी ओलीले मान्नुपर्छ । केपीका के के कुरा हो, प्रचण्डले मान्नुपर्छ । 

त्यसकारण प्रधानमन्त्री र अध्यक्षबाट हटाउने भन्ने सम्भव छैन,अरु सबै चिज गर्ने । दुई नेताले सल्लाह गर्ने, सहमतिअनुसार निर्णयहरु गर्दै कार्यान्वयनमा जाने ग¥यो भने पार्टी एकता बलियो हुँदै जान्छ । 

व्यक्ति हावी हुनु भएन : प्रमेश हमाल, केन्द्रीय सदस्य 
नेपाल कम्युनिस्ट पार्टीको जुन सांगठानिक पद्धतिको कल्पना गरिएको हो, त्यो अनुसार नेताहरु नहिँडेकाले यो समस्या आएको हो । पार्टीको विधि, विधानलाई अनुसरण नगर्ने, सांगठनिक पाटोलाई वास्ता नगर्ने नेताहरुको तरिकामा बदल्न जरुरी छ ।

समग्रमा पार्टीलाई विधि विधान र परिकल्पना गरिएका विचारहरुबाट अगाडि बढाउने संकल्प गर्न जरुरी छ । विवाद समाधानका लागि सचिवालय बैठकले समस्याको वर्कआउट गर्नुप¥यो, त्यसपछि स्थायी कमिटीमा लगेर छिनोफानो गर्नुपर्छ । आचारसंहिता सबैले पालना नगरी व्यक्तिगत स्वार्थ र गुट स्वार्थमा आकर्षित भयौं । रोग नै यही हो । पार्टी पद्धतिलाई फलो गर्दै विधिअनुसार चलाउने अठोट गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छन् । कम्युनिस्ट पार्टीको संगठन चल्ने भनकै विधि र विधानबाट चल्ने हो । व्यक्ति हावी भएर पार्टी कमिटीलाई कमजोर बनाउने काम भइरहेको छ, त्यसको अन्त्य गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप