बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मुहान बिर्सिने गल्ती नेतृत्वले नगरोस्

बुधबार, १७ वैशाख २०७७, १६ : ४६
बुधबार, १७ वैशाख २०७७

एकताको दुई वर्ष नपुग्दै यतिबेला नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ । पछिल्ला दिनहरुमा यसको मात्रा झन् बढ्दो छ । सिङ्गो विश्व कोरोना कहर झेलिरहेको बेला नेपाल भने कोरोना सङ्कटसँगै राजनीतिक सङ्कट पनि सामना गरिरहेको छ । कोरोनाले मानव जातिलाई कस्तो सङ्कटमा धकेल्ला ? त्यसले नेपाललाई कुन हदसम्म प्रभाव पार्ला ? यकिन छैन । कोरोना सङ्कटपछिका अप्ठ्याराहरु कसरी समाधन गर्ने भनी बहस चलाउनुपर्ने समयमा विडम्बना नै मान्नुपर्छ नेपालको ऊर्जा अन्तै खर्च भइरहेको छ ।

द्रुत गतिमा विकसित पछिल्ला घटनाक्रमले भन्दैछन्, गत निर्वाचनमा स्थिरता, सुशासन र समृद्धिको आशामा नेकपालाई रोजेका जनताको मनमा गहिरो चिन्ता परेको छ । अब के हुने हो ? देश फेरि अस्थिरतातर्फ जान लागेको हो र ? के नेकपा पूर्णरूपले नजुट्दै फुट्न खोजेको हो र ? के नेकपा एकताको औचित्य सकिएको हो र ? जस्ता अनेकौँ आशङ्का जनजनमा पलाएका छन् । यो अवस्था आउनु सुःखद् होइन ।   
दुई पार्टी (एमाले र मओवादी केन्द्र) ले चुनावी तालमेल गर्ने विन्दुबाट सुरु भएको यात्रालाई निर्वाचनले जनअनुमोदन गरेपछि पार्टी एकीकरणको तहमा पुगेको थियो । परिणामतः विभिन्न भँगालाहरुमा विभक्त नेपालको कम्युनिस्ट आन्दोलन वर्षौंपछि एकीकृत भयो । एउटै भूमिमा एकै समयमा शान्तिपूर्ण र सशस्त्र दुई भिन्न धारले हाँसिल गरेका विशिष्ट अनुभवलाई एउटै मालामा उन्ने युगीन महत्त्वको काम नेतृत्वले सुझबुझपूर्ण तवरले सम्पन्न ग¥यो । टुङ्गिन बाँकी रहेका विषयलाई महाधिवेशनले छिनोफानो गर्ने समझदारी बनेकै छ । दुनियाँलाई झस्काउने यो दुरगामी महत्त्वको एकता विरुद्ध भइरहेका षड्यन्त्रलाई समयमै पहिचान गर्नु नेकपा पङ्क्तिको तत्कालीन कार्यभार बनेको छ ।
 
नेकपाभित्र विग्रह ल्याउन बजार तताउनेहरु अनेकथरिका छन् । पार्टी बाहिरका असङ्ख्य तत्त्वहरु कहाँ चर पाइन्छ, के उछल्दा असमझदारी बढ्छ भनेर केस्रा केस्रा केलाइरहेका छन् । पार्टीभित्रै पनि एकता अघिको धार (एमाले र एमाओवादी) मा रङ्गिएर एकताविरुद्ध बाँण सोझ्याउनेको कमी छैन । नेतृत्वको नाम जपेर एक आपसमै बझाउने, लडाउने, सिध्याउने र अन्ततः सबै सिद्धिने यदुवंशी प्रवृत्ति हाबी भएको छ । दीर्घकालमा यस्ता कर्मले कस्तो असर पार्ला भनी रत्तिभर ख्याल नगर्ने अदुरदर्शिता झाँगिएको छ । यी सबैथरिसँग जोगिन सुझबुझसहितको उच्च सतर्कता आजको आवश्यकता बनेको छ ।

बामपन्थी पार्टीहरु एक भएको लामो समयसम्म पूर्व समूह (माले, एमाले, मार्क्सवादी, चौम, मसाल, एकता केन्द्र, माओवादी केन्द्र) का मनोविज्ञानहरु ज्युँका त्युँ रहने गरेका छन् । यस्तो प्रकारको चिन्तनले बहिङ्गम एकतालाई सङ्कुचित बनाउँछ नै । सबैले पूर्वसमूह चलाउँदै जाने हो भने नेतै पिच्छेका समूह थपिँदै जाने र अन्ततः नेपाल कम्युनिस्ट पार्टी सङ्कटको डिलमा पुग्न धेरै कुनै पर्दैन । नेकपालाई नयाँ शिराबाट अगाडि बढाउन यस्तो नश्लिय समस्याबाट पार्टीलाई यथाशिघ्र बाहिर निकाल्नै पर्छ । सेती गण्डकी र काली गण्डकी मिसिएर नारायणी बनेपछि पुनः सेती गण्डकी वा कालीगण्डकीकै साँध सिमाना खोज्दै गएर नेकपा कदापी बलियो बन्दैन । देश, जनता र पार्टीको सुनौले भविश्यका खातिर यस्ता गलत अभ्यासमाथि अब पूर्णविराम लगाउनु पर्दछ ।

एकताको दुई वर्षसम्म एकताले पूर्णता नपाउनु, आठ लाख सदस्यहरु जिम्मेवारविहीन बन्नु, राजनीतिक, साङ्गठनिक, वैचारिक काम योजनाबद्ध तरिकाले हुन नसक्नु तथा पार्टीलाइ विधिमा हिँडाउन अनेक उल्झनहरु देखिनु समस्याका मूल जड हुन् । कमरेड्ली व्यवाहार शब्दकोशबाट हराएझै गरी पार्टी काम भनेकै एकले अर्कोलाई ताछ्ने र सार्वजनिक रूपमा उछितो काढ्ने जस्तो देखिनु नेकपाको दीर्घजीवनका लागि ज्यादै हानिकारक तरिका हुन् । एक अध्यक्षले अर्को अध्यक्षबाट असुरक्षित महसुस गर्नु, पार्टीले सरकार दोषी देख्नु र सरकारले पार्टीमा समस्या ठान्नु नेकपाका मुख्य चुनौती हुन् । यसका लागि वस्तुनिष्ठ समीक्षा जरुरी छ । देखिएका कमजोरीबाट गम्भीर शिक्षा लिँदै पुराना गल्ती नदोहो¥याउने प्रणसहित समीक्षापछि बलियो एकता नै आजको एक मात्र समाधान हो ।
  
इतिहास साछी छ, बहुमतको सदुपयोग नहुँदा देश र जनताले असङ्ख्य सास्ती पाए । २०१५, ०४८ र त्यसपछिका केही घटनाक्रमले यस्तै शिक्षा दिन्छ । ती कालखडमा एउटै पार्टीभित्र पात्र फेरेर दिएका क्षणिक समाधान दीर्घकालमा प्रत्युत्पादक देखिएका छन् । एक समय संसदमा काँग्रेसको बहुमत हुँदाहुँदै कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकार गिराएर सोही पार्टीका अर्का नेता गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार बन्यो । यो खेलोले न काँग्रेस जोगियो न त देश नै उँभो लाग्यो । यो रोग काँग्रेस हुँदै अरू पार्टीमा पनि स¥यो । आफ्नै बहुमत नभए पनि साझेदार पार्टीहरुको सहयोगमा तत्कालीन एमाले नेता माधवकुमार नेपाल नेतृत्वको सरकार विस्थापित गरेर एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकार बन्यो । यसरी उही पार्टीको एउटा नेतालाई हटाएर अर्को नेताको नेतृत्वमा सरकार बनाउँदा थप एक थान सरकार, केही नयाँ मन्त्री र अस्थिरताबाहेक देशले नयाँ उपलब्धि केही पाएन । यो अतितबाट कस्तो शिक्षा लिने ? आज नेकपाको सामु यो गम्भीर प्रश्न खडा भएको छ ।

हाम्रो सन्दर्भमा स्थिर सरकार, स्थिरता, सुशासन र समृद्धि भाषणमा धेरै सुनिने तर खोज्दा नभेटिने अतितको यथार्थता हो । गत निर्वाचनमा जनताले पाँच वर्षको स्पष्ट म्यान्डेटसहित नेकपालाई सत्ता सञ्चालनको जिम्मेवारी सुम्पेका हुन् । मिश्रित चुनाव प्रणाली अपनाउँदा पनि केन्द्र र ६ प्रदेशमा भारी बहुमतसहित नेकपाका सरकार बन्नु आम जनताको स्थिर सरकारप्रतिको दृढ चाहना नै थियो । जनताको यो फैसलालाई सबैले आत्मसात गर्नै पर्छ । राम्रो गर्दा जस र नराम्रो हुँदा अपजस दुवै कुराको भागिदार पार्टी र सरकारको काँधमा स्वतः आउँछ । यसर्थ स्थिरतामाथि धावा बोल्ने तथा जनादेश र मतादेशलाई अवमूल्यन गर्ने छुट आज कसैलाई छैन ।  

विश्वभरी कम्युनिस्ट पङ्क्तिले धक्का खाइरहेको बेला नेपालमा भने हँसिया र हथौडाको झण्डा बोकेर लोकतान्त्रिक विधिबाट कम्युनिस्ट पार्टी दुई तिहाइको नजिक पुग्नु अनायास जुरेको संयोग थिएन । भारतीय नाकाबन्दी विरुद्ध ओली सरकारले लिएको दृढ अडान, विगतमा थालेका कैयौँ आशावादी काम र नेतृत्वप्रति जनताको पूर्ण भरोसाले यो परिणाम दिलाएको हो । यसलाई, कम्युनिस्टहरुले अवसर पाए गर्छन् भनी प्रमाणित गर्ने दुर्लभ मौकाको रूपमा नेकपाले बुझ्नै पर्छ । यो अवसर गुमाउँदा फेरि यस्तै अवस्था नआउने निश्चित छ । यसकारण आफ्नै कलहमा रमाउने, अरूलाई देखाउने, दम्भ प्रकट गर्ने र असफल हुने कुनै सुविधा नेकपासँग छैन । जनताले राखेको भरोसा र विश्वासलाई परिणाममा बदल्ने दायित्वबाट पार्टी र सरकार कोही पनि उम्कन पाउँदैन ।

मार्क्स, एङ्गेल्स र लेनिनले विकास गरेको विचारको जग कमजोर छैन । मार्क्सवादलाई नेपाली धर्तीमा सिर्जनात्मक प्रयोग गर्ने कर्मशील पुष्पलाल, मदन र मनमोहनहरु पार्टीभित्र हजारौँ छन् । यसो भनिरहँदा नेकपाले के गर्ने र के नगर्ने ? भेद छुट्टयाउन जरुरी छ । ‘गुटबन्दी’लाई अपराध घोषित गर्ने पुष्पलालको मार्गदर्शन पार्टीले किमार्थ लत्याउनु हुन्न । मदनले भनेझैँ विभिन्न क्षमताहरुको पहिचान गरी उचित जिम्मेवारी बाँडफाँट गर्न पार्टी चुक्नु हुन्न । लेनिनले विकास गरेको सङ्गठनात्मक पद्धतिलाई आफूअनुकुल चलाउने अस्त्र कसैले बनाउनु हुन्न । जनताबाट सिक भन्ने माओको शिक्षालाई कहिल्यै नकार्न हुन्न । जनताको रक्षा कवजबाट टाढिएर स्वार्थी समूहको एम्बुसमा पर्ने गम्भीर भूल नेकपा र यसको नेतृत्वले गर्नै हुँदैन । यति गर्दा पार्टीभित्र नसुल्झने विषय के नै छ र ?
  
एकै छिन सोचौँ त, के नेकपा अहिले चलिरहेको कुस्ती धन्न सक्ने गरी बलियो भइसकेको छ र ? कोरोनाले त्रसित जनताले यस्ता दृश्य देख्दा कस्तो धारणा बनाएका होलन् ? कोरोना विरुद्ध अग्रमोर्चामा जुधिरहेका स्वास्थ्यकर्मीहरुलाई आजभोलिका खबरले कस्तो खिन्न बनाएको होला ? विदेशी भूमिमा बसेर नेपाल सरकारतिर आँखा सोझ्याइरहेका लाखौँ नेपालीहरुको मनमा कति पीडा थपिएको होला ? स्थिरता, सुशान र समृद्धिका सपना देखेर नेकपालाई मतदान गर्ने जनताको मन कति छियाछिया भएको होला ? प्रश्न एक होइन अनेक छन् । यिनको उत्तर खोज्न तपाईंहरुको धैर्यता, संयमता र दूरदर्शिताको जरुरत छ । अरूलाई सम्हाल्नुपर्ने तथा देशलाई निकास दिनुपर्ने नेतृत्वले आफैलाई चिन्न सकेन भने इतिहासले कसैलाई माफी दिने छैन । यसर्थ, वर्तमान समयले तपाईंहरु सबैको अग्नि परीक्षा लिएको छ ।  

विगतमा लोकप्रिय सरकार चलाएको अनुभव अन्त खोज्न जानै पर्दैन, पार्टीसँगै छ । व्यवस्थित र लोभलाग्दो तरिकाले सिङ्गो पार्टी चलाएको अनुभव पनि नेकपासँगै छ । मूलतः आज देखिएका समस्याको समाधान पार्टीले विगतमा स्थापित गरेको नीति र विधि भित्रै छ । हिजोका राम्रा नजिरहरुलाई व्युँताउँदा अधिकांश समस्याको समाधान स्वतः पहिलिन्छ । नेतृत्व पङ्क्तिले घुँडा धसेर छलफल गर्दा समाधान पहिलिन नसक्ने तहमा विषय पुगेको छैन । यसर्थ, समस्यालाई थप जटिल बन्न नदिन सबैले समूहिक पहलकदमी लिनुहोस् ।

समाजवाद स्थापनाको लक्ष्य निर्धारण गरेर उडान भरेको जेटले आकस्मिक ट्रान्जिट खडा गरेर पाइलट फेर्न थाल्दा यात्रा जोखिममा पर्छ । गन्तव्य धर्मराउँछ । विगतका सहमतिलाई अझ बलियो बनाउने र नयाँ सहमति गर्नैपर्दा पनि सर्वसम्मतले गर्नेबाहेक अर्को बाटो नेकपासँग छैन । चुला छुट्टयाउने वा फेरि एक्ला एक्लै हिँड्ने कुरा सबैका लागि घातक छ । यसर्थ अहिलेको चरणमा तपाईंहरु सबै मिलेर देश र पार्टी दुवैलाई उपयुक्त निकास दिनुस् । सबैले जित्ने समाधान खोज्नुहोस् । जनतामा व्याप्त भयलाई दूर गर्नुुहोस् । पार्टी ध्वस्त पार्न खोज्ने शत्रुपक्षका तमाम षडयन्त्रहरुलाई मतोड जबाफ दिनुहोस् । अनि अर्को चरणमा पहिलो पुस्ताका सबै मिलेरै नयाँ पुस्ताको काँधमा पार्टी सुम्पिने बोल्ड निर्णयका लागि तयारी थाल्नुहोस् । यी दुवै चरणमा निर्णायक भने तपाइँहरु नै हो ।   

कथन नै छ, नदी जतिसुकै लामो र गहिरो भए पनि मुहान सुकेको दिन सुक्नुपर्छ, पहाड जतिसुकै अग्लो भए पनि आधार छोडेको दिन भासिनु पर्छ । जनताको मत र आदेश नै नेकपा र वर्तमान सरकार निर्माणको मुहान र आधार हो । कृपया, मुहान र आधार विर्सने गल्ती नेकपा नेतृत्वले नगरोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रश्मि आचार्य
रश्मि आचार्य
लेखकबाट थप