सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकपा बैठक निष्कर्षबिहीन, दुबै पक्षको आ–आफ्नो अडान कायमै

बुधबार, १७ वैशाख २०७७, २१ : ०९
बुधबार, १७ वैशाख २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डसहित माधव नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो । 

बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए । 

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ । 


बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए । 

आजको बैठकमा ठोस सहमति नजुटेपछि थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए । 

२० गतेको बैठकले सबै विषयमा मेलखाने, पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउने र जनताले दिएको जनादेशअनुसार सामाजिक आर्थिक प्रक्रियालाई अघि बढाउने सन्दर्भमा उपयुक्त निर्णय दिने उनले विश्वास व्यक्त गरे ।  
नेकपामा प्रधानमन्त्री ओलीले विवादास्पद दुई अध्यादेश ल्याएपछि विवाद चर्किएको छ । 

विवाद बढ्दै जाँदा नेताहरुबीच ओलीलाई हटाउन हस्ताक्षर अभियान समेत चल्न थालेको छ भने ओली पनि संसदीय दलमा आफ्नो बहुमत देखाउन छुट्टै हस्ताक्षर अभियानमा जुटेका छन् । 
 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप