सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गुजुल्टियो नेकपा विवाद : असन्तुष्ट ‘२० भाइ’ र बामदेवको रणनीति अब कस्तो बन्ला ?

बिहीबार, २५ वैशाख २०७७, १६ : ५७
बिहीबार, २५ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरूबीच स्थायी समिति बैठक बोलाउनेबारे सहमति जुट्न नसक्दा आन्तरिक विवाद गुजुल्टिदै थप लम्बिने भएको छ । 

यतिमात्रै होइन, गुटबन्दीका कारण पार्टी कमजोर बनेको विश्लेषण भइरहँदा पार्टी बैठकमै उपाध्यक्ष वामदेव गौतमले गुट चलाउने घोषणा गरेपछि नेताहरुमा देखिएको गुटमोह छरपस्ट भएको छ भने नेकपाभित्रको विवाद थप गुजुल्टिएको छ । 

२० जना स्थायी समिति सदस्यले लिखित माग गरेपछि अघिल्लै सचिवालय बैठकले वैशाख २५ गते बस्नेगरी स्थायी समिति बैठक तय गरेको थियो । स्थायी समिति बैठकका एजेण्डा तय गर्न २४ गते बसेको सचिवालय बैठकमा नेताहरु एकमत हुन नसक्दा पुर्वनिर्धारित बैठक अनिश्चित बनेको हो ।

 स्थायी समिति बैठक अनिश्चित भएसँगै नेताहरु गुटगत रुपमा आन्तरिक छलफल र भावी रणनीति बनाउन जुटेका छन् ।

शुक्रबारबाट संसद समेत सुरु हुने भएकाले आगामी जेठ १५ अघि अब नेकपाको स्थायी समिति बैठक बस्ने सम्भावना कम हुँदै गएको छ । स्थायी समितिमा अल्पमतमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले यो बीचमा सचिवालय सदस्यहरुलाई जसरी नै स्थायी समिति सदस्यलाई पनि आफ्नो समूहमा ल्याउन पहल गर्ने सम्भावना रहेको नेकपा नेताहरुबीच चर्चा हुन थालेको छ ।  

बुधबार स्थायी समिति बैठकको एजेन्डा तय गर्न डाकिएको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले यतिबेला नीति तथा कार्यक्रम र बजेटको तयारीमा लाग्नुपरेको भन्दै बैठक नै छाडेर हिँडेपछि थप अन्योल सिर्जना भएको हो ।

के गर्छन् नेकपाका २० भाइ ? 
राष्ट्रिय महत्वका अत्यन्त संवेदनशील विषयमा पार्टीको विधान बमोजिम स्थायी समितिका २० जना सदस्यले बैठकको माग गरिसकेपछि त्यसअनुसार बैठक आयोजना हुनुपर्ने थियो ।

 त्यसका लागि बैठकको मिति समेत तोकिएको थियो । तर बैठक बस्नुपर्ने अघिल्लो दिन अचानक बैठक स्थगित भयो । पार्टीलाई बलियो बनाउनका लागि विधि, पद्धतिअनुसार चलाएर विधानका व्यवस्थाहरु र पार्टीको आम कार्यदिशासहितका सैद्धान्तिक मान्यताहरुको दृढतापूर्वक पालना हुन अनिवार्य छ । 

तर वैशाख २५ गतेकाका लागि बोलाइएको बैठक स्थगित भएपछि बैठकको माग गर्ने नेकपाका २० भाइले अब के गर्लान् ? बैठकको माग गर्नेमध्येका एक रहेका स्थायी कमिटी सदस्य भीम रावलले बैठक स्थगित गर्नु भनेको किनारा लगाउन खोज्नुजस्तै भएको भन्दै आपत्ति प्रकट गरे । 

‘यो अत्यन्त आपत्तिजनक छ । नेकपाको विधानको प्रावधान प्रतिकुल छ । यस्तो व्यवहारले पार्टीको विधान मिचिन्छ’, रावलले रातोपाटीसँग भने, ‘पार्टीको मन्यता मिचिन्छ र अन्ततः यसले पार्टीलाई कमजोर बनाएर प्रभावकारी रुपमा काम गर्न नसक्ने अवस्थामा पुर्याउँछ ।’

त्यस्तै उनले प्रधानमन्त्री र पार्टी अध्यक्षले आफैले निर्माण गरेको विधान, केन्द्रीय कमिटीको निर्देशन अनुसार पार्टी विधि, विधान र पद्धति अनुसार चल्ने भनेर उनीहरु आफैले गरेको प्रतिवद्धता र निर्णयको स्मरण र सम्मान गर्नुपर्ने बताए । 


‘त्यसो नगरी पार्टी विधानका प्रावधान मिच्दै जाने हो भने नेकपाको सिंगो पार्टीपंक्तिले गम्भिर रुपमा सोच्नु र समीक्षा गर्नुपर्ने हुन्छ’, रावलको भनाइ छ ।  

पार्टीका निर्णय र विधान नमान्ने हो भने पार्टी प्रणाली नै निष्क्रिय बन्ने खतरा बढेको भन्दै उनले सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीका सदस्यहरुले समेत अब के गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने बेला भएको बताए । रावलका अनुसार पछिल्लो परिस्थितिबारे गहन र जिम्मेवारीपूर्वक छलफल गरेर निष्कर्षमा पुग्ने तयारी भइरहेको छ । 

अर्का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल बैठकबाट भागेर समस्या समाधान नहुने बताउँछन् । ‘बैठकबाट भागेर समस्या समाधान हुँदैन । समस्याको समाधान त बैठकबाटै निस्कने हो’, पौडेलको भनाइ छ । 
स्थायी कमिटी सदस्य जनार्दन शर्माले त नेकपाको सचिवालयमा स्वार्थहरुको गठजोड भएकाले सचिवालय नै विघटन हुनुपर्ने बताए । शर्माका अनुसार सचिवालय विघटन गरेर सबै अधिकार स्थायी कमिटीमा ल्याउन पहल थालिनेछ ।

‘यो सचिवालयले अब निर्णय गर्न सक्दैन, यो असक्षम भइसक्यो । अब सबै निर्णय स्थायी समितिबाट हुनुपर्छ । अब सचिवालय विघटन हुनुपर्छ,’ शर्माले भने, ‘सचिवालयमा प्रहसन भए । अब यो प्रहसन बन्द गर्नुपर्छ । अब स्थायी समितिबाटै सबै निर्णय गर्ने गरियो भने समस्या समाधान हुन्छ’, नेता शर्माको भनाइ छ ।

गौतमको चेतावनी


नेकपाका उपाध्यक्षसमेत रहेका वामदेव गौतमले बुधबारको सचिवालय बैठकमा आफू पनि गुट चलाउने घोषणा गरे । नेताहरुले गुट चलाएको भन्दै आक्रोशित बनेका गौतमले आफू पनि अब छुट्टै गुट बनाउनतर्फ लाग्ने बताएका थिए ।

पछिल्लो समय कहिले प्रचण्ड गुट त कहिले ओली गुटमा मिसिदै आएका गौतम पार्टीको संगठन विभाग प्रमुखसमेत हुन् । तत्कालीन एमालेको नवौ महाधिवेशनबाट ओली समूहमा लागेका गौतम र उनीपक्षका धेरै नेताहरु पनि ओली समूहमै छन् । 


रघुवीर महासेठदेखि किरण गुरुङसमेत हाल गौतमबाट टाढिएका छन् । अर्का नेता बलराम बास्कोटा पछिल्लो समय नेता माधवकुमार नेपाल समूहमा जान खुट्ट उचालेर बसेका छन् ।
 पूर्व एमालेका एक नेताका अनुसार गौतमको स्वभाव हिजोदेखि नै गुटमा रमाउने खालको हो । गत निर्वाचनमा मात्रै उनले आफ्नो गुटबाट झण्डै १० जना सांसदलाई उम्मेदवार बनाएका थिए । गुटमा गौतम कति रमाउने नेता हुन् भन्ने कुरा पछिल्लो निर्वाचनका बेलाको एक घट्ना हेरे पर्याप्त हुन्छ ।

२०७४ को संसदीय निर्वाचनमा टिकट बाँड्ने क्रममा उदयपुरका नेता जगन्नाथ खतिवडालाई केपी ओलीले टिकट नदिने अवस्था आएपछि पूर्वका झण्डै एक दर्जन नेताहरुको टोली बामदेव गौतमलाई भेट्न पुगेको थियो । 
उक्त टोलीको कुरा सुनेपछि गौतमले भनेका थिए, ‘जगन्नाथ खतिवडालाई टिकट दिँदा मेरो गुटको मान्छे काटिन्छ । त्यसैले बरु जगन्नाथजी माधव नेपाल गुटको हुनुहुन्छ, उतैबाट तपाईहरु प्रयास गर्नुुस्, म सिफारिस गर्दिनँ’ भन्ने जवाफ दिएका थिए । गौतमले यसो भनेपछि डेलिगेसन गएको टोलीले उनलाइ ‘तपाई राष्ट्रको नेता कि गुटको ?’ भन्दै थर्काएका थिए । ‘गत निर्वाचनका बेलाको यो घटनाबाटै गुट बनाउन र असल मानिसलाई पाखा लगाउन गौतम कसरी लागेका थिए भन्ने पुष्टि हुन्छ,’ नेकपाका एक केन्द्रीय सदस्यको भनाइ छ । 

के भएको थियो सचिवालयमा ?
बुधबारको बैठकमा अध्यक्ष ओलीले सुरुमै संसद् अधिवेशन बोलाइसकेकाले सरकारको ध्यान बढिमात्रामा नीति तथा कार्यक्रम र बजेट तयारीमा हुनुपर्ने भन्दै स्थायी समिति बैठक विषयवस्तु र समय दुवै हिसाबले कम आवश्यक भएको बताएका थिए । त्यसपछि वरिष्ठ माधव कुमार नेपालले वैशाख २० मा बसेको सचिवालय बैठकले पार्टीलाई विधि र प्रक्रियाअनुसार सञ्चालन गर्दै एकताबद्ध बनाउने निर्णय गरिसकेको अवस्थामा बैठक स्थगित गर्न नहुने धारणा राखेका थिए ।

तर प्रधानमन्त्री ओलीले आफुविरुद्ध मोर्चाबन्दी गरेको, एक्ल्याउन खोजेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड र नेता नेपालप्रति असन्तुष्टि पोखेका थिए । नेताहरुबीचको यस्तो छेडखानपछि ओली आराम र अरु काम पनि भएको भन्दै बैठक छाडेर हिडेका थिए । कुनै निर्णय नगरी बैठक सकिएपछि अध्यक्षद्वय ओली र प्रचण्डबीच केही दिनभित्रै स्थायी समिति बैठकका लागि मिति तय गर्ने आन्तरिक समझदारी भएको थियो ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप