सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

खाद्य कम्पनी चार जिल्लाबाट गहुँ खरीद गर्दै

शनिबार, २७ वैशाख २०७७, १० : ११
शनिबार, २७ वैशाख २०७७

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तराईका दुई जिल्लामा किसानबाट गहुँ खरीद गर्न शुरु गरेको छ । कम्पनीले छुट्याएको चारमध्ये दुई जिल्लामा खरीद प्रक्रिया शुरु भएको र अन्य दुईमा तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यही वैशाख २३ गतेदेखि कैलाली (धनगढी) र बर्दिया (राजापुर) जिल्लामा किसानबाट गहुँ खरीद भइरहेको छ । उनका अनुसार विभिन्न कारणले बाँके (नेपालगञ्ज) र रुपन्देही (भैरहवा)मा खरीद प्रक्रिया शुुरु हुन सकेको छैन । 

कोभिड–१९ का कारण नेपालगञ्जमा खरीद प्रक्रियामा केही समस्या आएको छ भने केही दिनमा  भैरहवामा  प्रक्रिया शुरु गरिने उनले जानकारी दिए ।

कम्पनीले धनगढी र राजापुरमा दशदश हजार तथा नेपालगञ्ज र भैरहवामा पाँचपाँच हजार क्विन्टल गरी ३० हजार क्विन्टल (तीन हजार टन) गहुँ खरीद गर्न चार जिल्लामा कोटा छुट्याएको सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिए । 

उनका अनुसार धनगढीमा एक हजार ५५० र राजापुरमा ९६१ क्विन्टल गरी दुई हजार ५१० क्विन्टल गहुँ खरीद भइसकेको छ ।

यही वैशाख १२ गते बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेअनुसार गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ रहने गरी स्वीकृत गरेको थियो । 

मन्त्रालयले रु दुई हजार ३१९ उत्पादन लागत, रु २३१  ढुवानी खर्च र किसानलाई रु ४६३ नाफासहित रु तीन हजार १५ समर्थन मूल्य रहने गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । 

सरकारले पहिलो पटक गहुँको समर्थन मूल्य तोकेको कम्पनीले जनाएको छ ।  

सूचना अधिकारी न्यौपानेका अनुसार कम्पनीको नियमित कार्यक्रमअन्तर्गत गहुँ खरीदमा रु नौ करोड पाँच लाख विनियोजन गरिएको छ । 

उनका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा एक हजार २६५ टन र २०७५/७६ मा ३८१ टन गहुँ किसानबाट खरीद गरिएको थियो । उक्त समयमा स्थानअनुसार औसत प्रतिक्विन्टल रु दुई हजार ७०० सम्म परेको कम्पनीले जनाएको छ । 

कम्पनीले खरीद गरेको गहुँ उपभोक्ताको मागअनुसार दुर्गम जिल्लासँगै काठमाडौँमा समेत बिक्री गरिने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप