बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

प्रहरीको डेढ दर्जन धराप छल्दै कसरी भित्रियो ८८ किलो सुन काठमाडौं ?

सोमबार, १९ भदौ २०७४, १४ : ०९
सोमबार, १९ भदौ २०७४

काठमाडौं–चीनसँगको केरुङ नाका हुँदै काठमाडौंसम्म आइपुगेको ८८ किलो अवैध सुन सोमबार बिहान प्रहरीले गोप्य सूचनाको आधारमा राजधानीको क्षत्रपाटीबाट समात्यो ।  तर,  उक्त  सुनलाई तस्करले सुरक्षा निकायका दर्जन बढी चेकपोष्ट पार गर्दै  काठमाडौं भित्र्याउन सफल भए । 

सुन केरुङबाट नुवाकोट–धादिङ रुटको सडकमार्ग हुँदै नागढुंगाबाट काठमाडौं भित्र्याएको  अनुमान गरिएको एक प्रहरी अधिकारीले बताए । 

केरुङ–त्रिशूली–गल्छी (धादिङ) हुँदै  काठमाडौं आउने रुटमा  डेढ दर्जन  सुरक्षा निकायका चेकपोस्ट रहेका छन् । तरपनि, सुन  सबै चेकपोस्ट पार गर्दै काठमाडौं भित्रिन सफल भएको हो । 

रसुवामा सरुवागढीस्थित  गढी पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचाल गरिएको छ भने सो नजिकै पर्ने   टिमुरे भन्सार यार्डमा  सशस्त्र र आर्मीको चेकपोस्ट  रहेको छ । यस्तै  टिमुरेमा प्रहरीको अर्को चेकपोस्ट पनि रहेको छ । जहाँ  नेपाल प्रहरीको  इन्सपेक्टरको कमान्डमा प्रहरी खटिएका हुन्छ । 

यस्तै रसुवाकै  स्याफुबेसीमा नेपाल प्रहरी, धुन्चेको तल्लो भागमा र  शिव मन्दीर नजिकै  सशस्त्रको चेकपोस्ट रहेको छ भने   धुन्चे गेटमा नेपाल प्रहरी, लाङटाङ राष्ट्रिय निकुञ्जस्थित ग्राबलमा नेपाल आर्मीको चेकपोस्ट रहेको छ । 

यसैगरी कालिकास्थानमा आर्मीको अर्को चेकपोस्ट पनि रहेको    छ  । यस्तै  कालिकास्थल नजिकै   इकाका प्रहरी कार्यालय कालिकास्थान रहेको  छ भने नुवाकोट सरुवाको सीमा क्षेत्र बेत्रावतीमा  प्रहरी चौकी रहेको छ । 

नुवाकोटमा  सिमलटार, बिदुर बजार, देबीघाट र  तारुकामा पनि प्रहरी चेकपोस्ट रहेको छ । यस्तै   धादिङको गल्छी हुँदै काठमाडौंको नागढुंगासम्म आइपुग्दा गल्छी, सिम्ले, धार्के र खानीखोलामा चेकपोस्ट रहेको छ भने काठमाडौंमा नागढुंगा र थाङकोटमा मुख्य चेकपोस्ट रहेको छ ।  

गल्छी–त्रिशूली रुट नभई पासाङल्हामु मार्गहुँदै सो सुन तस्करले काठमाडौं भित्र्याएको  भए पनि तादी, पैतीस  किलो, ओखरपौवा, ककनीलगायतका स्थानमा प्रहरी मुख्य पोस्ट रहेको छ भने टोखा छहरे मार्ग रोजेको भएपनि छहरे र ढिकुरेमा मुख्य चेकपोस्ट रहेका छन् । तर, प्रहरीले गल्छी–त्रिशूली हुँदै थाङकोट नाकाबाट भित्रिएको बताएकाले सबैभन्दा बढी चेकपोस्ट पार गर्दै सुरक्षित रुपमा काठमाडौं आइपुगेको देखिन्छ । 
 
तर, काठमाडौंबाट यसरी फन्दामा 

महानगरीय  अपराध महाशाखालाई तीन दिन अघि  विशेष स्रोत मार्फत सुन तस्करीको  विषयमा केहि सुचना प्रवाह भएको थियो । सोही सूचनाका आधारमा अपराध महाशाखाले शंकास्पद गतिविधिमा निगरानी बढाएको थियो । सोही सुचनालाई फलो गर्दै जाँदा प्रहरीले ईतिहासकै सर्वाधिक परिणामको सुन बरामद गर्न सफल भयो । 

प्रहरीको स्रोतले सुन राजधानी भित्रिएको जानकारी दिएपछि अपराध महाशाखाले आफ्नो गतिविधि थप बढाउदै गयो । प्रहरीले आयात गरिएको सुन क्षेत्रपाटीमा रहेको सुइंको पायो । लक्षित स्थानमा पुगेको प्रहरी टोलीले बा.१७ च ६४२७ नम्बरको सडकमा पार्कीङ गरेको गाडीलाई कब्जामा लिएर खानतलासी शुरु गर्यो । खानतलासीबाट अवैध रुपमा भित्रीएको ८८ केजी सुन बरामद गर्न सफल प्रहरी सफल रह्रयो । 

चीनबाट अवैध रुपमा ल्याइएको सुनलाई तस्करहरुले केरुङ सीमा नाका  प्रयोग गर्ने क्रमलाई बढाएको देखिन्छ । गत साता अपराध अनुसन्धान व्युरोले बरामद गरेको १५ केजी अवैध सुन पनि सोहि नाका हुंदै तस्करहरुले भित्रयाएका थिए । चिनियाँ  नागरिकसँगको  मिलेमतोमा नेपाली तस्करहरुले सुन भित्र्याउने गरेको प्रहरीको भनाई छ । यसअघि चीनबाट सुन भित्र्याउन तस्करहरुले तातोपानी नाका प्रयोग गर्थे । 

कहाँ जान्छ अवैध सुन ?
प्रहरीको पछिल्लो अनुसन्धानले सुन गिरोहमा नेपाली तस्करका साथै चिनियाँ र बिदेशी नागरिकहरु पनि पनि संम्लग्न भएको देखाएको छ ।  भाद्र १४ मा प्रहरीले बरामद गरेको सुन तस्करीमा सिन्धुपाल्चोकका ग्याल्बु लामाको कोठाबाट १४ केजी सुन भेटिएको थियो भने दुई केजी भारत पुगेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । उक्त घटनाबाट प्रहरीले सुन तस्करीमा अन्तराष्ट्रिय गिरोह पनि संलग्न रहेको निक्र्यौल गरेको हो । सोमबार बरामद गरिएको सुनलाई तस्करहरुले  पु–याउदै गरेको स्थानबारे प्रहरीले थप अनुसन्धान गर्दै गरेको अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले जानकारी गराए ।


 

भरिया पक्राउ , मुख्य नाइके फरार
प्रहरीले तस्करीबाट बरामद गरेको यसपटकको सुन परिणाम सर्वाधिक मुल्यको  छ । तर  सुन तस्करीमा संलग्न मुख्य नाईकेलाई पक्रने प्रयास सफल यसपटक पनि हुनसकेन । ८८ केजी सुन सहित प्रहरीले गाडी चालक मकवानपुरका मनोज अधिकारीलाई पक्रन सफल भयो तर नाइके फरार छन् । 

आजको बजार मूल्य अनुसार ४३ करोड १८ लाख  ८ हजार ६७९ रुपयाँ रहेको सुन तस्करकीका मुख्य नाईके  केहि समयमा पक्राउ पर्नेमा लोहनी आशावादी देखिए । सुन तस्करीको जालो र  तस्करका ग्राहक अनुसन्धानबाट खुल्ने उनले बताए ।
 

प्रकरणले उठाएका दुई प्रश्न
१. यति धेरै चेकपोस्ट छल्न सकिन्छ भने प्रहरीको जाँच प्रणालीमाथि कमजोरी  छ कि ? 
२. सबै चेकपोस्टमा सेटिङ मिलाएर तस्करले सुन काठमाडौं ल्याएका हुन् कि ?
 अनुसन्धान गरिरहेको प्रहरीले यी प्रश्नको जवाफ चाहिँ खोज्छ कि खोज्दैन केहि दिन पर्खनुको विकल्प छैन । 

यो पनि पढ्नुहोस्

तस्विरमा हेर्नुहोस् प्रहरीले फेला पारेको ४४ करोडको सुन (फोटोफिचर)

क्षत्रपाटीमा समातियो ८८ किलो सुन, अहिलेसम्मकै सबैभन्दा बढी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप