सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरसको उच्च जोखिममा स्वास्थ्यकर्मीदेखि सञ्चारकर्मीसम्म

बिहीबार, ०८ जेठ २०७७, १९ : २५
बिहीबार, ०८ जेठ २०७७

काठमाडौं । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ । पछिल्लो तथ्याङ्कअनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु  बढी जोखिममा देखिएका छन् । लकडाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ ।

संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ । लकडाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले बताए ।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनुभन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उनले बताए । सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उनले आग्रह गरे ।  

सहप्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गरेका छन् । आफुले जानेका कुराहरु सावधानीका साथ व्यवहारमा लागू गर्न उनले आग्रह गरे । मन्त्रालयकाअनुसार अहिलेसम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १/१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेश नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत्त कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ । प्रहरी मुख्यालयले पनि सोहीअनुसार नै काम गर्न निर्देशन दिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप