सरकारी जागिर छाडेर निजी अस्पताल सञ्चालन
त्यसपछि राजीनामा दिए ।
पाँच वर्ष सरकारी अस्पतालको सातौं तहका सरकारी चिकित्सकको भूमिका निर्वाह गरी उनले राजीनामा दिएका हुन् ।
त्यतिबेला आमाले भनिन्, ‘सर्वनाश गरिस् ।’
उनी हाँसेमात्रै ।
धेरै चिन्ता गरेपछि उनले आमालाई सान्त्वना दिए, ‘सरकारी जागिर केही होइन । जागिर खाने होइन, जागिर दिने चिकित्सक बन्छु ।’
सरकारी जागिर छाड्नुअघि उनले कान्ति बाल अस्पतालमा कार्यरत समकक्षीलाई भनेका थिए, ‘तपाईंहरू यहीं सीमित हुनुहोस् । म सयजना चिकित्सकलाई रोजगारी दिने वातावरण सिर्जना गर्नेछु ।’
१५ लाख भारतीय रुपैयाँ खर्चेर भारतबाट सन् २००९ मा फिजियोथेरापीमा ग्य्राजुएसन गरेका उनले सरकारी जागिर किन छाडे ?
ललितपुरको कुपन्डोलमा रहेको मेदान्त अस्पतालको आफ्नै कार्यकक्षमा डा. राजुकुमार गुप्ताले खुसी व्यक्त गरे, ‘आफूले भनेजस्तो काम गर्ने वातावरण र सहयोग नपाएपछि सरकारी जागिर छाडें । काम गर्ने वातावरण बनाउने प्रयास गर्दा समयमात्रै बर्बाद हुन्थ्यो । उर्वर समय बर्बाद गरे धेरै काम अधुरो रहला भन्ने चिन्ता भयो ।’
लगत्तै मेदान्त अस्पताल स्थापना गरे । अस्पताल सञ्चालनमा आएको चार वर्ष भयो । १० हजार बढी बिरामी लाभान्वित भइसकेका छन् । अस्पताल पुगेका सयमध्ये ९५ बिरामी निको भएका छन् भने ५ प्रतिशतलाई ‘रेफर’ गरिएको छ । डा. गुप्ताले गर्व गरे, ‘एक होइन २०÷२० अस्पतालमा उपचार गराउँदा ठीक नभएका बिरामी मेदान्तमा जाती भएर फर्केका छन् ।’
त्यति धेरै अस्पतालमा उपचार गराउँदा बिरामी निको नहुनुका कारण ?
उनले भने, ‘उपचारपद्धति गलत भएपछि रोग कसरी जाती हुन्छ ? अधिकांश अस्पतालमा उपचार गर्ने अत्याधुनिक प्रविधि छैन । त्यहाँ नभएका प्रविधि मेदान्तमा छ ।’
कुनै पनि प्रकृतिका बिरामीलाई पहिले औषधि दिने, त्यसपछि थेरापी गराउने अनि मात्रै सर्जरी गराउने भनेर पढाइन्छ । ‘पढेकाहरूले नै पहिले सर्जरी गर्ने, निको भएन भनेमात्रै अन्य पद्धति अपनाउने गलत अभ्यास गर्दै आएका छन्,’ उनले दुःखेसो पोखे, ‘सर्जरी गरेपछि ठीक भएन भने बल्ल हामीकहाँ पठाउँछन् । हामीले गर्न सक्नेजति गर्यौं । अब फिजियोथेरापी गराउनुस् । त्यतिन्जेलसम्म सम्बन्धित बिरामीले धेरै चीज गुमाइसकेका हुन्छन् ।’
सशस्त्र प्रहरीका बहालवाला आईजीपीदेखि मिलिट्री म्यान, प्रहरी, पत्रकारलगायत सर्वसाधारणको मेदान्तमा भीडभाड लाग्छ । दैनिक ७० बिरामीलाई उपचार गराउन सक्ने अस्पतालको क्षमता छ । ३८ वर्षीय डा. गुप्ताले सुनाए, ‘दैनिक ६० बिरामीको उपचार गराउँदै आएको छु । त्यति बिरामीको उपचार गर्न ११ घन्टा लाग्छ ।’
मेदान्तमा विनाशल्यक्रिया बिरामीको उपचार गरिन्छ । बिरामीको प्रकृति हेरेर उपचारका लागि समय लाग्छ । कम्तीमा एक सातादेखि १५ दिन र बढीमा दुई महिनासम्ममा सम्बन्धित बिरामीको उपचार गरिन्छ । एक बिरामीलाई उपचार गर्न दैनिक झन्डै दुई घन्टा लाग्छ । तर, बिरामी अस्पताल भर्ना हुनुपर्दैन । मेदान्तमा दिवा सेवामात्रै उपलब्ध छ ।
उपचार खर्चिलो होला नि ?
‘कम्तीमा दुईदेखि बढीमा १२ हजार रुपैयाँ लाग्छ,’ उनको भनाइ छ, ‘मेदान्तको प्रविधिबाट उपचार गर्दा न प्यारालाइसिस हुन्छ न त साइड इफेक्ट नै ।’ सरकारी वा निजी अस्पतालमा कार्यरत चिकित्सकको काम कम खर्च र समयमा बिरामीको दुखाइ कम गर्नु हो । अन्यमा अस्पतालमा त्यसो नगरिए पनि मेदान्तमा त्यही गरिन्छ ।
मेदान्तले बिरामीको दुखाइमात्रै कम गर्ने हो कि पूर्ण रूपमा ठीक गर्छ ?
‘होइन, होइन,’ उनले भने, ‘बिरामीको उमेर र प्रकृति हेरेर पूर्ण रूपमा ठीक गर्ने हो । अस्पताल आइपुगेका ७० प्रतिशत बिरामी वृद्धवृद्धा हुन्छन् । उमेरहदका कारणले उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउन नसके पनि पूर्ण रूपमा ठीक गर्ने प्रयास गर्छाैं । बिरामीले युवा अवस्थाकै जस्तो बनाइमागेका हुँदैनन् ।’
श्रीलंकाबाट एमडीसमेत गरेका डा. राजुकुमार गुप्ता आफ्नो कामबाट त्यत्तिकै सन्तुष्ट छन् । १०० मा ८५ प्रतिशत सन्तुष्ट रहेको उनको जिकिर छ ।
५० नाघेका बिरामी बढी आउने मेदान्त अस्पताल सञ्चालनका चुनौती पनि त होलान् ?
चुनौती १
अस्पताल पुगेका बिरामीलाई विश्वस्त बनाउनु पहिलो चुनौती हो । उपचारका लागि अस्पताल पुगेका बिरामीले मैले दस ठाउँ देखाइसकें निको भएन । यहाँ कसरी निको हौंला । तपाईंले कसरी उपचार गर्नुहुन्छ ? हेरौं त मेसिन भनेर शंका गर्छन् ।
चुनौती २
मिस गाइड । नकारात्मक प्रचार प्रसारले समेत बिरामी भड्काइन्छ । फिजियोथेरापीबाट उपचार गराउँदा लामो समय लाग्छ । नकारात्मकमात्रै सोच्ने मानिसको आचरण ठीक हुँदैन । त्यसलाई चिर्न कठिन भइरहेको छ । भ्रम चिर्न नसकेको भए मेदान्तमा दैनिक ६० बिरामी उपचार गर्न सम्भव हुँदैन ।
मेदान्त त्यस्तो अस्पताल हो, जहाँ ‘डिफरेन्ट टाइप्स अफ पेन’ मेनेजमेन्ट गरिन्छ । त्यहाँ उपचारको सुरुको दिन २० देखि २५ प्रतिशत दुखाइ कम गराइन्छ ।
सरकारी जागिर छाडेकोमा कत्ति पनि पछुतो छैन नि ?
‘ठीक समयमा छाडेछु,’ मेदान्त अर्थो तथा न्युरो सेन्टर अध्यक्ष र सीईओसमेत रहेका उनले प्रतिक्रिया दिए, ‘सरकारकी जागिर नछाडेको भए २५ जनालाई रोजगारी दिन सक्दिनथें । २५ मध्ये १० जना चिकित्सक छन् ।’
नेपालमा जागिरको पछि लाग्नेको बाहुल्य छ । जागिर खानु भनेको आफूलाई मात्रै हो । एकजनाले २५ जनालाई मात्रै रोजगारी दिन सकियो नेपाली जनशक्ति पलायन नहुने उनको बुझाइ छ ।
हिजोआज छोराको प्रगति देखेर त्यतिबेला सरकारी जागिर छाड्दा चिन्तित आमा भन्छिन्, ‘राम्रो गरिस् छोरा ।’