सूर्यबहादुर - तिम्रो स्मृतिमा
(भारी बोक्दै जीवन गुजारिरहेका सूर्यबहादुर तामाङ यो आइतबार कीर्तिपुरको सडक पेटीमा बेवारिस पल्टिएका थिए। झुत्रा लुगा लगाएका, हातमा नाम्लो समाइरहेका सूर्यबहादुर कतिबेरदेखि त्यसरी पल्टिएका हुन् कसैले थाहा पाएनन्। धेरैपछि जब थाहा भयो त्यतिन्जेलसम्ममा वृद्ध सूर्यबहादुरको शरीर चिसो भइसकेको थियो। श्रद्धाञ्जली सूर्यबहादुर तामाङ जाे भाेकसंग लड्दा लड्दै मर्याै )
ऊ ढल्यो ।
भाेकले ढल्यो।
उर्दीको कहरले ढल्यो ।
कुनै तामझाम बिनानै
हातमा नाम्लो लिएरै ढल्यो ।
फेरि कहिल्यै नउठ्ने गरि
दोबाटोमै ढल्यो ।
साझा सडकमै ढल्यो ।।
भाेकको डढेलोले जल्यो र ढल्यो ।
ऊ ढल्दा,
पर कतै महलको शीरमा
सत्ताको धुरी हुँदो
फहराईरहेको लहराईरहेको
रातो झन्डा हेरेर ढल्यो ।
समृद्ध समाजवाद मुन्तिर
दलालहरूका गीत सुन्दै ढल्यो ।
भ्रष्टाचारी /कुशासनका
सत्तासीन कुपात्रहरूको सूचि लिएर ढल्यो ।
ऊ ढल्दा
झुठका पुलिन्दा बाँडिरहेको
भाेकाहरूसंग ठट्याैली गरिरहेको
नालायक शासक संझदै
उसंग आँखामा आँखा जुधाऊँदै ढल्यो ।
चुनाैति दिएर सत्तालाई
भाेकको महासमरमा
भाेक बाँडिरहेको सत्तासंग
जीवन खातिर लड्दा लड्दै ढल्यो ।
गिज्याऊँदै, तिमेरूको कथित कम्युनिष्ट सत्तालाई
ऊ सर्वहारा ढल्यो ।
ऊ, लत्रेन कतै !
बरू, आफ्नाे जीविकाको औजार
हातमा नाम्लो अँठ्याएरै ढल्यो ।
आफ्नै श्रम पसिनाका ओछेनमा
तिन्कै सुगन्धहरूमाथि ढल्यो ।