के दक्षिण कोरियामा महामारी फिर्ता भएको हो ?
बिहीबार, १५ जेठ २०७७, १२ : ३१
दक्षिण कोरियाका लागि बिहिबार खासै राम्रो दिन रहेन ।
त्यहाँ पछिल्लो डेढ महिनामा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् ।
महामारीको दोस्रो लहरको आशंका गरिरहेका अधिकारीले नयाँ संक्रमितसँग जुध्नु परिरहेको छ ।
यसअघिसम्म पनि दक्षिण कोरियालाई संसारभरी एक उदाहरणको रुपमा हेरिन्थ्यो ।
कोरोनाभाइरस नियन्त्रणका लागि दक्षिण कोरियाले जे जति गर्यो, त्यसको चौततर्फी प्रशंसा भइरहेको थियो ।
दक्षिण कोरियाली अधिकारीका अनुसार बिहिबार त्यहाँ ७९ नयाँ संक्रमित भेटिएका छन् ।
यसका साथै दक्षिण कोरियामा संक्रमितको संख्या बढेर ११ हजार ३ सय ४४ पुगेको छ ।
सघन जनसंख्या भएको सोल नगरपालिकाको इलाकामा धेरै संक्रमित भेटिएका छन् ।
यसअघि पाँच अप्रिलमा दक्षिण कोरियामा सबैभन्दा धेरै संक्रमित भेटिएका थिए । त्यसदिन यहाँ ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।