आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले ल्यायो पुनर्कर्जा कार्यविधि, ५ प्रतिशतमा २ खर्बसम्म ऋणको बाटो खुल्ने

मङ्गलबार, २० जेठ २०७७, ०७ : ३८
मङ्गलबार, २० जेठ २०७७

काठमाडौं । कोभड–१९ का कारण समस्यामा परेका व्यवसायलाई तत्काल २ खर्ब रुपैंयाको सहुलियतपूर्ण ऋण प्रवाह गर्न सक्नेगरी नेपाल राष्ट्र बैंकले पुनकर्जा कार्यविधि ल्याएको छ । नेपाल राष्ट्र बैंकले त्यस्तो प्रावधान सहितकोृ पुनकर्जा कार्यविधिमा रायसल्लाहका लागि सोमबार प्रकाशन गरेको हो ।

सर्बसाधारणबाट प्राप्त सुझावलाई समेटेर यो कार्यविधिलाई सञ्चालक समितिले लागु गर्नेछ । प्रस्तावित कार्यविधि अनुसार अब १ वर्षका लागि बैंकहरुबाट ३ देखि ५ प्रतिशत ब्याजदरमा ऋण पाइनेछ । त्यस्तो ऋणको शोधभर्ना बैंकहरुलाई राष्ट्र बैंकले गर्नेछ ।

उक्त कार्यविधिमा पुनर्कर्जालाई लघु, घरेलु तथा साना उद्यम (एसएमई) पुनर्कर्जा, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जा गरी ३ भागमा बर्गिकरण गरेको छ । यसअघि साधारण पुनर्कर्जा र विशेष पुनर्कर्जा गरी दुई भागमा मात्रै यसको बर्गिकरण हुन्थ्यो । पुनर्कर्जाको प्रकृति अनुसार ऋण रकम र ब्याजदर फरक फरक हुने व्यवस्था गरिएको छ ।

राष्ट्र बैङ्कको प्रावधान अनुसार लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जामा १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराइनेछ । सो कर्जाबापत बैङ्कहरुले ऋणीसँग ५ प्रतिशत ब्याज लिन पाउनेछन् । राष्ट्र बैङ्कले बैङ्कहरुलाई २ प्रतिशत ब्याजदरमा त्यस्तो ऋण उपलब्ध गराउनेछ ।

त्यस्तै, विशेष पुनर्कर्जा र साधारण पुनर्कर्जाको सीमा १० करोड रुपैयाँ तोकिएको छ । यद्यपि औद्योगिक व्यवसाय ऐन अनुसार प्राथमिकताप्राप्त उद्योगहरुका लागि २० करोडसम्मको पुनर्कर्जा प्रवाह गर्नसक्ने व्यवस्था गरिएको छ । विशेष पुनर्कर्जाको ब्याजदर ३ प्रतिशत र साधारण पुनर्कर्जाको ब्याजदर ५ प्रतिशत हुनेछ । यस्तो ऋण राष्ट्र बैङ्कले बैङ्कहरुलाई क्रमशः १ प्रतिशत र ३ प्रतिशत उपलब्ध गराउनेछ ।

तत्काल २ खर्ब कसरी ?

अहिले नेपाल राष्ट्र बैङ्कले पुनर्कर्जा कोषको सीमा ६० अर्ब रुपैयाँ तोकेको छ । राष्ट्र बैङ्कले ६० अर्ब रुपैयाँ भने पनि अहिले पुनर्कर्जा कोषमा ४३ अर्ब रुपैयाँ मात्रै छ । नयाँ कार्यविधि अनुसार त्यो रकम पुनर्कर्जाको सुरक्षणको लागि मात्रै प्रयोग हुन्छ । वास्तविक ऋण त्यसको ५ गुणासम्म प्रवाह गर्न सकिन्छ । यसो हुँदा अहिलेको कोषले बजारमा तत्कालै २ खर्ब १५ अर्ब रुपैयाँ प्रवाह हुनसक्छ । त्यसमध्ये अहिले १८ अर्ब रुपैयाँको पुनर्कर्जाको प्रयोग भएको छ । यसले गर्दा तत्कालै १ खर्ब ९७ अर्ब रुपैयाँको पुनर्कर्जा प्रयोग हुन सक्नेछ ।

कार्यविधिमा यस्तो पुनर्कर्जा कहाँबाट दिने भन्ने केही उल्लेख गरिएको छैन । तर अहिले पनि बैङ्कहरुलाई राष्ट्र बैङ्कले खुला बजार कारोबार अन्तर्गत सरकारी सुरक्षणपत्र धितोमा रिपो जारी गरिरहेको छ । राष्ट्र बैङ्कले त्यस्तै गैरकोषमा आधारित पुनर्कर्जाको परिकल्पना गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पुनर्कर्जा कोषमा भएको रकमको ५ गुणासम्म पुनर्कर्जा प्रवाह हुनसक्ने व्यवस्था गरेको बताए । ‘हामीले ६० अर्बको पुनर्कर्जा कोष बनाउने भनेका थियौंँ, अब त्यो १०० अर्ब पुग्दैछ । त्यसको सूचना केही दिनभित्रै आउँछ । १०० अर्बको पुनर्कर्जाको कोष भएपछि ५०० अर्ब रुपैयाँसम्म पुनर्कर्जा प्रवाह हुनसक्छ,’ डेपुटी गभर्नर शिवाकोटीले भने ।

पुनर्कर्जा कोषको उक्त रकममध्ये ७० प्रतिशत रकम राष्ट्र बैङ्कको आह्वानमा बैङ्क तथा वित्तीय संस्थाले एकमुष्ठ रुपमा वितरण हुने व्यवस्था गरिएको छ । त्यस्तै, २० प्रतिशत रकम ग्राहकको मूल्यांकन गरी दिइने साधारण कर्जाको सुरक्षणमा बैङ्कहरुले पुनर्कर्जा बापत प्राप्त गर्न सक्नेछन् । बाँकी १० प्रतिशत पुनर्कर्जा भने लघुवित्त संस्थाबाट प्रदान गरिनेछ ।

कस–कसलाई ऋण, कसरी पाइन्छ ?

उक्त पुनर्कर्जाका लागि राष्ट्र बैङ्कले आह्वान गरे बमोजिम बैङ्कहरुले सर्वसाधारणलाई कर्जाका लागि आह्वान गर्नेछन् । उक्त अवधिमा तोकिएको कागजातसहित ग्राहकहरुले बैङ्कका सम्बन्धित शाखामा आवशयक कागजातसहितको निवेदन दिनुपर्नेछ । त्यसरी निवेदन प्राप्त भएको एक महिनाभित्र उक्त पुनर्कर्जासम्बन्धी निर्णय हुने जनाइएको छ । तर, राष्ट्र बैङ्कले प्रतिशाखा ५ ग्राहकले मात्रै त्यस्तो पुनर्कर्जा सुविधा प्राप्त गर्नसक्ने राष्ट्र बैङ्कको कार्यविधिमा स्पष्ट गरिएको छ । त्यसो गर्दा प्रादेशिक सन्तुलन मिलाउनुपर्ने व्यवस्था समेत गरिएको छ ।

ऋणीले ऋण लिँदा ऋणीले निवेदनसहित अघिल्ला ३ आर्थिक वर्षको वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको करचुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रमा कालोसूचीमा नपरेको कर्जा सूचना केन्द्रको प्रमाण तथा निर्यात पुनर्कर्जाको हकमा यसअघि निर्यात गरेर विदेशी मुद्रा आर्जन गरेको पुष्टि हुने कागजात पेश गर्नुपर्ने व्यवस्था गरिएको छ । बैङ्कले ती कागजातहरुको जाँचबुझ गर्ने र वासलातको अध्ययन गरेर ऋण–स्वपुँजी अनुपात तथा पुनर्कर्जाको प्रभावकारिता हेरेर निर्णय गर्नुपर्ने भनिएको छ ।

राष्ट्र बैङ्कले यसअघि प्रवाह भएका ऋणमा पनि पुनर्कर्जा सुविधा दिनसक्ने व्यवस्था गरेको छ । जसका लागि एसएमई अन्तर्गत १५ लाखसम्म ऋण प्रवाह भएका कर्जा, विदेशबाट फर्किएका उद्यामीलाई प्रवाह भएको कर्जा तथा कृषिउत्पादन, पशु तथा मत्स्यपालन व्यवसायका लागि प्रवाह भएको कर्जामा समेत पुनर्कर्जा सुविधा लिनसक्ने व्यवस्था समेत गरिएको छ । त्यस्तै, विशेष पुनर्कर्जा अन्तर्गत निर्यातजन्य उद्योग र सीमान्तकृत समुदायले सञ्चालन गरेका उद्योग, रुग्ण उद्योग र वैदेशिक रोजगारीमा जानेलाई प्रवाह गरिएको कर्जालाई यस्तो सुविधा दिन सकिन्छ ।

त्यस्तै, साधारण पुनर्कर्जा अन्तर्गत कृषि क्षेत्र, विदेशमा अध्ययन गरी फर्केकाहरुले सञ्चालन गरेको उद्योग व्यवसाय, पर्यटकीय क्षेत्रको रुपमा सम्भाव्य रहेका तर उल्लेख्य रुपमा विकास हुन नसकेका क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गर्ने उद्योग तथा कोभिड–१९ का कारण सञ्चालन हुन नसकेका तर भविष्यमा सञ्चालन हुने सम्भावना रहेका उद्योगहरु छन् ।

तर, व्यक्तिगत कर्जा, अन्य अनुदानप्राप्त कर्जा, २० प्रतिशतभन्दा बढी नाफामा रहेका उद्योगलाई प्रदान गरिएको कर्जा, नकारात्मक वस्तुहरु चुरोट, सुर्ती, मदिरा लगायतका उद्योगहरु यस्तो पुनर्कर्जाको लागि अयोग्य हुनेछ ।

यसरी पुनर्कर्जा दिँदा सीमान्तकृत समुदाय, लघु, घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिएर सबै शाखाका ऋणी समावेश हुनेगरी पुनर्कर्जा प्रवाह गर्नुपर्ने भनिएको छ । त्यस्तै, दोस्रोपटक पुनर्कर्जाको आवेदन दिनेलाई भन्दा नयाँलाई प्राथमिकता दिनुपर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैङ्कले मर्जरको प्रक्रियामा रहेका तथा यो चालु आर्थिक वर्षमा मर्जर वा प्राप्ति प्रक्रिया सम्पन्न गरेका वित्तीय संस्थालाई यस्तो पुनर्कर्जामा प्राथमिकता दिने व्यवस्था समेत गरेको छ ।

यसरी प्रवाह हुने कर्जा कर्जा अवधि सकिनु अगावै जुनसुकै बेला भुक्तानी गर्न सकिने व्यवस्था समेत गरिएको छ । तर अवधि समाप्त हुँदा पनि भुक्तानी नभएका कर्जाको हकमा १ प्रतिशत थप व्याजदर लिनसक्ने उल्लेख गरिएको छ । त्यसरी जरिवाना तिर्नेले अर्को ६ महिना पुनर्कर्जा लिन सक्ने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप