पाकिस्तान प्रशासित कश्मीरलाई भारतको भनेपछि दुईजनाको जागिर चट्
पाकिस्तानको सरकारी टिभी च्यानल पीटीभीले ‘पाकिस्तानको गलत नक्सा’ प्रसारण गरेको भन्दै आफ्नो दुई कर्मचारीलाई जागिरबाट निष्कासित गरेको छ ।
उक्त नक्शामा कश्मीरको त्यो हिस्सालाई भारतको हिस्सा भनेर देखाइएको थियो जसलाई पाकिस्तानले आफ्नो हिस्सा बताउने गर्छ तर भारतले पनि त्यसमाथि आफ्नो दाबी जताउने गर्छ ।
पीटिभीमा उक्त नक्सा प्रसारण भएपछि पाकिस्तानमा विवाद निम्तिएको छ र संसदको माथिल्लो सदन सिनेटमा पनि जून ८ मा यो विषयमा चर्चा भएको थियो ।
त्यसपछि सिनेटका चेयरम्यान सादिक संजरानीले यसलाई सूचना तथा प्रसारणमा संसदीय समिति समक्ष पठाएको थियो ।
सोसल मिडियामा पीटिभीको आलोचनाः
विवाद बढ्न थालेपछि बुधबार पीटिभीले आफ्ना दुई कर्मचारीलाई जागिरबाट निकालेको जानकारी ट्वीटरमार्फत् दियो ।
पीटिभीले यसबारे जानकारी दिँदै भनेको छ, ‘६ जूनमा पीटिभी न्यूजमा पाकिस्तानको गलत नक्सा प्रसारणका लागि जिम्मेवार दुई अधिकारीको कार्यकाल समाप्त गरिएको छ ।’
पाकिस्तान सरकारका केही मन्त्रीले यसबारे खुल्ला रुपमा सोसल मिडियामा पीटिभीको आलोचना गरेका थिए ।
पाकिस्तानको विज्ञान तथा प्रविधि मन्त्री चौधरी फवाद हुसैनले यो मुद्दा उठाउँदै पीटिभीका महानिर्देशकमाथि निशाना साँधेका थिए ।
चौधरीले आफ्नो ट्वीटमा भनेका थिए, ‘यो लज्जास्पद छ, पीटिभीका अध्यक्ष अरशद दान यति लामो समयदेखि च्यानलका मुखिया हुन्, उनले बिर्सिए कि उनी पीटिभीका एमडी हुन्, दुरदर्शनका होइन ।’
स्रोतः बीबीसी