सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

२ जनामा कोरोना पुष्टि भएपछि पाँचपोखरी थाङ्पालको सेवा बन्द

बिहीबार, २९ जेठ २०७७, १७ : २६
बिहीबार, २९ जेठ २०७७

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले दुईजनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक सेवा बाहेकको सबै काम असार १ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । दोलखाबाट आएका पाँचपोखरी थाङ्पाल गाउँपालिका—६ का १० जनामध्ये दुई जनामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म जेठ २८ देखि असार १ गतेसम्म गाउँपालिका कार्यालय र वडाकार्यालयका अत्यावश्यक सेवा बाहेकको सबै काम बन्द हुने जनाएको छ । 

कोरोना सङ्क्रमण देखिएका दुईजनालाई पुनः परीक्षण गर्नुपर्ने देखिएकाले सबै सेवा बन्द गर्नुपरेको निमित प्रशासकीय अधिकृत सञ्जयकुमार सिंहले हस्ताक्षर गरेको सूचनामा भनिएको छ । सङ्क्रमित दुबै जनाको मेलम्ची नगरपालिकाको आइसोलेशन कक्षमा उपचार शुरु भएको छ । 

द्वन्द्वकालीन बम भेटियो

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका  माङ्खामा द्वन्द्वकालमा राखिएको बम भेटिएको छ । वडा नं ६ मा स्वास्थ्य चौकी बनाउनका लागि खन्दै गर्दा बुधबार बम भेटिएको वडाध्यक्ष चित्र लामाले जानकारी दिए ।  स्थानीयवासीले आज बिहान प्रहरीलाई खबर गरेपछि सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

घटनास्थललाई सशस्त्र प्रहरी र नेपाली सेनाले सुरक्षित राखेको छ । नेपाली सेनाको बम डिस्पोजल टोली पनि त्यसतर्फ गइसकेको छ । सो ठाउँमा द्वन्द्वकालमा बम भण्डारण गर्ने गरिएको स्थानीय नेकपा कार्याकर्ताले बताएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप