मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नदी उत्खननले बाढीको जोखिममा टीकापुर

शनिबार, ३१ जेठ २०७७, १६ : १३
शनिबार, ३१ जेठ २०७७

कैलाली । कैलाली जिल्लाको टीकापुर नगरपालिकाअन्तर्गत पर्ने कर्णाली नदीबाट जथाभावी नदीजन्य पदार्थको उत्खनन हुन थालेपछि टीकापुर बाढी र डुबानको उच्च जोखिममा परेको छ । नगरपालिकाले नदीजन्य पदार्थको उत्खननका लागि निश्चित मापदण्ड बनाएर ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता दिएको भए पनि ठेकेदार कम्पनीले मापदण्डविपरीत नदीजन्य पदार्थको उत्खनन गरेपछि टीकापुर बाढी र डुबानको जोखिममा पर्ने देखिएको हो ।

रेखा निर्माण सेवालाई वार्षिक रु ५२ लाखमा नगरपालिकाले ठेक्का दिएको भए पनि नदीबाट जथाभावी उत्खनन गरिँदा नदीले कटान शुरु गरेसँगै टीकापुर नगरपालिका बाढी र डुबानको  उच्च जोखिममा परेको छ । गत वर्ष पनि वर्षात्को समयमा कर्णाली नदीले कटान गर्न थालेपछि टीकापुरवासीले त्रासमा बस्नुपरेको थियो ।

स्थानीयवासी उपेन्द्र साउदले नदीजन्य पदार्थको उत्खनन गरी आम्दानीको स्रोत बनाउनु राम्रो भए पनि त्यसको अनुगमन हुन नसक्दा ठेकेदारको मनपरीले विपत्ति ल्याउने बताए । कर्णाली नदीसँगै सामुदायिक वनसमेत जोडिएका छन् । अहिलेसम्म सयौँ बिघा वन क्षेत्र नदीको चपेटामा परिसकेको छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गर्दै आएको तटबन्धको काम पूरा हुन नसक्दा जोखिम कम हुन नसकेको गुनासो वर्षेनी आउने गरेको छ ।

नगरपालिकाका इञ्जीनियर नवराज जोशीले ठेक्का सम्झौताको बारेमा आफूहरुलाई थाहा नहुने बताउँदै राजश्व शाखालाई देखाएका छन् । ‘नदीजन्य पदार्थको उत्खननको कुरा हामीलाई थाहा छैन’ इञ्जीनियर जोशीले भने– ‘त्यो राजश्वले हेर्छ ।’

त्यस्तै टीकापुरमा सडक निर्माण कार्य सञ्चालन नहुँदा वर्षात्को समयमा डुबानको जोखिम बढेको छ । नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट टीकापुर नगरपालिका–१ को ‘ब्लक ए’ भित्रका सडक कालोपत्र र नाली निर्माणको काम लकडाउनका कारण रोकिएको छ भने टीकापुरको जमरा पुलदेखि बसपार्कसम्म निर्माण भइरहेको ६ लेनको सडक निर्माणकार्यसमेत सञ्चालन हुन नसकेपछि सडक किनारामा भइरहेको ढल निर्माण कार्य पनि रोकिएको छ । निर्माण कम्पनीले निर्माण सामग्री लथालिङ्ग अवस्थामा छोडेका कारण वर्षात्को समय शुरु नहुँदै सामान्य झरीमै बजार क्षेत्रमा डुबान हुन थालेको छ ।

डुबान हुन थालेपछि टीकापुर नगरपालिकाले आफ्नो स्काभेटरको प्रयोग गरी केही ठाउँमा निकास खोल्ने कामसमेत गरेको छ । नाली बनाउँदा थुपारेको माटोका कारण पानी निकास हुने अवस्थामा छैन । निर्माण कम्पनीका इञ्जीनियर गगनसिंह शाहीले अहिलेकै अवस्थामा काम अगाडि बढाउन नसकिने भन्दै डुबानको जोखिमलाई कम गर्न निकास खोलिने बताए । उनले बन्दाबन्दीको समयमा काम गर्न खोजेको बताउँदै नगरपालिकाले कामको अख्तियारी नदिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप