आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ स्थानीय संक्रमण भेटिएपछि बेइजिङमा लकडाउन लागू

शनिबार, ३१ जेठ २०७७, १८ : ०५
शनिबार, ३१ जेठ २०७७

कोरोनाभाइरस संक्रमणको नयाँ केसहरु भेटिएपछि चीनको राजधानी बेइजिङका केही भागमा शनिबार लकडाउन गरिएको छ । शहरको एउटा होलसेल खाद्य बजारसँग सम्बन्धित नयाँ क्लस्टर फेला परेसँगै  लकडाउन लागू गरिएको हो ।

दक्षिणी बेइजिङको फेङताई जिल्लाका ११ आवसीय क्षेत्रका मानिसहरुलाई घरभित्र बस्न निर्देशन दिइएको छ । संक्रमणको फैलावट रोक्नका लागि नजिकैको सिन्फादी बजारलाई बन्द गरिएको छ । नयाँ संक्रमित फेला परेसँगै बेइजिङमा स्थानीय संक्रमणको त्रास फैलिएको छ ।

शनिबार फेला परेका थप ६ जना संक्रमित खाद्य बजारसँग सम्बन्धित रहेको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । शुक्रबार बजारका करिब २ हजार कामदारको परीक्षण गर्दा थप ४५ जना लक्षण बिनाका संक्रमित फेला परेको सहरका स्वास्थ्य अधिकारी पाङ सिन्घुओले पत्रकारहरुलाई जानकारी दिए । उनीहरुलाई स्वास्थ्य निगरानीमा राखिएको पाङले बताए ।

उता, उत्तरपश्चिम जिल्ला हाइदियानका एक कामदारमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ती कामदार सिन्फादीका संक्रमितको सम्पर्कमा आएको भेटिएको छ ।

लगभग दुई महिनापछि बिहीबार बेइजिङमा पहिलो संक्रमित फेला परेका थिए । उनी गत हप्ता सिन्फादी बजारमा गएको र उनको शहर बाहिर गएको यात्राको इतिहास नरहेको बताइएको थियो ।

गत वर्षको अन्त्यमा ऊहानमा कोरोनाभाइरसको संक्रमण देखिएपछि लागू गरिएको ब्यापक लकडाउनका कारण चीनमा कोरोनाभाइरसको संक्रमण नियन्त्रणमा आएको थियो । पछिल्लो समय संक्रमणको दर कम भएसँगै लकडाउनका उपायहरु खुकुलो बनाउँदै लगिएको थियो । यो अवधिमा चीनमा फेला परेका नयाँ संक्रमित बाहिरबाट आएकाहरु मात्र थिए ।

शनिबार घोषणा गरिएका ६ जना संक्रमितमध्ये तीन जना सिन्फादी बजारको कामदार रहेका छन् भने एक जना बजार पुगेको र दुई जना चाइना मिट रिसर्च सेन्टरका कर्मचारी रहेका छन् । यो केन्द्र सिन्फादी बजारबाट ७ किलोमिटर टाढा रहेको छ । केन्द्रका एक कर्मचारी एक हप्ताअघि सिन्फादी बजार पुगेको बताइएको छ ।

संक्रमित फेला परेसँगै चिनियाँ अधिकारीहरुले बजार बन्द गरेका छन् भने एक संक्रमित पुगेको अर्को समुद्री खाद्य बजार पनि बन्द गरेका छन् ।  एएफपीका अनुसार दुई वटा बजारमा सयौँका संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सिन्फादीबाट कसैलाई पनि आवतजावत गर्न दिइएको छैन ।

संक्रमित फेला परेको क्षेत्रमा २० लाखभन्दा बढी जनसंख्या रहेको छ ।

स्रोत : बैंकक पोष्ट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप