सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोविड–१९ बाट अफ्रिकामा २ लाख २५ हजारभन्दा बढी संक्रमित

आइतबार, ३२ जेठ २०७७, १४ : १८
आइतबार, ३२ जेठ २०७७

आदिस अबाबा । अफ्रिकी महादेशमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या २ लाख २५ हजार नाघेको छ । कोविड–१९ तिब्र रुपमा फैलिएसँगै अफ्रिकाका ४३ मुलुकको अन्तर्राष्ट्रिय सीमा पूर्ण रुपमा बन्द गरिएको छ । 

अफ्रिका सिडीसीको पछिल्लो विवरण अनुसार कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या करिब ६ हजार पुगेको छ भने एक लाख २ हजार ८४६ जना निको भएर घर फर्किएका छन् । अफ्रिका सिडीसीको अध्ययनमा कोविड–१९ बाट उत्तर अफ्रिकी मुलुकहरु सर्वाधिक प्रभावित भएको उल्लेख छ । उत्तर अफ्रिकी क्षेत्रमा कोविड–१९ बाट भएको मृत्यु र संक्रमित दुबैको संख्या बढी छ । 

यद्यपी कोविड–१९ बाट सर्वाधि असर परेका मुलुकहरुमा दक्षिण अफ्रिका, इजिप्ट, मोरक्को, जिबुटी, नाइजेरिया र अल्जेरिया रहेका छन् ।   इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार इजिप्टमा विगत २४ घण्टाको अवधिमा एक हजार ६७७ जना नयाँ संक्रमित भेटिएका छन् । यो सहित इजिप्टमा संक्रमितको कूल संख्या ४२ हजार ९८० पुगेको छ । यहाँ हालसम्म एक हजार ४८४ जनाको मृत्यु भइसकेको छ । 

यस्तै अफ्रिकामै सबैभन्दा बढी जनसंख्या रहेको इथियोपियामा कोरोना संक्रमितको संख्या ३ हजार १६६ पुगेको छ ।  अफ्रिकी महादेशका मुलुकमध्ये सर्वाधिक असर परेको दक्षिण अफ्रिकामा हालसम्म कूल संक्रमितको संख्या ६५ हजार ७३६ पुगेको र त्यसमध्ये एक हजार ४२३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । अफ्रिकाका ४३ मुलुकले आफ्ना सीमा बन्द गर्नुका अलावा अफ्रिका सिडीसीका अनुसार कोरोना फैलिनबाट रोक्न ३५ वटा देशमा रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) समेत लगाइएको छ । 

सातवटा देशमा अन्तर्राष्ट्रिय हवाई उडान रोकिएको छ भने दुई वटा देशले अन्य मुलुकसँगको आउजाउमा प्रतिबन्ध लगाएका छन् ।  केही अफ्रिकी मुलुकले कार्गो, फ्राइट र आपतकालीन यातायात भने खोलेका छन् ।  अफ्रिकाका ५४ वटा मुलुकले सार्वजनिक भेला, समारोहमा प्रतिबन्ध लगाएका छन् भने ३८ वटा मुलुकले शैक्षिक प्रतिष्ठानहरु बन्द गरेका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप