सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने गिरोह प्रहरीको नियन्त्रणमा
काठमाडौं । सेनाको मान्छे हुँ भन्दै ठगी गर्ने एउटा गिरोहलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका– ४ का केवल राई सुनार, सोही वडाका भीम महाजु, वडानम्बर ५ का रामबहादुर तामाङ र तनहुँ जिल्ला मेरलुङ गाविस ४ का र अमर अधिकारी रहेका छन् ।
उनीहरुले धुलिखेल नगरपालिका– ७ अड्डाबजारमा होटल व्यवसाय गरेर बसेका चन्द्रकुमार लामाबाट बिष्णुदल गण सेनाको ब्यारेक सस्तोमा राशन सामान उपलब्ध गराउँछु भनि २ लाख ५० हजार ठगी गरेका थिए । उनीहरुले विष्णुदल गण व्यारेक धुलिखेलको रासन स्टोर विभागको नक्कली पत्र समेत बनाएको आरोप प्रहरीले लगाएको छ ।
५ लाख ६९ हजार २ सय १० बराबरको सामान सस्तो मिलाइदिन्छु भनी उनीहरुले सुरुमा २ लाख ५० हजार रुपैयाँ ठगि गरेर भागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक कुमार बिक्रम थापाले जानकारी दिए । उनीहरुले घटनामा प्रयोग गर्ने सिमकार्ड अन्य ब्यक्तिहरुको परिचय पेश गरी लिने गरेको र एक घटनामा सफल भएपश्चात मोबाइल सेट तथा सिम दुवै नष्ट गर्ने गरेको समेत प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।