मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

फास्ट ट्रयाक निमार्णका लागि सेनाको १० कार्यदल : ५ स्थानमा बन्दैछन् बेसक्याम्प (फोटो/भिडियो)

बिहीबार, २२ भदौ २०७४, १२ : ३५
बिहीबार, २२ भदौ २०७४

बारा–बहुप्रतिक्षित दु्रतमार्ग (फास्ट ट्रयाक) निमार्णका लागि नेपाली सेनाले १० कार्यदल खडा गरी ५ बेस क्याम्प निमार्ण थालेको छ । 
लतिलतपुरको खोकनादेखि बाराको निजगढसम्म विभिन्न ५ स्थानमा बेसक्याम्प स्थापना गरेर सडक निमार्णको काम अघि बढाउन थालिएको नेपाली सेनाको विकास निर्देशनालयले जनाएको छ । 


अन्य सडक निमार्णका क्रममा पनि सुरक्षाकर्मी तथा प्राविधिक बस्न तथा निमार्ण उपकरणको व्यवस्थापनका लागि बेस क्याम्प निमार्ण गरे झै फास्ट ट्रयाक निमार्णको जिम्मेवारी पाएसँगै सेनाले विभिन्न ठाँउमा क्याम्प स्थापना गरेको हो । यस्ता क्याम्पमा १ सय जनासम्म सैन्य प्राविधिक रहने जनाइएको छ । 
क्याम्पमा सैनिक, प्राविधिक, बिज्ञ तथा सडक निमार्णमा संलग्न गैरसैनिक ब्यक्ति पनि रहन सक्नेछन् । गत महिनादेखि बाराको निजगढस्थित बाघदेव ४ मा सेनाको पाँचौ बेसक्याम्प निर्माण भइहरेको छ । 


यस्तै मख्खुबेसी, कुलेखानी दोभन, लेनडाँडा र बुधुनेमा पनि यसरी नै सेनाले बेसक्याम्प निर्माण गरिरहेको छ । 
फास्ट ट्रयाक निमार्णणका लागि सरकारले यसबर्ष १० अर्व १३ करोड रुपैँया छुट्टयाएको छ । गत जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले फास्ट ट्रयाक निमार्णको जिम्मा नेपाली सेनालाई दिएको थियो । यस्तै असार ८ गते मन्त्रिपरिषदको बैठकले निर्माण कार्यविधी स्वीकृत गरेको थियो । 


डिपिआर अध्ययन एक सातामा सकिने
भारतीय कम्पनीले निर्माण गरेको फास्ट ट्रयाकको डिपिआर अध्ययन भइरहेको सेनाले जनाएको छ । पुल विज्ञ, सुरुङ विज्ञ, सहितको ६ सदस्यीय टोली बनाएर भइरहेको अध्ययन एक साताभित्र सकिने छ । अध्ययन टोलीको सुझावका आधारमा डिपिआर खरिद गर्ने वा नयाँ योजनाका साथ अघि बढ्ने भन्नेमा टुङ्गो लाग्नेछ ।

 
डिटेल, डिजाइन र डिपिआर प्राप्त गरेपछि सहजताका साथ काम गर्न अहिले प्रारम्भिक रुपमा काम अघि बढाईएको हो । फास्ट ट्रयाक सडक आयोजना अन्र्तगत १ सय हाराहारी पुल, पुल र कल्भट र १ दशमलब ३ किलोमिटर लामो टनेल निर्माण हुनेछ । 
सडक ट्रयाकको काम अघि बढाउन, क्याम्प बनाउन डिपिआर नभएपनि फरक नपर्ने भएर काम अघि बढाइएको प्राविधिक महासेनानी विकास पोख्रेलले बताए । उनले भने–डिपिआर आएको छैन भनेर हात बाँधेर बस्ने कुरा छैन, सडक ट्रयाक अघि बढाउने काम थालिसकेका छौँ । यसले डिपिआर आएपछि काम गर्न अझ सहज बनाउछ ।’


मुआब्जा वितरण प्रक्रिया जारी 
सडक संरचना बनाउन जग्गा प्राप्तिका लागि मुआब्जा वितरणको काम पनि जारी रहेको सेनाले जनाएको छ । सडक आयोजनाभित्र पर्ने महादेवटार, धेद्रेगाँउ र लेनडाँडामा जग्गा अधिग्रहण कार्य शुरु भएको छ । यस्तै ललितपुरको खोकनामा मुआब्जाबारे २ पटक छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय र स्थलगत रुपमा जग्गाधनीसँग जग्गा प्राप्तिबारे छलफल भएको नेपाली सेनाको विकास निर्देशनालयले जानएको छ । खोकनामा मुआब्जा वितरणबारेको समस्या भने अझै टुङ्गो लागेको छैन् । 
समयभित्र काम सक्ने 
यसअघि नै पाइलट ट्रयाक खोलेको सेनाले यतिबेला ५ ओटा डोजरबाट काम थालेको छ । विभिन्न ठाँउमा पहिरो आएकोले यतिबेला डोजरले पहिरो सफा गर्ने काम गरिहेरहेको छ । सरकारले म्यान्डेट दिएपछि काम सुचारु गर्न पहिलो चरणमा ५ क्याम्प निमार्ण सँगै ५ ओटा मेसिनबाट काम थालेको नेपाली सेनाका प्राविधिक महासेनानी विकास पोख्रेलले रातोपाटीलाई जानकारी दिए ।

 
यतिबेला बुधुनेबाट र निजगढ गरी दुईतर्फबाट ट्रयाक सफा गर्ने काम भइरहेको । सेनाले ३१ किलोमिटर ट्रयाकमा झरेको पहिरो सफा गरिरहेको छ । डिपिआर, डिजाइन टुङ्गो लाग्ने वित्तिकै औपचारिक रुपमा काम थाल्ने बताएको सेनाले सरकारले दिएको समयभित्रै योजना सक्ने गरी काम अघि बढाएको जनाएको छ । 
महासेनानी पोख्रेलले भने–‘सरकारले दिएको म्यान्डेट अनुसार नै अघि बढेका हौँ । दिइएको समयभित्र काम सक्ने कोशिस गर्छौँ, त्यही अनुसार लागि परेर काम गर्छौँ ।’ 
फास्ट ट्रयाक सेनाका लागि नयाँ अनुभव भएकोले टनेल र पुल निर्माणमा चुनौती रहेको उनले बताए ।  आफूले नसक्ने काम र प्रविधिबारे विज्ञहरुबाट सुझाव लिएर सेनाले काम गर्ने भएको छ । यसका लागि अत्याधुनिक उपकरणहरु बाहिरबाट समेत झिकाउने काम भइरहेको सेनाले जनाएको छ । तत्कालका लागि एक्साभेटर, डोजर, लोडर ल्याइएर काम थालिएको हो । 
निजगढको बाघदेव क्याम्प 
फास्ट ट्रयाकको काम अघि बढाँउन गत साउन ७ गतेबाट सेनाले बाराको निजगढस्थित बाघदेव ४ मा क्याम्प निर्माण थालेको छ । २ बिघा क्षेत्रफलमा डिउटी पोष्ट सहित २६ भवन संरचना निर्माण भइरहेको हो । 


क्याम्पमा मेडिकल हल देखि जवान बस्ने, खाना खाने मेस, पोत (हतियार) भण्डार कक्ष, विष्फोटक पदार्थ राख्ने बंकर, संचार कार्यालय, डिजेल पम्प, पदिक कार्यालय रहनेछन् । बर्षाले अवरोध नगरे १ महिनाभित्र क्याम्पको संरचना पूरा हुने प्राविधिक सेनानी रमेश मरासिनीले जानकारी दिए । 
क्याम्पमा फास्ट ट्रयाकका लागि खटिने सैनीक तथा गैरसैनिक र प्राविधिकहरुको टोली बस्नेछ ।   

भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप