सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेसको रणनीतिः सदन र सडकबाट मोर्चा कस्ने तयारी

सोमबार, ०१ असार २०७७, ०९ : ५९
सोमबार, ०१ असार २०७७

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारको कार्यशैलीविरुद्ध सदनदेखि सडकमा उत्रिने रणनीतिमा छ । २६ जेठको केन्द्रीय कार्यसमिति बैठकबाटै कोरोना महामारीको सन्दर्भमा सरकारको अकर्मण्यता र भ्रष्टाचारको विरुद्धमा सङ्घीय संसद, प्रदेश सभा र सबै जिल्लामा सक्रिय र सशक्त रूपले प्रस्तुत हुने निर्णय गरेको काँग्रेस नयाँ नक्सा पारितको प्रतीक्षामा थियो ।

शनिबार सङ्घीय संसदको प्रतिनिधि सभाबाट लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सर्वसम्मत रूपमा पारित भएसँगै आन्दोलनको रणनीतिमा जुटेको छ । केन्द्रीय समिति बैठकको निर्णय भएको दोस्रो दिनमै काँग्रेस संसदमा खरो रूपमा प्रस्तुत भएको थियो । संसदमा नक्सासम्बन्धी छलफल सुरु भएपछि सरकार विरोधी काँग्रेसको नीति सेलाएको थियो । यतिबेला काँग्रेस असार २ गते देश तथा विदेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउने र ज्ञापनपत्र दिने तयारीमा केन्द्रित छ ।

केन्द्रमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा बुधबार प्रधानमन्त्री ओलीलाई ज्ञापन बुझाइएपछि दोस्रो चरणमा असार २ गते सङ्घ, प्रदेश, जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका तर्फबाट ज्ञापनपत्र बुझाउने काँग्रेसको कार्यक्रम छ ।

सङ्घीय संसद्का तर्फबाट पार्टी संसदीय दलका नेता या प्रमुख सचेतकमार्फत, प्रदेशमा प्रदेश संसदीय दलका नेताले मुख्यमन्त्रीमार्फत, जिल्लामा जिल्ला सभापतिहरूले प्रमुख जिल्ला अधिकारीमार्फत र विदेशस्थित जनसम्पर्क समितिका सभापतिहरूले दूतावासमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने काँग्रेसले जनाएको छ ।

कोरोना नियन्त्रण खर्च, स्वास्थ्य सामग्रीमा भएको अनियमितता, क्वारेन्टिनको उचित व्यवस्था, पीसीआरको दायरा लगायतका विषयमा काँग्रेसले सरकारमाथि प्रश्न तेस्र्याएको थियो । त्यसबारे सरकारले सदनभित्र र बाहिरबाट जवाफ पनि दिएको छ ।

सरकारले विभिन्न क्षेत्रबाट प्राप्त सुझावका आधारमा यसविरुद्धको योजना थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको र पीसीआर परीक्षणको दायरा बढाउँदै लगिएको बताएको छ ।

क्वारेन्टिनको व्यवस्थापनमा समस्या भए पनि सुधार भइरहेको सरकरको भनाइ थियो । सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण पनि सार्वजनिक गरिसकेको छ ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । तर काँग्रेसले सरकारको जवाफबाट चित्त बुझाएको छैन ।

काँग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विषयको गम्भीरता बुझेर सरकारले जवाफ नदिएको बताए ।

‘वरिष्ठ नेतासहित हामीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिँदा सकारात्मक रूपमा लिनुभएको थियो । तर संसदमा प्रस्तुत हुँदा चियाँ पसल र चौतारामा हुने कुराकानी जसरी प्रस्तुत हुनुभयो । हाम्रो लगातारको सहयोगसहितको खबदारीले उहाँ जनताको पीरमर्काप्रति संवेदनशील हुन भएन । अब हामीले कठोर रूपमा प्रस्तुत हुनुपर्ने बाध्यता सिर्जना भएको छ ।’

कोरोना नियन्त्रणमा दिएका ग्यापमा प्रश्न उठाउँदा पनि सरकारले सकारात्मक सोचमा नलिएको उनको भनाइ छ ।

‘हामीले क्वारेन्टिन व्यवस्थित गर्न, पीसीआर टेस्टिङ गर्न लकडाउनकै समय उपयोग गर्न भनिरछौँ । सीमामा रहेका नागरिकलाई पनि सुरक्षित देशभित्र ल्याउनुहोस भन्यौँ,’ डा. महतले भने, ‘सरकारले त्यो पनि गरेन । सीमामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेपछि उनीहरुलाई ल्याइयो । कोरोना नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदम चालेन ।’

काँग्रेसद्वारा कोभिड १९ को कारण उत्पन्न परिस्थितिको सम्बन्धमा अध्ययन गर्न गठित समितिका संयोजक डा. महतले सरकारको पारदर्शितामाथि प्रश्न उठाए ।

उनले भने, ‘कोरोना रोकथाम तथा नियन्त्रण, उपचार र राहतमा १० खर्ब खर्च भएको आएको छ । मैले अनुगमन समितिको संयोजकको हैसियतले पार्टी सयन्त्रअन्तर्गत जिल्ला जिल्लामा र स्थानीय तहका साथीहरुसँग सोधेँ । प्रदेशबाट केही रकम आए पनि केन्द्रले कुनै रकम दिएको छैन । स्थानीय निकायले क्वारेन्टिन सञ्चालन गर्नदेखिका सबै काम गरिरहेको अवस्था छ । यो दस खर्बको खर्च कहाँ भयो ? कि स्वास्थ्य सामग्री खरिद भ्रष्टाचारमै सकियो ?’

कोरोना नियन्त्रण उच्च स्तरीय समितिले र स्वास्थ्य मन्त्रालको फरक फरक तथ्याङ्क आएको उनले बताए ।

उनले भने, ‘१० अर्ब खर्च भएको अलग अलग तथ्याङ्क आइरहेको छ । यस्तो विपद्को बेला छ । सपना र कल्पना गर्न नहुने समयमा पनि सरकार भ्रष्टाचार गर्न उद्दत देखियो । यो निर्लज्जाको पराकष्ट हो ।’

व्यवस्थित क्वारेन्टिन, पीसीआर टेस्ट र खर्चको पारदर्शिताबारे प्रश्न गर्नेमाथि सरकार दमनको भाषा प्रयोग गरिरहेको महतको आरोप छ ।

‘आफ्नो कमी कमजोरी सुधार्नुपर्छ भन्ने सोच्नुपर्ने हो नि ? त्यो नसोचिराखेको अवस्थामा अहिलेको अव्यवस्था र अन्यौलतको खिलाफमा सदनमा कडा रूपमा प्रस्तुत हुन्छौँ र बाहिर पनि हामी सामाजिक दूरी कायम गर्दै भ्रातृ सङ्गठनहरु सकडमा निस्किन्छन्,’  उनले भने ।

अब आफूहरु जनताको आपत–विपत टुलुटुल हेरेर बस्न नसक्ने बताए । यता सोमबार नेपाल विद्यार्थी सङ्घले पनि देशव्यापी विरोध परदर्शनका कार्यक्रम घोषणा पनि गरेको छ । यद्यपि आफूहरु कोरोना सङ्क्रमणको जोखिम नहुने गरी सडकमा प्रस्तुत हुने महतको भनाइ छ । आतइबार काँग्रेस सांसद राजेन्द्र केसीले अहिले जनता मात्र सडकमा आएको भन्दै काँग्रेस सडकमा आए थाम्न नसक्ने अवस्था आउने चेतावनी दिएका थिए ।

केही दिनयता देशका विभिन्न ठाउँमा स्वस्फूर्त प्रदर्शनमा उठेको आवाज संसदमा सुनाउँदै केसीले भने, ‘प्रधानमन्त्रीज्यूलाई भन्छु, ‘इनफ इज इनफ’ कन्ट्रोल गर्नुस् । ‘यो अति भो, अब खति हुने भो’ भनेर आज आवाज दन्किइरहेको छ । यो काँग्रेसको मात्रै आवाज होइन यो जनताको आवाज, जनजिब्रोको आवाज बनेको छ । अब जनता सडकमा आइसके । अब हामीलाई पनि थाम्न नसक्ने अवस्था होला ।’

काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले सरकारको संवेदनहीनता र भ्रष्टाचारविरुद्ध संसदमा खरोरूपमा प्रस्तुत हुने बताइन्  ।

उनले भनिन्, ‘कोरोना भाइरसको नियन्त्रणमा अहिले पनि सरकार गम्भीर नभएको अवस्था छ । हामीले त्यसबारे सशक्त रूपमा आवाज उठाउने छौँ । यता भ्रष्टाचार मौलाइरहेको छ । प्रधानमन्त्री ढाकछोपमा उत्रिनु भएको छ । सम्बोधनमा पनि ती कुराहरु देखियो ।’

इस्यु गम्भीर भयो तर सरकार गम्भीर नभएको उनको आरोप छ ।

 भुसालले भनिन् ‘चार्टर फ्लाइटमा पनि भ्रष्टाचार देखियो । कोरोना भाइरसको नाममा भएको भ्रष्टाचारको हिसाब किताब जनतासामु ल्याएरै छोड्छौँ । यसमा हाम्रो शून्य सहनशीलता रहन्छ ।’

आसार ४ गते बस्ने संसद बैठकमा पनि यी विषय थप दह्रो ढङ्गले उठाइने उनको भनाइ छ । उनले भनिन्, ‘त्यहाँसम्म पार्टीले बाहिरबाट सरकारलाई प्रश्न उठाउँछ नै । आज पनि यी विषयमा आवाज उठाएका छौँ । यी कुराहरु निरन्तर उठि नै रहन्छन् ।’

काँग्रेस सांसद गगन थापाले जवाफदेही बनाउन सरकारमाथि सदन र सडकबाट दबाब बढाउँदै जाने काँग्रेसको रणनीति रहेको बताए ।

उनले भने, ‘अब सरकारलाई सहयोग मात्र होइन जवाफदेही पनि बनाउनुपर्छ भन्ने परिस्थिति आयो । त्यसका लागि फरक फरक रणनीतिका साथ सरकारमाथि सदन र सडकबाट दबाब बढाउँदै लैजानेछौँ ।’

सरकार बदल्ने आफ्नो कुनै मनसाय नरहेको भन्दै सरकारमाथि दबाब बढाएर सरकारलाई थप जवाफदेही बनाएरै छोड्ने थापाको उद्घोष छ ।

थापाका अनुसार कोरोना सङ्क्रमण सुरु भएदेखि काँग्रेसको भूमिका सरकारको सहयोगीको जस्तो रह्यो । उनले भने, हामीले सरकारलाई सहयोग मात्र गरेनौँ । कहाँनिर समस्या छ । कहाँनिर के सहयोग चाहिन्छ भनेर पूर्ण रूपमा साथ दियौँ । हामीले सहयोग गर्दै जाने तर सरकारले हाम्रा कुनै पनि कुरा नसुन्ने, बरु दबाउने, ढाकछोप गर्ने र पेल्दै गएको नियत देखायो ।’

अब सबै सचेत नभए प्रधानमन्त्री, यो सरकारको कार्यशैली र नियत यति बिग्रिसक्यो अझ थप बिग्रिँदै जाने थापाको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप