सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

तनहुँका पहिलो कोरोना सङ्क्रमित निको भएर फर्किए

सोमबार, ०१ असार २०७७, १८ : ३१
सोमबार, ०१ असार २०७७

तनहुँ । तनहुँका पहिलो कोरोना सङ्क्रमित आज निको भएर अस्पतालबाट घर फर्किएका छन् । ऋषिङ गाउँपालिका–४ का २८ वर्षीय युवक १५ दिनको अस्पताल बसाइपछि घर फर्किएका हुन् ।  शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचाररत ती युवकलाई केन्द्रका सञ्चालक राम भण्डारी, निमित्त कार्यकारी निर्देशक डा.रामकुमार श्रेष्ठलगायतले बिदाइ गरे । 

भारतबाट गत जेठ १० गते फर्किएर व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेन्टिनमा बसेका ती युवकलाई जेठ १८ गते कोरोना पुष्टि भएको थियो । आज दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको केन्द्रका निमित्त कार्यकारी निर्देशक डा.श्रेष्ठले जानकारी दिए । 

डा.श्रेष्ठका अनुसार ती युवकलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन जिल्ला आयुर्वेद कार्यालयले उपलब्ध गराएको अश्वगन्ध चूर्ण, गुडुची चूर्णलगायत रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि मात्र सेवन गराइएको थियो । सङ्क्रमितले आफू अस्पतालमा रहँदा तातोपानी र आयुर्वेदिक औषधि मात्रै सेवन गरेको बताए । ‘आत्मबल बलियो भए कोरोनालाई सहजै जित्न सकिने रहेछ’, उनले भने । अस्पतालबाट घर फर्किएका युवकलाई लिन ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ अस्पताल पुगेका थिए ।  ती युवकलाई १५ दिनसम्म घरमै सुरक्षित रुपमा बस्न लगाइनेछ । 

यसैबीच जिल्लाको घिरिङ गाउँपालिकाका पाँच जनामा आजै कोरोना पुष्टि भएको छ । उनीहरुको सोही अस्पतालमा राखेर उपचार भइरहेको छ । यसअघि ऋषिङका दुई र घिरिङका एक पुरुषसमेत सोही अस्पतालमा उपचाररत छन् । एक जना निको भएर फर्किएपछि जिल्लामा कोरोना सङ्क्रमित ८ जना छन् । अस्पतालले सङ्क्रमितको उपचारमा एक चिकित्सक, दुई नर्स र एक कार्यालय सहयोगी खटाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप