सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश ५:  गर्भवतीसहित १५ मा कोरोना सङ्क्रमण

मङ्गलबार, ०२ असार २०७७, १९ : ३७
मङ्गलबार, ०२ असार २०७७

अर्घाखाँची । जिल्लामा एक गर्भवतीसहित १५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा शीतगंगा नगरपालिकामा सात, भूमिकास्थान नगरपालिका र पाणिनि गाउँपालिकामा एकएक, छत्रदेव गाउँपालिकाका दुई, मालारानी गाउँपालिकाका तीन र ठेगाना नखुलेका एक गरी १५ जनामा आज कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेश पौडेलले बताए । 

क्वारेन्टिनबाट भागेका  पक्राउ
भूमिकास्थानको क्वारेन्टिनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भूमिकास्थान –१ र २  ढाकावाङको क्वारेन्टिनबाट भागेकाहरुलाई प्रहरीले आज पक्राउ गरेको हो ।  गत जेठ २२ गते पिसिआर परीक्षणका लागि पठाइएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टिनबाट भागेका थिए । भागेर घर तर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी पुनः  क्वारेन्टिनमा पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताए  ।

रुकुमपूर्व  कोरोना सङ्क्रमणमुक्त

रुकुमपूर्व– स्वाब संकलन गरिएका ८२ जनाकै रिपोर्ट नेगेटिभ आएपछि (रुकुमपूर्व)  कोरोना सङ्क्रमणमुक्त भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा सबैको पिसिआर रिपोर्ट आज नेगेटिभ आएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवप्रसाद शर्माले जानकारी दिए । 

दाङमा कोरोना संक्रमण तीव्र

घोराही– दाङमा आज थप ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  राप्ती  प्रतिष्ठामा गरिएको परीक्षणमा यहाँका ४६ पुरुष र १० महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जनाइएको छ । 

आज पुुष्टि भएको सङ्ख्या अहिलेसम्मकै धेरै हो । यससँगै जिल्लाभर २४३ जनामा सङ्क्रमण भएको छ ।  प्रतिष्ठानका अनुसार प्रतिष्ठानको कोरोना प्रयोगशालामा अझै चार हजार आठ सय जनाको स्वाब परीक्षण गर्न बाँकी छ ।  कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापनमा खटिएका थप ६ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यस्तै दाङमा जनप्रतिनिधि, क्वारेन्टिनमा खटिएका भान्छे र  स्वयंसेवकमा पनि कोरोना पोजेटिभ देखिएको छ । 

प्युठानमा थप २० मा कोरोना 
झिमरुक– प्युठानमा आज थप २०  व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा १९ पुरुष र एक  महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी पुष्कल श्रेष्ठले बताए ।  सङ्क्रमितलाई स्थानीय तहले निर्माण गरेको आइसोलेशन केन्द्रमा राखिने जनाइएको छ । जिल्लामा कोरोना सङ्क्रमित ५५ जना पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप