सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युएईबाट एक सय ५१ नेपाली लिएर नेपाल उड्यो हिमालय जहाज

आइतबार, ०७ असार २०७७, ०६ : ३०
आइतबार, ०७ असार २०७७

युएई – कोरोनाभाइरसको महामारीका कारण युएईमा समस्यामा परेका एक सय ५१ जना नेपाली आज नेपाल फर्किएका छन्।

हिमालय एयरलाइन्सको उडान नम्बर एच–९ (५६७२) मार्फत युएईको आबुधावीबाट स्थानीय समय अनुसार बिहान ४ः२० बजे एक सय ५१ जना स्वदेश फर्किएका हुन्। फर्कनेहरुमा २५ महिला र १ सय २६ पुरुष रहेका छन्। 

आज फर्कनेहरुमा धेरै संख्यामा दूतावासको प्राथमिकतामा परेकाहरु छन्। उनीहरु रोजगारदाताले दिएको टिकट र कोही आफ्नै खर्चमा नेपाल सरकारले तोकेको ३ सय ८५ अमेरिकी डलर अर्थात् झण्डै ४६ हजार रुयैयाँको टिकट काटेर नेपाल फर्किएका हुन्।

उनीहरुलाई आबुधावी विमानस्थलमा नै निःशुल्क कोभिड–१९ परीक्षण गरिएको थियो। जसमध्ये तीन जना यात्रुलाई कोरोना पोजेटिभ देखिएकोले उनीहरु नेपाल फर्कन पाएनन्।

उनीहरुलाई बिमानस्थलबाट नै होम क्वारेन्टाइनमा पठाइएको नेपाली दूतावास आबुधावी श्रम सहचारी मोतिराम भुसालले रातोपाटीलाई बताए।

उनीहरुको सहजिकरण र बिदाइको लागि नेपाली दूतावासका आबुधावीका श्रम सहचारी मोतिराम भुसाल,श्रम काउन्सिलर निर्मला थापा जनसंपर्क अधिकृत इरफान आलम र सहदेव गिरी विमानस्थल पुगेका थिए।साथै जनसम्पर्क समिति यूएईका सल्लाहकार एवं आबुधावी राहत टिमका संयोजक कृष्ण गौतम पनि विमानस्थल पुगेका थिए। 

आजै यूएईबाट नेपाल एयरलाइन्स र फ्लाई दुवईको उडान हुने छन्। समय तालिका परिवर्तन नभए फ्लाई दुबई स्थानिय समय अनुसार बिहान ८ः०० बजे र नेपाल एयरलाइन्सको ११ः१० बजे दुबई बिमानस्थलबाट उडान हुने तालिका रहेको छ।

हिजो एयर अरेबियाको जि ९–१७५१ मार्फत युएईको शारहजाबाट १ शिशुसहित २६ महिला र १ सय ४२ पुरुष जना स्वदेश फर्किएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप