सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नाट्यकर्मीको संरक्षण गर्न नाट्य संस्थाहरुद्वारा नाट्य प्रज्ञा प्रतिष्ठानलाई आग्रह

शुक्रबार, १२ असार २०७७, १३ : १०
शुक्रबार, १२ असार २०७७

काठमाडौं । कोभिड १९को कारण कला साहित्यको क्षेत्र मध्य रङ्गमञ्च सबैभन्दा बढी प्रभावित भएको छ । यस सन्दर्भमा विभिन्न मागसहित नेपालका सक्रिय नाट्य संस्थाहरुको एक समूहले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । 

नेपाली रङ्गमञ्च सदैव अभिभावकत्वविहीन अवस्थाबाट गुज्रिरहेको सन्दर्भ केलाउँदै प्रतिष्ठानलाई अभिभावकत्व ग्रहण गर्न आग्रह र ९ बुँदे मागसहित संयुक्त ध्यानाकर्षण पत्र उपकुलपति हरिहर शर्मा समक्ष बुझाएको हो । 

ध्यानाकर्षण पत्रमा कोरोना महामारीको समयमा स्वतन्त्र नाट्य संस्थाहरुले नेपाली रङ्गमञ्चको प्राप्ति जोगाउन अनेकन प्रयास गरेको जानकारी दिँदै सरकारको कानुनी रुपमै गठन हुने नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले भने वेवास्ता गरेको गुनासो गरिएको छ ।

वर्तमान समयमा रङ्गकर्मीहरु संकटबाट गुज्रिरहेकोले पलायन हुने अवस्थामा समेत पुगेको भन्दै यसतर्फ सचेत रहन प्रतिष्ठानलाई रङ्गकर्मीहरुले आग्रह गरेका छन् । 

नेपालभरका ५० भन्दा बढी सक्रिय नाट्य संस्थाको संयुक्त ध्यानाकर्षण पत्रमा तत्काल राहतमुखी र सिर्जनात्मक कार्यक्रमको पहल गर्न, देशभरको रङ्गकर्मीहरुको तथ्यांक राख्न, स्वतन्त्र रङ्गकर्मीको पक्षमा नीति तथा कार्यक्रम ल्याउन, बजेटमा स्वतन्त्र रङ्कर्म प्रति सम्बोधन गर्न पहल गर्न, स्थानीय तहसम्म रङ्गमञ्चको स्पष्ट भूमिका कायम राख्न माग गरिएको छ । 

ध्यानाकर्षण पत्र ग्रहण गर्दै उपकुलपति हरिहर शर्माले आफ्नो समयदेखि नै नेपाली रङ्गमञ्चले यस्ता विविध समस्या भोग्दै आएपनि अहिलेसम्म समस्या समाधान र सम्बोधन हुन नसकेको बताए । 

उनले यो महामारीबाट रङ्गकर्मीहरु निकै प्रभावित भएको भन्दै यसको समाधानको उपाय खोजी भइरहेको जनाए । 

ध्यानाकर्षण पत्र बुझाउन थिएटर हवको संयोजनमा देशभरका सक्रिय नाट्य संस्थाहरुको सहभागिता र समर्थनमा काठमाडौंमा रहेका नाटकघरसहितको नाट्य संस्थाका प्रतिनिधि तथा स्वतन्त्र रङ्गकर्मीहरु बिहीबार प्रतिष्ठान पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप