सहमति विपरित चीनले सेना परिचालन गरेको भारतको आरोप
एजेन्सी । चीनले दुईपक्षीय सहमति विपरित विवादास्पद सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक र हतियार पठाएको आरोप भारतले लगाएको छ । चीनले तनाव बढाउँदै अघिल्लो साता भिडन्त निम्त्याएको आरोप भारतीय विदेश मन्त्रालयले लगाएको हो ।
‘मुख्य कुरा कुरा यही हो कि मेइको सुरुवातदेखि नै चिनियाँ पक्षले सीमा क्षेत्रमा ठूलो संख्या सैनिक र हतियार पठाएको छ,’ विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहीबार नयाँ दिल्लीमा आयोजित प्रेस ब्रिफिङमा सीमा क्षेत्रमा देखिएको दुई एशियाली आणविक देशबीचको विवादबारे भने ।
‘यो हामी बीचका विभिन्न दुईपक्षीय सहमति अनुसार होइन’ सीमाक्षेत्रमा सीमित सैनिक राख्नेगरी भएको १९९३ को दुईपक्षीय सन्धिलगायत सम्झौतातर्फ संकेत गर्दै श्रीवास्तवले भने । भारतले त्यसको प्रतिरोधका लागि सैनिक पठाउनुपरेको उनले बताए । भारतले पनि यहाँ चीन जसरी नै सैनिक संख्या बढाएको थियो ।
चीनले यस भिडन्तका लागि भारतलाई दोष दिएको छ, भारतीय सैनिकले चिनियाँ अधिकारी र सैनिकमाथि आक्रमण गरेको उसको दाबी थियो । दुई आणविक देशबीच पछिल्लो ५ दशकमा निम्तिएको यो सबैभन्दा ठूलो भिडन्त थियो ।
गत महिना चीनले देखाएको उपस्थितीको प्रतिक्रिया दिनका लागि भारतले पनि सीमा क्षेत्रमा ठूलो संख्यामा सैनिक पठाएको श्रीवास्तवले बताए । यही कारण पश्चिम हिमालयतर्फ लद्दाख क्षेत्रमा दुई सेना आमने–सामने भएका थिए ।
जुन १५ मा भारतीय र चिनियाँ सैनिकबीच घण्टौंसम्म गलवान उपत्यकामा भिडन्त हुँदा ढुंगा र काडेँ तारसहितको लाठी प्रहार भएको थियो । यसक्रममा २० भारतीय सैनिक मारिएका थिए र कम्तिमा ७६ जना घाइते भए । चीनले आफ्ना कति सैनिक मारिए भने खुलाएको छैन ।
उच्च क्षेत्रमा भएको यस युद्धबारे दुई छिमेकीले एकअर्कालाई दोष लगाउँदै आएका छन् । दुई देशका वरिष्ठ सैनिक कमाण्डरबीच यसै साता वार्ता भएपछि दुबै पक्षले विवादित क्षेत्रमा आफ्ना सेनालाई अलग–अलग राख्ने सहमति गरेका छन् । तर, रोयटर्स न्युज एजेन्सीले रिभ्यु गरेको सेटेलाईट तस्विरअनुसार चीनले गलवान उपत्यकामा भिडन्त निम्तिएको क्षेत्र नजिक नयाँ संरचना खडा गरिरहेको छ, यो आफ्नो सीमा क्षेत्रतर्फ पर्ने भारतको दाबी छ । यसमा गोप्य टेन्ट वा ढाकिएका संरचना र सम्भावित पर्खाल र बेरिकेड्ससहितका नयाँ क्याम्प समावेश छन् ।
‘हाम्रो दुई पक्षीय सम्बन्धको आधार सीमा क्षेत्रमा शान्ति हो’ तनाव घटाउने चिनियाँ प्रतिवद्धता कायम गर्न माग गर्दै श्रीवास्तवले भने– ‘अहिलेको अवस्थाको निरन्तरताले वातावरणलाई बिगार्छ मात्रै ।’