सिन्धुलीमा पनि देखियो सलह किरा
सिन्धुली । भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ । सिन्धुलीका विभिन्न स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २, ८ बाघमारा र १० को भडारमा सलहजस्तै किरा देखिएको कार्यालयले जनाएको हो ।
कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्याएको जानकारी दिए । जुनार सुपरजोन सिन्धुलीका प्रमुख देवराज अधिकारीले नेपालमा सहल प्रवेश गरेको औपचारिक जानकारी कृषि मन्त्रालयले नदिए पनि प्रभावित जिल्लाका विज्ञ एवं प्राविधिकसँग भिडियो छलफल गरिरहेको जानकारी दिए ।
उनले तराईसँगै सीमा जोडिएको सिन्धुलीसमेत सलहको खतरामा रहेको बताए । किराको नमूना हेर्दा सलह नै रहेको अनुमान गर्दै सो विषयमा प्राविधिकहरुसँगको छलफलपछि यथार्थ सार्वजनिक गरिने विज्ञ अधिकारीले बताए ।