बैतडीमा ट्रक दुर्घटना: सहचालकको मृत्यु
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ एक जना गम्भीर घाइते भएका छन । जिल्लाको पाटन नगरपालिका वडा नं ८ को धारिमा दाङगबाट बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरको ट्रक दुर्घटना हुँदा डोटीको जोरायल गाउँपालिका २ बुडरका २० वर्षीय सहचालक भुवन सुब्बाको मृत्यु भएको छ ।
यस्तै, कैलालीको गोदावरी नगरपालिका ६ मलाखेतीका ट्रक धनीसमेत रहेका चालक ३३ वर्षीय लवकुमार तामाङ गम्भीर घाइते भएको खोडपे प्रहरी चौकीका इन्चार्ज चन्द्रराज गिरीले जानकारी दिए । उनकाअनुसार मृतकको पोष्टपार्टमका लागि पाटन प्राथमिक स्वास्थ्य केद्र लगिएको र घाइते तामाङलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाएको छ ।
घाइतेको टाउकोमा गम्भीर चोट रहेको जनाइएको छ । दाङगबाट सिमेन्ट बोकेर बझाङ गइरहेको ना ६ ख ४४ ५० नम्बरकोे मालबाहक ट्रक शनिबार साँझ ५ बजे दुर्घटनामा परेका हो । ट्रक सडक बाट करिब ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।