सलहको जोखिम घटाउनको लागि लमजुङ र कैलालीमा थालियो यस्तो तयारी
लमजुङ – सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो ।
स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ मदन रेग्मीलगायतका टोली अनुसन्धानका लागि पुगेको छ ।
कृषि ज्ञान केन्द्र लमजुङका प्रमुख घिमिरेले भने, “सलह किराजस्तै देखिएको छ तर ठूलो समूहमा यो किरा आएको छैन, सलह किराको एउटा प्रजाति भएको देखिन्छ यहाँ जम्मा १०÷१२ वटा मात्र फेला परेको छ ।” उनका अनुसार सलह किरा भएको आशङ्का भए पनि पुष्टि भइसकेको छैन ।
कैलाली – कृषि विज्ञले पश्चिम नेपालमा सलह किराको यात्रा हुनसक्ने पूर्वअनुमान गरेपछि धनगढी उपमहानगरपालिकाले आइतबार यहाँ १९ वटै वडाका वडाध्यक्ष र कृषि शाखाका कर्मचारीसँग छलफल गरेको छ । सलह किराको व्यवस्थापनको पूर्वतयारीका लागि स्थानीयस्तरमा कसरी क्षति घटाउन सकिन्छ भनेर छलफल गरिएको बताइएको छ ।
सलह किराको सम्भाव्य जोखिम र त्यसको व्यवस्थापनका बारेमा छलफल गरिएको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए ।
“जोखिम घटाउनका लागि स्थानीयस्तरमा सबै उपाय अपनाउन वडाध्यक्ष र कृषि प्राविधिकलाई निर्देशन दिएको छु”, नगरप्रमुख वडले भने, “क्षति घटाउनका लागि थाल ठटाउने, ड्रम बजाउने, स्पीकर बजाउने, धुँवा लगाउने, आगो बाल्नेलगायत सबै प्राकृतिक विधि अपनाउन किसानलाई आग्रह गरेका छौँ ।”