रुसलाई उछिन्दै संसारको तेस्रो सर्वाधिक संक्रमित देश बन्यो भारत
भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ । रुसमा १० दिनभित्र ६७ हजार ६ सय ३४ संक्रमित भेटिए भने भारतमा २ लाख ९ सय १९ बिरामी भेटिएका छन् ।
भारतमा ६.९५ लाख संक्रमित हुन १ सय ५८ दिन लाग्यो । भारतमा दैनिक औसतमा २२ हजार बढी नयाँ संक्रमित भेटिएका छन् । यहाँ जूनमा ३ लाख ८७ हजार ४ सय २५ संक्रमित भेटिए । यहाँ २१ जूनपछि हरेक दिन १५ हजार बढी संक्रमित भेटिएका छन् ।
रुसमा सबैभन्दा धेरै संक्रमित मेमा भेटिएः
रुसमा सबैभन्दा धेरै संक्रमित मे मा भेटिए । यो महिना यहाँ सबैभन्दा धेरै २ लाख ९१ हजार ४ सय १२ संक्रमित पुष्टि भयो । यहाँ ११ मे सबैभन्दा धेरै ११ हजार ६ सय ५६ संक्रमित भेटिएका थिए ।