गण्डकीमा १७ नयाँ संक्रमित थपिए, कूल संक्रमित संख्या ११ सय नाघ्यो
पोखरा । गण्डकीमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १७ नयाँ संक्रमित थपिएसँगै प्रदेशको कुल संक्रमित संख्या ११ सय १३ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीकाअनुसार पोखरा महानगरपालिकाका ५१ वर्षिय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ ।
लमजुङमा भेटिएका संक्रमितमध्ये राइनासका एक पुरुष, बेँशीसहरका ३ पुरुष, सुन्दरबजारका ३ पुरुष, क्होलासोथरका २, दोर्दी र मध्यनेपालका एक–एक जना पुरुष संक्रमित गरि ११ संक्रमित रहेका छन् । यस्तै, बागलुङको ढोरपाटनमा एक महिला र बडीगाड, काठेखोलामा दुई, दुई पुरुष गरि ५ जना संक्रमित रहेका छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले अस्पतालको आइसोलेसन वार्डमा उपचाररत १३ जना संक्रमित निको भएर घर फर्केको जानकारी दिएका छन् । १३ मध्ये एक जना स्याङ्जाका बृद्ध रहेका छन् भने बाँकी १२ जना कास्कीकै हुन् । पछिल्लो अपडेटअनुसार गण्डकीमा निको भएर घर फर्किनको संख्या २ सय ७१ पुगेको छ भने ४ जनाले ज्यान गुमाएका छन् ।