चिनियाँ राष्ट्रपतिका आलोचक प्राध्यापक झंगरुन पक्राउ
मङ्गलबार, २३ असार २०७७, ०९ : ४३
चीनको राजधानी बेइजिङमा प्रहरीले सोमबार राष्ट्रपति शी जिनपिङका कडा आलोचक जू झंगरुनलाई उनको घरबाट पक्राउ गरेको छ । जू शिघुवा युनिभिर्सिटीमा कानूनका प्राध्यापक हुन् । उनका साथी गेंग जियोओनानले गत महिना जूको एउटा किताब न्यूयोर्कमा प्रकाशित भएको जानकारी दिए । यसमा जिनपिङ र उनको कम्युनिष्ट पार्टीको शासनको तिखो आलोचना गरिएको छ ।
किताबमा १० राजनीतिक निबन्ध छन् । यसै किताबका कारण जूलाई पक्राउ गरिएको हो । यसअघि स्थानीय मिडियामा जूलाई घरमा नजरबन्द गरिएको समाचार प्रकाशित भएको थियो । जूले आफ्नो एक निबन्धमा चीनमा जिनपिङको ‘वन म्यान सत्ता’ का कारण कोरोना बढेको आरोप लगाएका थिए ।
अर्को एक निबन्धमा चीन माओत्से तुङको अधिनायकवादी शासनतर्फ उन्मुख भएको उनले आरोप लगाएका छन् ।