सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा ९२ हजार ४०० रुपैयाँ पुग्यो
बिहीबार, २५ असार २०७७, ११ : ०१
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य हालसम्मकै सर्वाधिक ९२ हजार ४०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ ।
अघिल्लो दिन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ९ सयले बढेर ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो । यसअघि सुनको मूल्य ९१ हजार ७०० रुपैयाँसम्म पुगेर घटबढ हुँदै आएको थियो ।
यस्तै तेजावी सुन ९१ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बुधबार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर ९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।