जग्गा व्यवसायीलाई धम्क्याएर पैसा उठाएको आरोपमा ९ जना पक्राउ
शुक्रबार, २६ असार २०७७, १६ : ११
काठमाडौं । जग्गा व्यावसायीलाई धम्की दिएर पैसा असुल गरेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महानगरीय अपराध महाशाखाबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गौरिघाट, गौशला र पुरानो बानेश्वरबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा आफ्लाई ज्योतिष भन्ने अर्जुनकुमार थापा क्षेत्री, विजय रावल, जगदिश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल रहेका छन् ।
उनीहरुले काठमाडौंको बुढानिलकण्ठ बस्ने जग्गा व्यवसायीसँग जग्गाको विषयमा अख्तियारमा उजुरी परेको र अनुसन्धान प्रक्रिया रोक्ने भन्दै पैसा असुली गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान गर्न महानगरीय अपराध महाशाखा टेकु पठाइएको प्रहरीले जनाएको छ ।