टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने कर्मचारी पक्राउ
काठमाडौं । नेपाल टेलिकमको सिस्टम ह्याक गरेर इन्टरनेट चलाउने एकजना सरकारी कर्मचारीलाई प्रहरीले पक्रेको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका कम्प्युटर अपरेटर दिवाकर देउजालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रवक्ता बेलबहादुर पाण्डेले जानकारी दिए ।
नेपाल टेलिकमको एपमार्फत ‘हिटन ट्रायल’ बिधिबाट देउजाले इन्टरेनटको कोड चोरेर आफू र आफ्ना साथीभाइलाई बाँडेको अनुसन्धानबाट खुलेको छ ।
धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २८ वर्षीय देउजालाई ‘विद्युतीय कारोबार ऐन’ विरुद्धको कसुरमा कारवाहीका लागि साइबर व्यूरोमा पठाइएको पाण्डेले बताए ।
पाँच महिनाअघि विवाह गरेका देउजाले आफूले सामान्य प्रयास गर्दा प्राप्त ‘बिजी कोड’बाट इन्टरनेट चलाएको भन्दै ‘ठुलो अपराध नगरेको’ दावी गरेका छन् । करिब डेढ महिनाको अवधिमा उनले २५ हजारको इन्टरनेट चोरी गरेको खुलेको छ ।
देउजाले टेलिकमको एपमा भएको कमजोरीमा टेकेर डाटा चोरी गरेका थिए । एपमा छिरेपछि प्याकेज एप्लाई गर्ने र प्राप्त बिजीकोड इन्ट्री नगरेर अर्को कोड हानेर डाटा चोर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
‘ब्रुट फोर्स’ बाट नयाँ बोड हानेर डाटा चोर्ने गरेको अनुसन्धानबाट थाहा भएको पाण्डेले बताए ।