कोरोनाको असरः साउनमा छैन हरियो चुरा र पोतेको रमझम (फोटोफिचर)
साउन महिना लागेसँगै असनको चुरा र पोतेको बजारमा छुटै रौनक हुन्थ्यो । हरियो चुरा र पोते किन्ने महिलाहरुले पसल भिडभाड हुन्थ्यो, पसलेहरुलाई भ्याइनभ्याइ हुन्थ्यो ।
साउन लागेसँगै हरियो नेपाली नारीहरुले चुरापोते लागाएर आफूलाई सजाउँछन् । त्यही भएर यो महिना हरियो चुरा, मेहेन्दी, हरिया वस्त्रको धेरै विक्री हुन्छ। ज्योतिषीहरुका अनुसार हरियो सौभाग्यको रंग मानिन्छ। साउनमा प्रकृति नै हरियाली हुन्छ। प्रकृति आफैँ पनि हरियो रंगले सिंगारिएको हुन्छ। साउनलाई मानिसले प्रकृतिसँग जोडिने महिनाकारुपमा पनि लिन्छन्। नेपाली समाजमा प्रकृतिको साथ रहेमा आफ्नो भाग्यमा पनि राम्रो प्रभाव पर्ने विश्वास गरिन्छ। नेपालीले प्रकृतिलाई ईश्वरका रुपमा पूजासमेत गर्छन्। हरियो चुरा र साडीमा सजिएर महिलाले साउनभर प्रकृतिको पूजा गरिरहेका हुन्छन्। यसले महिलामा नयाँ ऊर्जा दिने र श्रीमानको आयु बढ्ने विश्वास पनि गरिन्छ। साउनमा हरियो पोशाकमा सजिँदा भगवान शिव प्रसन्न हुने धार्मिक उक्ति छ।
तर, कोरोनाभाइरसको महामारीका कारण यो वर्ष साउन महिनाको स्वरुप नै फेरिएको छ । यसअघि, भिडभाड हुने असन र इन्द्रचोकका पसलहरुमा फाट्टफुट्ट पनि ग्राहकहरु देखिन्छन् । व्यापारीहरु भन्छन्, ‘पहिलाको भन्दा धेरै नै कम व्यापार छ। मानिसहरु फाट्टफुट्ट मात्र आउने गर्दछन्। यसपालि कोरोनाले गर्दा अप्ठेरो भएको छ।’