मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

‘हिट बन्न’ मन्त्रीलाई क्रस गरेर राज्यमन्त्री बजार अनुगमनमा, हात लाग्यो शून्य

उपभोग्य बस्तुको अनुगमन छाडेर सटुक्क सुजुकीमा
आइतबार, २५ भदौ २०७४, १८ : ४७
आइतबार, २५ भदौ २०७४

उपभोग्य बस्तुको अनुगमन छाडेर सटुक्क सुजुकीमा 

काठमाडौं– केही दिनयता आपूर्तिमन्त्री शिवकुमार मण्डल दैनिक उपभोग्य वस्तुमा कालोबजारी रोक्न भन्दै बजार अनुगमनमा निस्किएका थिए । खाद्य संस्थानबाट शुरु भएको मन्त्री मण्डलको अनुगमन दरबारमार्ग छिरेपछि ब्यापारीमा खैलाबैला नै मच्चियो । दरबारमार्गका ब्यापारीले २० प्रतिशत मात्रै मुनाफा लिनुपर्ने कुरा अस्वीकार गर्दै बजार बन्द गरेर असहिष्णु देखाइरहेका छन् । जसले गर्दा आपूर्तिमन्त्री मण्डलको साख अझै बढेको छ । 

त्यहीबीचमा २ नम्बर प्रदेशको निर्वाचनको सन्दर्भमा मन्त्री मण्डल मधेस झरेकाबेला आपूर्ति राज्यमन्त्री कर्णबहादुर विक आइतबार बजार अनुगमनमा निस्किएर ‘हिट बन्न’ खोजे । तर उनको निसाना भने आफ्नो मातहतको क्षेत्रमा नभई एक निजी सवारी साधनको सर्भिस सेन्टरतिर पर्यो ।  

दलबलसहित सुटुक्क सुजुकीमा 

आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गका पसलमा छापा मारेर चर्चा कमाएपछि मन्त्रीको सिको गर्दै राज्यमन्त्री बिकले आइतबार ललितपुरको झम्सिखेलमा रहेको सुजुकी सर्भिस सेन्टरमा दलबलसहित छापा मारे । तर मन्त्री विकले सुजुकीले गरेको कमजोरी फेला पार्न सकेनन् । 

दिउँसो ४ बजे मन्त्रालयबाट सरकारी तथा निजी संचारमाध्यमका पत्रकारहरुको टोली, मन्त्रालय र मातहतका कर्मचारीहरुको टोलीसहित राज्यमन्त्री विक नेपालको घरानिया व्यवसायी चौधरी ग्रुपले सञ्चालन गरेको सुजुकी सर्भिस सेन्टरका छापा मार्न पुगेका थिए । मन्त्रीलाई सुजुकी सर्भिस सेन्टरका प्रवन्ध निर्देशक करण चौधरीले सर्भिस सेन्टर घुमाएका थिए । 

झन्डै आधा घन्टा सर्भिस सेन्टरको अवलोकन गरेपछि राज्यमन्त्री विकले कम्पनीको प्रज्ञापन पत्र, एक वर्षभरी खरिद बिक्री गरेको सामानको बिल, खरिद खाता तथा बिक्री खाता, कम्पनीले राखेको मार्जिन लगायतको विवरण बुझाउन निर्देशन दिए । 

कम्पनीले भने सुजुकी अन्र्तगतका सवारी साधनको पार्टपूर्जा खरिदमा अधिकतम २५ प्रतिशत मार्जिन राख्ने र उपत्यका बाहिरका डिलरलाई २० प्रतिशत मार्जिनमा बिक्री गर्नुपर्ने हुँदा कम्पनीले बढीमा ५ प्रतिशत मार्जिन मात्र राख्ने गरेको प्रवन्धक चौधरीले बताए । 

मन्त्रिको प्रतिक्रियाः विस्तारै खुल्छ 

अनुगमनपछि राज्यमन्त्री विकले आफ्नो निसाना गलत ठाउँमा परेको नबुझ्ने कुरै भएन । यद्यपी उनले अनुगमनकाबेला एकैचोटी सबै कुरा नआए पनि बिस्तारै आउने प्रतिक्रिया सञ्चारकर्मीहरुलाई दिए ।

सुजुकी सर्भिस सेन्टरमा सवारी साधन मर्मतका लागि आएका सर्वसाधारण भने आपूर्ति मन्त्रीले बजारमा खाद्यवस्तु र लत्ताकपडा बजारमा छापा मार्न छाडे गाडीका पाटपुर्जा बेच्ने कम्पनीमा छिरेको अचम्मित भए । 

मन्त्रालय भित्रै विवाद !

राज्यमन्त्री विकको अनौठौ प्रकारको अनुगमनले मन्त्रालय भित्रको अर्को गोप्य कुरा पनि बाहिर आएको छ । राज्यमन्त्री विकको अनुगमनबारे आपूर्तिमन्त्री मात्र होइन, सचिवालय पनि अनभिज्ञ रहे । राज्यमन्त्री विकले सचिवालयमा समेत खबरै नगरी कहाँ अनुगमन गर्न गएको पत्तै नभएको सचिवालयकै एक सदस्यले बताए । 

हेर्नुहोस भिडियो ः 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप