यसरी मनाइयो घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व (तस्बिरमा हेर्नुहोस्)
आइतबार घण्टाकर्ण अर्थात् गठामङ्गल पर्व आज राजधानीको भित्री शहरमा मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठामङ्गल अर्थात् घण्टाकर्ण पर्व सांस्कृतिक परम्परानुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले प्रत्येक वर्षको श्रावण कृष्ण चतुदर्शीका दिन मनाउने गर्छन् ।
परापूर्वकालदेखि मनाइँदै आएको यस पर्वमा गठामङ्गल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झनास्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने चलन छ ।
यसैगरी बिहानै स्नान, पूजापाठ गरी घरआँगन सफा गरिने, केटाकेटीले बाटामा डोरी टाँगेर पैसा माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ ।
गोपाल वंशावलीअनुसार गठामङ्गललाई सत्य, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ । यस्तो परम्परा अहिले पनि राजधानीको तीनै शहर काठमाडौँ, ललितपुर र भक्तपुरका भित्री भागमा छ ।