आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लार्पादेखि मितेरी पुलसम्मको अवरोध खुल्यो, तातोपानी नाका सुचारु हुन बढीमा ८ देखि १० दिन लाग्ने

सोमबार, ०५ साउन २०७७, १६ : ५३
सोमबार, ०५ साउन २०७७

काठमाडौं । गत असार २५ गतेदेखि बन्द रहेको तातोपानी नाका खुल्ने संकेत देखिएको छ । अविरल वर्षसँगै तातोपानी नाका क्षेत्रमा गएको बाढी पहिरोका कारण अवरोध आएको नाका इनपोर्ट तथा एक्सपोर्टकर्ता व्यवसायीहरुकै सक्रियतामा खोल्ने पहल भएको हो । 

व्यवसायीहरुले आजै तातोपानी नाका अन्तरगतको लार्पादेखि मितेरी पुलसम्मको बाटो खुलाएका छन् । यो चीनदेखि नेपालको सुख्खा बन्दरगहा(लार्पा–मितेरी पुल) सम्मको करिब ८ किलोमिटरको दुरी हो । अविरल वर्षाकै कारण अवरोध आएको सो क्षेत्रमा व्यवसायीहरुकै सक्रियतामा बाटो खुला गरिएको तातोपानी भन्सार कार्यालयका भन्सार प्रमुख लालबहादुर खत्रीले रातोपाटीलाई जानकारी दिए । 

गत असार २५ गते बन्द रहेको नाका खुलाउने पहल भइरहेको छ । सडक विभागको साथसाथै एक्सपोर्ट तथा इन्पोर्ट व्यवसायीहरुनै सडकको अवरोध हटाउने कार्यमा जुटिरहेका छन् ।’ भन्सार प्रमुख खत्रीले भने, ‘लार्पादेखि मितेरी पुलसम्मको बाटोको अवरोध त व्यवसायीहरुले नै हटाएका छन् । सम्भवत आजै बेलुकासम्म उता चीनतर्फ रोकिएका मालसामान तथा कन्टेनरहरु नेपाली पोर्टसम्म आइपुग्नेछन् ।’

खत्रीकाअनुसार यता नेपालतर्फको सडक अवरोध समेत हटाउने पहल भइरहेको छ । बाढी पहिरोका कारण विग्रिएको सडक मर्मत कार्य जारी रहेको छ । अबको ८–१० दिनमा नै उक्त सडकहरु मर्मत भइसक्ने र नाका सुचारु हुने उनको भनाई छ ।  तर, पहिरोका कारण नेपालतर्फ दुईवटा कन्टेर बाहेक चीनतर्फ र यता नेपाली मालबाहक कन्टेनरहरु नथुनिएको खत्रीले जानकारी दिए ।

अवरोधका कारण करिब १२ करोड नोक्सान 
बाढी पहिरोका कारण अरनिको राजमार्गको सडक खण्डमा अवरोध भई तातोपानी नाका बन्द हुँदा राजस्वमा करिब १२ करोडको नोक्सान हुन पुगेको भन्सारप्रमुख खत्रीको भनाई छ । सरदर दैनिक एक करोडको राजस्व संकलन गरिरहेको भन्सार कार्यालयले ११ दिनमा करिब १२ करोडको नोक्सान बेहोरेको उनको भनाई छ ।

यसअघि २०७२ बैशाख १२ गतेको महाभूकम्प पछि लामो समय बन्द पश्चात गत कार्तिकपछि मात्र सुचारु भएको तातोपानी नाकाबाट एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ राजश्व सङ्कलन भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप