प्रदेश नम्बर २ मा आएको बाढीमा २ को मृत्यु
जनकपुर । प्रदेश नम्बर २ को महोत्तरी र रौतहटमा नदीमा आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको हो ।
मंगलबार बिहान रातो नदीमा आएको बाढीले बगाउँदा महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष ४० का वीरेन्द्र कापडको मृत्यु भएको छ भने रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ बस्ने ५८ वर्षीय सुकुमान थिङको मृत्यु भएको छ ।
जनकपुर हुँदै संग्रामपुर स्थित घर जाने क्रममा साइकल लिएर खोला तर्न खोज्दा बिहान १० बजे उनलाई रातो खोलामा आएको बाढीले बगाएको थियो।
बाढीमा बेपत्ता भएका कापडको शव अपराहन्न ५ बजे महोत्तरीको बल्बा नगरपालिका वडा नम्बर ४ स्थित भगवतीपुर नजिक खोला किनारमा मृत अवस्थामा भेटिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । उनले खोजतलासको क्रममा बगाएको ठाउँबाट झण्डै १५ किलोमिटर दक्षिणमा कापडको शव भेटिएको हो।
त्यस्तै रौतहटको खहरे खोलाले बगाउँदा चन्द्रपुर नगरपालिका वडा नम्बर ३ का ५८ वर्षीय सुकुमान थिङलाई स्थानीय गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले बगाउँदा मृत्युु भएको थियो । उनको खोजतलासको क्रममा ३ घण्टापछि शव फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ।
स्थानीयले चाँदी नदीको पानीलाई सिंचाईको लागि खहरे प्रयोग गर्ने क्रममा खोलामा पानीको बहाव खोल्न जाँदा बाढीको बेगले उनलाई बगाएको थियो।