आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनको मूल्यमा नयाँ रेकर्ड

शुक्रबार, ०९ साउन २०७७, १४ : ५५
शुक्रबार, ०९ साउन २०७७

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा पहेँलो धातुको मूल्य निरन्तर उकालो लाग्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार डेढ महिनामा सुनको मूल्य झण्डै रु आठ हजार ४०० ले वृद्धि भएको छ । त्यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु २२५ ले वृद्धि भएको छ । 

बन्दाबन्दीकै अवधिमा गत जेठ २५ गते महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ८७ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८६ हजार ६९० तथा चाँदीको मूल्य प्रतितोला रु ९३५ तोकेको थियो । कोभिड–१९ को फैलावट रोक्न सरकारले गत चैत ११ देखि बन्दाबन्दीको घोषणा गरेपछि महासङ्घले सुनचाँदीको मूल्य निर्धारण गर्न बन्द गरेको थियो । बन्दाबन्दी केही खुकुलो भएसँगै गत जेठ २५ देखि महासङ्घले दैनिक मूल्य तोक्दै आएको छ । 

महासङ्घका अनुसार आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज छापावाल र तेजाबी सुन प्रतितोला रु एक हजार ३०० ले वृद्धि भएको छ । चाँदीको मूल्य भने सामान्य वृद्धि देखिएको छ । शुक्रबार चाँदीमा प्रतितोला रु ५ वृद्धि भएको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ८००, तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ३६५ र चाँदीको मूल्य प्रतितोला रु एक हजार १५० तोकेको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले बताए । अन्तर्राष्ट्रिय बजारमा पनि पहेँलो धातुको मूल्य निरन्तर उकालो लागिरहेको छ । विश्व बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ९०१ डलर पुगेको छ । अध्यक्ष सुनारले अन्य क्षेत्रको तुलनामा सुनप्रति लगानीकर्ताको आकर्षण देखिँदा पनि सुनको मूल्य बढेको बताए । 

दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोवार भने ठप्प भएको छ । ‘नेपाली बजारमा मुख्यत कोरोनाको असरका कारण कारोवार शून्य भएको हो’, उनले भने । तत्काल सुनको मूल्य घट्ने सङ्केत आफूले नपाएको उनले बताए । देशभरका सुनचाँदी व्यवसायीले सुनको कारोवार ठप्प भएको आफूलाई जानकारी गराएको उनले बताए । “अहिले सुन पसलले ‘बोहोनी’ पनि नभएको बताएका छन्”, अध्यक्ष सुनारले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप