सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

१, ५ र ७ नम्बर प्रदेशमा चुनावी महासंग्राम, २ नम्बर भने सुनसान

मङ्गलबार, ०६ असार २०७४, १५ : १७
मङ्गलबार, ०६ असार २०७४

काठमाडौँ – प्रदेश नम्बर १, ५ र ७ मा दोस्रोे चरणमा हुने स्थानीय निर्वाचनमा मत हाल्ने दिन आउन आठ दिनमा बाँकी रहँदा चुनाव प्रचार प्रसारको अभियानले तिब्रता पाएको छ । तीन प्रदेशमा बढेको चुनावी माहोलसँगै राजधानी काठमाडौका गतिविधिहरु फिक्का जस्तै हुन थालेका छन् । दोस्रो चरणमा हुने स्थानीय तहको चुनाव मिति नजिकिएसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता आ–आफ्ना जिल्ला, क्षेत्र र गाउँमा पुग्न थालेपछि दुरदराजका सर्वसाधारणहरु पनि आफ्नो प्रतिनिधि आफै छान्ने अभियानमा उत्साहका साथ सहभागि बनेका छन् । उम्मेदवारहरु मत माग्न र निर्वाचन आयोगका कर्मचारीहरु मतदाता शिक्षासम्बन्धी जानकारी दिन गाउँघरमा पुगेपछि चुनावको रौनकता ह्वात्तै बढेको मतदाताहरु बताउँछन् । 


दोस्रो चरणमा निर्वाचन हुने मुलुकका ३ सय ३४ स्थानीय तहमा निर्वाचनको प्रचारप्रसार निकै उत्साहपूर्ण ढङ्गबाट भइरहेको निार्वचन आयोगले जनाएको छ । राजपा र बिप्लव नेतृत्वको नेकपा बाहेक सवैजसो राजनीतिक दलले स्थानीय निर्वाचनलाई उत्सवका रुपमा लिदै चुनावी गतिविधि तीव्र पारेका हुन् । कतिपय स्थानमा अन्तरपार्टी चुनावी तालमेल समेत गरेका राजनीतिक दल र उम्मेदवारहरुलाई जितेपछि आफुले गर्ने काम र योजना जनतासमक्ष प्रस्तुत गर्न भ्याई नभ्याई देखिन्छ । 
उम्मेदवारी दर्ता भएसँगै राजनीतिक दलसम्बद्ध र स्वतन्त्र उम्मेदवारसमेत मतदातासमक्ष प्रत्यक्ष पुगेर र भेटेर चुनाव प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रममा व्यस्त बनेका छन्् । सामाजिक सञ्जालका भित्ताहरुमा समेत चुनाव प्रचारका सामाग्री र उम्मेदवारका फोटो र पोस्टरले भरिएका छन् । सामाजिक सञ्जालहरुमा आफ्ना पक्षका उम्मेदवारलाई जिताउन आह्वान गर्दै मत मागिएका छन् ।


दोस्रोे चरणमा १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा असार १४ गते बुधबार मतदात हुँदैछ । सधैँजसो राजधानी, पार्टी कार्यालय, नेताको घर र जिल्ला सदरमुकाममा घुमीरहने अधिकांश पार्टीका नेताहरु अहिले निर्वाचनको प्रचारप्रसारका लागि स्थानीय तहका वडा–वडामा पुगिसकेका छन् । आफ्ना पक्षका उम्मेदवाहरुलाई जिताउन सवैजसो दलका केन्द्रीय स्तरका नेताहरु नै भोट माग्न खटिएका छन् । 


सवै उम्मेदवारहरु पार्टीको झन्डा र उम्मेदवारको तस्बिर अङ्कित चुनावी पोस्टर सवारी साधनमा टाँगेर दलबलसहित बिहानदेखि रातिसम्मै प्रचारमा जुटेका छन् । 

कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र

दोस्रो चरणमा ३५ जिल्लाका ३३४ स्थानीय तहका जनताले आफ्ना प्रतिनिधि छान्दैछन् । जसमा १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुनेछन् । 

६४ लाख ३२ हजार मतदाता रहेको तीनवटै प्रदेशमा एक महानगरसहित ७ उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिकाका मतदाताले आफ्ना प्रतिनिधि छान्दैछन् । जसअन्र्तगत एकनम्बर प्रदेशमा एक महानगरपालिकासहित दुई उपमहानगर र ४६ वटा नगरपालिकाको निर्वाचन हुदैछ । 

त्यसैगरी ५ नंम्बर प्रदेशमा ४ उपमहानगरपालिकासहित ३२ वटा नगरपालिका र ७२ गाउँपालिका रहेका छन् भने ७ नम्बर प्रदेशमा १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकाका रहेका छन् । दोस्रो चरणको निर्वाचन सम्पन्न गर्न  आयोगले ६६ हजार नौ सय कर्मचारी खटाएको छ । यो निर्वाचनका लागि कुल ८ हजार ३ सय ६४ मतदान केन्द्र तोकिएको छ ।  

आयोगको खवरदारी जारी 

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता सुर्यप्रसाल शर्माले संयमता अपनाउदै सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग अपिल गरेको बताए । 


यस्तै आयोगले आगामी असार १४ गते हुने निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई सचेत गराएको छ । दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयनका क्रममा, बझाङ, कपिलबूस्तु, संखुवासभा लगायतका जिल्लामा भएका झडपपछि आयोगले यस्तो अपिल गरेको हो ।  

बदर मत घटाउन सक्दो पहल 

पहिलो चरणमा बैशाख ३१ मा प्रदेश नम्बर ३,४ र ६ मा भएको स्थानीय निर्वाचनमा पर्याप्त मतदाता शिक्षा अभावमा धेरै मत बदर भएका थिए । ग्रामिण भेगको तुलनामा शहर बजारका मत नै बदर भएपछि यसवारे निर्वाचन आयोग र राजनीतिक दलहरुप्रति प्रश्न समेत उठे । तर, दोस्रो चरणमा भने यो अवस्था नआउने निार्वचन आयोगको अनुमान छ । आयोगले पहिलाको पाठ सिक्दै सर्वसाधारणलाई मतदाता शिक्षा दिने काम भैरहेको जनाएको छ । निर्वाचन आयोगका सहसचिव नवराज ढकालका अनुसार चार किसिमबाट मतदातालाई मतदान गर्ने तरिकाबारे जानकारी गराउने काम भइरहेको छ । त्यसका लागि १८ मतदता शिक्षा कार्यकर्ता  निर्वाचन हुने जिल्लामा खटिएका छन् । उनिहरुले निर्वाचन हुने दिनसम्म सहि ढंगले मतदान गर्न तरिका सिकाइरहेका छन् । त्यसको अवला सञ्चारमाध्यमबाट स्थानीय र राष्ट्रिय भाषामा पनि निार्वचनबारे जानकारी गराइरहेको आयोगले जनाएको छ । यसका अलवा राजनीतिक दलहरुले समेत मतदाता शिक्षा प्रभावकारी बनाउन आआफ्नो स्थानबाट पहल गरिरहेको दावी गरेका छन् । 


२ नम्बर प्रदेशमा भने सुनसान 


१,५ र ७ मा चुनावको महासंग्राम चलिरहदा तराई मधेसमा भने चुनावको कुनै रौनक देखिदैन । पटक पटक सर्दे आएको स्थानीय निर्वाचन दुई नम्बर प्रदेशमा भने असोज २ मा पुगेपछि त्यस क्षेत्रमा चुनावी रौनक नदेखिनुका साथै मतदाताहरु निरास बनेका हुन् । दुई नम्बर प्रदेशका आठ जिल्लामा बैशाख ३१, जेठ ३१, असार नौ हुदै असोज २ मा पुगेपछि त्याहाँका मतदाता फेरी पनि निर्वाचन मिति सर्ने त होइन भन्दै निरास बनेका हुन् । सरकारले मधेस केन्द्रीत दल राजपालाई चुनावमा सहभागि बनाउने भन्दै २ नम्बर प्रदेशको निर्वाचन असोज २ गते गर्ने निर्णय गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप