आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जसपामा अर्को विवाद, महन्थ ठाकुर जसपाका अध्यक्ष हुन् कि तमलोपाको ?

आइतबार, ११ साउन २०७७, १६ : ०६
आइतबार, ११ साउन २०७७

काठमाडौं । जनता समाजजादी पार्टी (जसपा) नेपालमा नयाँ विवाद देखिएको छ । महन्थ ठाकुर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष हुन् कि तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) का भन्ने प्रश्न जसपाभित्र उठ्न थालेको हो । 

राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी मिलेर गठन भएको जसपा नेपालमा अन्य संगठन बीच समायोजनका लागि आन्तरिक छलफल भइरहेको छ । छलफलमा महन्थ ठाकुरले आफ्ना तत्कालीन तमलोपाका टीमलाई परिचालन गरेको भन्दै जसपामा समाहित तत्कालीन राजपा नेपाल वृत्तमा अन्तुष्टि देखिएको हो ।

दुई पार्टीबीच एकीकरणका लागि छलफल गर्ने जिम्मेवारी महन्थ ठाकुरलाई दिएको थियो । तर उनले आफ्नो जिम्मेवारीको दुरुपयोग गर्दै कार्यकारिणी समितिमा अधिकांश आफ्नै पूर्व तमलोपाका नेतालाई राखेपछि आलोचना भइरहेको थियो । अहिले पनि पदाधिकारी चयनमा पूर्व तमलोपाका नेताहरुलाई नै राख्न खोजिएको भन्दै तत्कालीन राजपा नेपालका नेताहरुले विरोध गरेका छन् ।

महन्थ ठाकुर राजपा नेपालको तर्फबाट जसपा नेपालका अध्यक्ष हुन् । समाजवादी पार्टीको तर्फबाट जसपा नेपालका अर्का अध्यक्ष रहेका उपेन्द्र यादवले महन्थ ठाकुरसँग पदाधिकारीको नाम मागेपछि उनले पूर्व तमलोपाका नेताहरुको नाम अघि सारेपछि तत्कालीन राजपा नेपालका अन्य नेताहरु झस्किएका छन् । 

तत्कालीन राजपा नेपाल अध्यक्षमण्डलका एकजना सदस्यले भने, ‘पदाधिकारी छनौटका लागि छलफल गर्न उपेन्द्र यादवले महन्थ ठाकुरसँग चारजना मान्छे माग्नु भएको थियो । त्यसमा अध्यक्षमण्डलकै चारजना पठाउनु पर्ने थियो तर उहाँले तत्कालीन तमलोपाका नेताहरु वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला र तत्कालीन सद्भावना पार्टीका लक्ष्मणलाल कर्णको नाम पठाउनुभयो ।’

पार्टी एकीकरणको जिम्मेवारी दिँदा महन्थ ठाकुरले आफ्ना मान्छेमात्र राखेका थिए । अहिले पनि पदाधिकारी चयनमा ठाकुरलाई जिम्मेवारी दिने हो भने सबै तमलोपाकै मान्छे राख्न बेर छैन भनेर महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवले विरोध गरेका छन् ।

जसपाको कार्यकारिणीमा राजेन्द्र महतो र महन्थ ठाकुरले नै सबैभन्दा बढी आफ्ना मान्छे राखेका छन् । र अहिले पनि उनीहरुले पार्टीमा छलफल नै नगरी उपेन्द्र यादवसँग गोप्य रुपमा छलफल गरिरहेको असन्तुष्ट नेताहरुको आरोप छ ।

पदाधिकारी चयनका लागि छलफल गर्न तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलको बैठकमा सहभागी हुन महन्थ ठाकुरले आफ्ना सहयोगी सत्येन्द्र मिश्रमार्फत सबैलाई जानकारी गराएका थिए । सिंहदरवारको संसदीय दलको कार्यालयमा राखिएको बैठकमा वृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पनि बोलाइएको थियो । अध्यक्षमण्डलको बैठक बोलाउने अनि त्यसमा अन्यलाई पनि सहभागी गराउने भन्दै महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवले बैठक नै बहिष्कार गरेका थिए ।

स्रोत भन्छ, ‘राजेन्द्र महतो र महन्थ ठाकुरले सिंहदरवारमा बैठकका लागि प्रतीक्षा गरिरहँदा उनीहरु एभरेष्ट होटलमा छुट्टै छलफल गरिरहेका थिए ।’ उनीहरुको बैठकले पदाधिकारीको छुट्टै लिस्ट बनाएर उपेन्द्र यादवलाई दिने निर्णय गरेको स्रोतको दावी छ । महन्थ ठाकुरले पदाधिकारीमा आफ्नै मान्छेको नाम पठाउने तयारी गरेको देखेर महेन्द्र राय यादवहरुले पनि छुट्टै लिस्ट पठाउने तयारी गरिरहेका छन् । त्यसका लागि उनीहरुले एकचरण उपेन्द्र यादवसँग छलफलसमेत गरिसकेको जनाइएको छ ।

तत्कालीन समाजवादी पार्टीका एक नेताले भने, ‘महन्थ ठाकुरको शैली उपेन्द्र यादवलाई पनि मन परेको छैन । महन्थ ठाकुरले राजपा नेपालभन्दा बढी पूर्व तमलोपाका नेताहरुलाई प्राथमिकता दिने गर्नुभएको छ । उपेन्द्र यादवसँग छलफल गर्दा जहिले पनि पूर्व तमलोपाका नेताहरुकै जिकिर गरेको पाइन्छ ।’

जसपाको कार्यकारिणीमा महन्थ ठाकुरले पूर्वतमलोपाकै नौजना मान्छे राखेकोमा उपेन्द्र यादवलाई पनि चित्त बुझेको थिएन । अहिले पनि पदाधिकारी चयनमा महन्थ ठाकुरबाट पूर्वतमलोपाकै चर्चा हुने गरेको उपेन्द्र यादव निकट एक नेताले बताए ।

राजकिशोर यादवहरुले कार्यकारिणी समितिमा महन्थ ठाकुरले पठाएका नाममा संशोधन हुनुपर्ने अडान लिएका छन् । ‘महन्थ ठाकुर जसपा नेपालमा राजपा नेपालको तर्फबाट अध्यक्ष भएका हुन्, तमलोपाबाट होइन’ भन्दै महेन्द्रराय यादवले ठाकुरको कार्यशैलीको विरोध गर्दै आएका छन् ।

बैठकमा महेन्द्र राय यादव, शरतसिंह भण्डारी, अनिलकुमार झा र राजकिशोर यादवहरु नगएपछि तत्कालीन राजपा नेपालको अध्यक्षमण्डलको बैठक स्थगित भएको छ । बैठक अब कहिले बस्छ भन्ने ठेगान छैन । कार्यकारिणी समितिमा अनिल झा र राजकिशोर यादव पक्षका एकजना पनि नेता नराखेपछि उनीहरुले त्यतिबेला पनि विरोध गर्नुका साथै राजपा नेपाल ब्युँत्याउने प्रयास पनि भएको थियो ।

उनीहरुले विरोध गरेपछि अनिल झा र राजकिशोर यादवका एकएकजना मान्छे कार्यकारिणी समितिमा राखिएका छन् । अहिले पदाधिकारी चयनमा महन्थ ठाकुरले जालझेल गर्न थालेपछि फेरि उनीहरु विरोधमा उत्रिएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप