सस्तो लोकप्रियताका लागि अन्ध राष्ट्रवाद
नेपाल–भारत बीचको सम्बन्ध विशिष्ट छ, रहनु पर्छ । यस प्रकारको सम्बन्ध विश्वका अन्य कुनै छिमेकी राष्ट्रबीच कम नै होला । चीनसँगको सम्बन्ध पनि अत्यन्त मित्रवत् रहँदै आएको छ, रहनुपर्छ । भौगोलिक दृष्टिकोणले दुवै हाम्रा नजिकका आत्मीय मित्र हुन् । यस मित्रतामा फाटो ल्याउने कुरामा कहिलेकाहीँ आफ्नो स्वार्थ पूरा गर्नका लागि नेपाललाई गोटी बनाउन खोज्छन् । त्यस्ता तत्त्वलाई समयमै पहिचान गरी सतर्क रहँदै कूटनीतिक रूपमा वार्ताको माध्यमद्वारा समाधान गर्न सक्नुपर्छ । त्यसमा नै सरकारको सफलता वा असफलता लुकेको हुन्छ । सामाजिक तथा आर्थिक हिसाबले दुई छिमेकीभन्दा हामी अत्यन्त कमजोर छौँ । हाम्रो सफलता भनेको नै दुवै राष्ट्रलाई मित्रवत् व्यवहार गर्दै एकअर्का विरुद्धमा प्रयोग नहुने र दुई देशबीच सन्तुलन कायम गर्न सक्नु नै हो ।
भारत र चीनबीचको सम्बन्ध जति सुमधुर हुन्छ त्यति नै नेपाल सुरक्षित रहन्छ र फाइदा बढी लिन सक्छ । भारतले नेपालबाट खोजेको प्रमुख सहयोग आतङ्ककारी गतिविधिका लागि नेपाल प्रयोग नहोस् र चीनको पश्चिमाहरुद्वारा एक चीन नीतिविरुद्घ नेपाल क्रीडा स्थाल नबनोस् । असंलग्न परराष्ट्र नीतिलाई आत्मसात् गरेको नेपाल कुनै राष्ट्रविरुद्ध जाने कल्पना नै गर्न सक्दैन । यसमा नै नेपाल र नेपालीको हित छ । हामीले राष्ट्रिय स्वार्थका लागि कहिले पनि छिमेकी राष्ट्रलाई प्रयोग गर्न सकेनौँ मात्र व्यक्तिगत बाहेक ।
पाकिस्तानका पूर्व सेना प्रमुख परवेज मुसरफ राष्ट्रपति हुँदा संयुक्त राज्य अमेरिका र अन्य विकसित राष्ट्रलाई आफ्नो राष्ट्रिय स्वार्थको लागि भरपुर प्रयोग गरेका थिए । पाकिस्तानभित्र र उसको छिमेकी राष्ट्र अफगानस्थानमा बढिरहेको आतङ्ककारी गतिविधि नियन्त्रणको नाममा आफ्नो राष्ट्रलाई लागेको अर्बौंअर्ब डलर ऋण मिनाह गराउनुको साथै अर्बौंअर्ब डलर सहयोग लिन सफल भए । जसले त्यस क्षेत्रमा आतङ्ककारी गतिविधि केही हदसम्म नियन्त्रण गर्न सफल भएको थियो । त्यसैगरी नेपालले पनि भारतको लागि सधैं टाउको दुखाइको विषय आतङ्ककारी गतिविधि भारतविरुद्ध हुँदैन भन्ने विश्वास दिलाउन सक्यो र चीनलाई चीन विरोधी गतिविधि नेपालबाट हुँदैन भन्ने विश्वास दिलाउन सक्यो भने ढुक्क भएर दुई देशको सहयोग एवं लगानी कसैले रोक्न सक्दैन मात्र राष्ट्र र राष्ट्रियतालाई केन्द्रविन्दुमा राखेर सोच्नु पर्यो ।
हाम्रा दुई छिमेकी राष्ट्रक आआफ्नै विशेषता छन् । सदिऔँदेखिका कुरा गर्ने हो भने– भन्ने गरिन्छ रोटी बेटिको सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध र खुला सिमानाका कारण कुनै पनि देशका नागरिक निर्वाध रूपमा अर्काे देशको हरेक कुनामा आवत जावत गर्ने सुविधाका कारण दुई देशबीचको सम्बन्ध कति आत्मीयता, विश्वासिला र दरिलो छ भन्ने कुरा प्रष्ट हुन्छ । वर्तमानमा आएर दुवै राष्ट्रले लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै बहुलवादी प्रजातन्त्रमा विश्वास गरेका कारण पनि सम्बन्ध दरिलो बन्न पुगेको छ ।
अर्काे महत्त्वपूर्ण पक्ष भाषा पनि हो । हिन्दुस्तानी भाषा एवं साहित्यको मूल ग्रन्थ संस्कृत हो भने नेपाली भाषाको पनि संस्कृत नै हो । यही कारण एक आपसमा सञ्चार एवं संवाद गर्न सरल हुने भएकाले नै घनिष्टता बढेको हो ।
त्यसैगरी उत्तरतर्फको छिमेकी राष्ट्र चीनसँग भौगोलिक कठिनाइ एवम् करिब पूरा भाग हिमशृङ्खलाले ढाकेका कारण पनि आवत जावतमा कठिनाइ एवम् यात्रा असहज हुँदाहुँदै र भाषा एवम् सञ्चार कठिनाइ हँुदा पनि दुई देश बीचको सम्बन्ध सदियौँदेखि वैवाहिक एवं सास्कृति सम्बन्ध विशिष्ट रहेको छ । यही कारणले पनि होला नेपाल र नेपालीको मनमा मनोवैज्ञानिक रूपमै भए पनि अत्यन्त सहयोगी मित्रताको जरा गाडेको अनुभित गरेका छन् आम नेपालीले ।
नेपाल र भारतबीचको सम्बन्ध चाहे इस्ट इन्डियन कम्पनीले भारतमा राज्य गरेको बेला होस वा अङ्ग्रेजले भारत छोडेर गएको बेला होस सम्बन्ध भौगोलिक अवस्थाका कारणले गर्दा दुवैथरीका बाध्यात्मक परिस्थितिका कारणले गर्दा कहिलै अत्यन्त राम्रो, कहिले सामान्य र कहिले नराम्रो हुँदाहुँदै पनि दुवै मिलेर बस्नुपर्ने बाध्यता छ ।
सन् १८१६ मा गरिएको सुगौली सन्धिले नेपालले विस्तार गरिसकेको एकतिहाई भूमि फिर्ता गर्नुपरेको थियो । सन्धिमा नेपालले जितेको भूमि फिर्ता गर्नुपर्ने, ब्रिटिस प्रतिनिधि काठमाडौँमा राखिने, गोर्खालाई ब्रिटिस आर्मीमा भर्ती गरिने र नेपालले युरोपियन तथा अमेरिकन कर्मचारीहरु राख्न नपाउने भयो । नेपालले गुमाउनुपरेको भूभागहरुमा काली नदीको पश्चिमी भाग, कुमाउ, वर्तमान उतराखण्ड, गढवल, सतलज नदीको पश्चिमतर्फको केही भाग, काँगडा वर्तमान हिमाञ्चल प्रदेश र तराई क्षेत्रका धेरै भाग छन् । जुन सन्धिमा हस्ताक्षर गर्नेहरुमा ब्रिटिस इस्ट इन्डियन कम्पनीको तर्फबाट लेफ्टिनेन्ट कर्णेल प्यारिस ब्रान्डस् थिए भने नेपालको तर्फबाट राजगुरु गजराज मिश्र र चन्द्रशेखर उपाध्याय थिए । त्यसैगरी दार्जलिङ पूर्वमा टिस्टा, दक्षिणमा नैनीताल र पश्चिममा नै बसाहरसम्म नेपालको भूमि भएको थियो । सन् १८१६ मा नै तराईका केही भाग नेपाललाई फर्काएको थियो भने सन् १८५७ मा इस्ट इन्डियन कम्पनीलाई भारतविरुद्ध सहयोग गरेबापत सन् १८६५ मा केही भूभाग नेपाललाई फर्काइयो जसमा अहिलेको बाँके, बार्दिया, कैलाली र कञ्चनपुर पर्छन् । सोही समयमा लखनाउ लुट हुँदा नेपाली सेनाले लुटेका खरखजाना समेत श्री ३ जङ्गबहादुर राणालाई बुझाएका थिए ।
त्यसैगरी राणा प्रधानमन्त्री मोहन शमशेरले आफ्नो शासन जोगाउनका खातिर सन् १९५० को असमान सन्धि गरे, जसका कारण नेपालले जहिले पनि अघोषित दासत्व भोग्नुपरेको छ । असमानको हकमा नेपालले हातहतियार मगाउनु पर्दा भारतसँग सल्लाह गरेर भन्नुको मतलव उसको स्वीकृतिमा मात्र ल्याउन पाउने भयो भने अर्काे नेपालभित्र कुनै पनि उद्योग वा व्यापारिक कुरा गर्दा अन्य विदेशीले कबोल गरेको रकम कलम बराबर रूपैयाँ भारत वा उसका जनताले कबोल गरे भने भारतीयलाई नै दिनुपर्छ । सन्धिमा एक पक्षले कुनै बँुदा परिवर्तन गर्न चाहेको खण्डमा एक वर्षको म्याद राखेर परिवर्तन गर्न पाइन्छ भने पनि भारत कहिल्यै तयार भएन ।
भारतको हेपाहा प्रवृत्तिका कारण अन्तर्राष्ट्रिय नियम कानुन तोडेर २०१९ सालमा ६ महिना, २०२७ मा ४ महिना, २०४५ देखि २०४६ असारसम्म र २०७२ मा ५ महिना नाकाबन्दी गरी स्वयम् भारतविरुद्ध नेपालीलाई विरोधी बनायो । हाल आएर एक तर्फी रूपमा सैनिक राखी काली नदी कब्जा गर्दै बाटो निर्माण गर्यो त्यसले त नेपालीको मन झन् दुःखाएको छ । हुन त भारतको कुनै छिमेकीप्रति राम्रो सम्बन्ध छैन तर पनि नेपालले धेरै कुरामा सहेर बसेकै हो । अझ पनि भारतको सुरक्षाप्रति नेपाल संवेदनशील नै छ, जुन कुरा भारतले बुझ्नुपर्ने हुन्छ । आफ्नो भूमिको नक्सा नेकपा र अन्य राजनीतिक दलको सहमतीमा सरकारले छाप्यो, यो अत्यन्तै प्रशंसनीय कार्य हो । सस्तो लोकप्रियताका लागि अन्ध राष्ट्रवादको कुरा गर्दै जसरी प्रधानमन्त्री हिँड्नु भएको छ त्यो कुरा मन्त्रलायको एउटा सामान्य कर्मचारीले पनि गर्न सुहाउँदैन, अझ देशको प्रधानमन्त्रीको त कुरै छोडौँ । अहिले राम जन्मभूमिको तथ्यहीन आधारमा बोल्दा विश्वभरीका हिन्दुहरुको भावनामा चोट पुर्याउनु त छँदैछ भारतसँगको धार्मिक एवं सांस्कृतिक सद्भाव समेत बिगार्ने काम गरे ।
सन् १९५५ अगस्ट १ बाट चीन नेपालबीच भएको दौत्य सम्बन्धबाट सुरु भएको मित्रता सन् १९६० अप्रिल २८ मा शान्ति तथा मैत्री सन्धि सन् १९६० मार्च २१ मा सीमा सन्धि हुँदै हालसम्म विभिन्न व्यापारसम्बन्धी सम्झौता र गत असोज २६ गते भएको चीनका राष्ट्रपतिको नेपाल भ्रमणमा २० वटा सहमति एवं सझौता भएका थिए । जसमा आर्थिक सहयोगका कुरादेखि केरुङ काठमाडौँ हुँदै पोखरा र लुम्बिनीसम्मको रेल मार्ग प्रमुख रहेका छन् । यसरी सरसर्ती हेर्दा नेपाल र चीन बीचको सम्बन्धमा कहिले तीत्तता आएको छैन ।