बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् वैदेशिक रोजगारीका क्रममा मृत्यु  वा अगंभंग भएका कामदारका आफन्तलाई सरकारले दिने सुविधा

मङ्गलबार, २७ भदौ २०७४, १३ : ५०
मङ्गलबार, २७ भदौ २०७४

काठमाडौं–वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अगंभंग भएका कामदारहरुका लागि श्रम तथा रोजगार मन्त्रालयले कामदार र तिनका परिवारलाई उपलब्ध गराउने सुविधाहरुबारे जानकारी गराएको छ । 

वैदेशिक रोजगार नियमावली संशोधन र वार्षिक कार्यक्रम अन्तर्गत रहेर आर्थिक सहायता तथा सुविधाहरु प्रदान गरिने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । 

वैदेशिक रोजगारका क्रममा मृत्यु भएमा मृतकको हकवालालाई रु. सात लाख प्रदान गरिनेछ । कामका क्रममा दुर्घटना वा गम्भीर विरामी परि अशक्त भएको अवस्थामा प्रकृति हेरेर रु सात लाखसम्म उपलब्ध गराउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । कामदारको परिवारका सदस्यलाई मुटु ,मृगौला, पार्किन्सन, अल्जाइम र क्यान्सर भएमा रु. ५० हजार आार्थिक सहायता प्रदान गरिने बोर्डले जनाएको छ । 

कामदारको हवाइ टिकट बेहोर्ने देखि कानुनी उपचारमा सहयोग गर्नेसम्म 
कामदार विरामी ,अंगभंग वा विशेष कारण नेपाल फिर्ता गर्नु परेमा हवाईटिकटको खर्च सरकारले बेहार्ने भएको छ । कामदारलाई फौजदारी अभियोग लागेमा कामदारको प्रतिरक्षामा सरकारले कानुनी लडाई लड्ने भएको छ । समस्या परेकाहरुलाई तत्कालको लागि खान र शेल्टरको व्यवस्था सरकारले गर्नेछ । शवलाई मृतकको घरसम्म सरकारले निशुल्क पु–याउने व्यवस्था गरेको छ ।  मृतक वा शारीरिक अशक्तका बालबालिकालाई १२ कक्षासम्म अध्ययन छात्रवृत्ति उपलब्ध गराउने जारी सुचनामा उल्लेख  गरिएको छ । 

कामदार परामर्शलाई प्रभावकारी गराउने 
समस्यामा परेका कामदारका आफन्तहरुलाई परामर्श उपलब्ध गराउनुको साथै जनचेतना अभिवृद्धि गर्ने बोर्डले जनाएको छ । जनचेतना अभिवृद्धि गर्ने क्रममा बोर्डले पहिलोपटक मैथली र भोजपुरी भाषामा प्रकाशन तथा प्रसारण गर्ने जानकारी गराएको छ । 

महिलाहरुका लागि अभिमुखि तालिमलाई निशुल्क गरिएको छ । अभिमुखिकरण तालिम पहिलोपटक उपत्यका बाहिर पनि संचालन गर्न लागिएको बोर्डले जनाएको छ । श्रम स्विकृतिले विकेन्द्रीकरण गर्ने क्रमलाई विस्तार गरि सातै प्रदशेमा पु–याइने बताइएको छ । 

उपत्यका वाहिर प्रदेश २ बाट श्रम स्विकृति शुरु गर्न लागिएको छ । रोजगारीका क्रममा प्रदेश नम्बर २ बाट बढि कामदार बाहिरीएको बताउदै बोर्डका सहायक निर्देशक तारा बहादुर कुवंरले जनकपुरमा श्रम कार्यालय संचालन गर्न लागिएको बताए ।  मृत्यु तथा  अंगभंग भई अशक्त भएकाहरुको परिवार सदस्यका लागि  सिटिइभिटीले उपलब्ध गराउने तिन र एक वर्षे प्राविधिक तालिमका लागि बोर्डले खर्च बेहोर्ने उनले स्पष्ट पारे । 

स्वदेशमा उत्कृष्ट उद्यमी कामदारलाइ पुुरस्कारको व्यवस्था 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले कामदारहरुलाई सिपमुलक तालिमको व्यवस्था गर्ने बताईएको छ । वैदेशिक रोजगारबाट फर्केर नमुना कार्य कार्य गरि उद्यमी बनेका कामदारलाई पुरस्कृत गर्ने बोर्डले जनाएको छ । बोर्डले पुरस्कृत कामदारको प्रक्रियालाइ पाइलट प्रोजेक्टका रुपमा लिएको छ । उद्यमी कामदारको छनौट प्रक्रिया गर्न लागिएको कुंवरले बताए । सिपमुलक तालिमलाई जिल्लाहरुमा पनि विस्तार गरिने बताईएको छ ।

कामका लागि विदेश जानु अघि अनिवार्य रु. १५ लाखको जीवन बिमा गर्न कामदारहरुलाई बोर्डले सुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप