भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना, डिपो सिल
शुक्रबार, ३० साउन २०७७, १६ : १८
काठमाडौं । नेपाल आयल निगम भैरहवा हवाई इन्धन डिपोका ४ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा संक्रमण पुष्टिसँगै १५ दिनका लागि डिपो सिल गरिएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षणपछि गराईएको परीक्षणमा चार कर्मचारीमा संक्रमण पुष्टि भएको निगम स्रोतले बतायो ।
ज्वरो आउने, खोकी लाग्ने लक्षणसहित कर्मचारी बिरामी भएपछि उनीहरुको स्वाव संकलन गरेर परीक्षण गराइएको थियो । केहिबेरअघि जनस्वास्थ्य कार्यालयबाट आएको रिपोर्टमा उनीहरुमा कोरोना भएको पुष्टि भएको निगमका एक अधिकारीले बताए । एउटै कार्यालयमा काम गर्ने थप पाँच कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको र संक्रमितलाई अस्पताल लैजानेबारे छलफल भइरहेको निगमले जनाएको छ ।