सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

संघीय सांसदले लगाउने लोगोको मूल्य साढे ५ हजार

आइतबार, ३२ साउन २०७७, १५ : ३५
आइतबार, ३२ साउन २०७७

काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतिक (लोगो)संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ ।  संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका हुन् ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आइतबारबाटै नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो  र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।  

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यहरुलाई समेत नयाँ नक्साअंकित लोगो आइतबारबाटै उपलब्ध गराइने छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप