सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कोभिड– १९ : अमेरिकामा मृत्युको तेस्रो प्रमुख कारण

मङ्गलबार, ०२ भदौ २०७७, ०३ : १०
मङ्गलबार, ०२ भदौ २०७७

 

एक वर्षअघिसम्म संसारमा अस्तित्वमै नरहेको रोग कोभिड– १९ यतिखेर विश्वकै सबैभन्दा शक्तिशाली देश अमेरिकामा मृत्युको तेस्रो प्रमुख कारण बनेको छ ।

संसारलाई नै यतिखेर आतंकित र हायलकायल बनाइरहेको, विश्व अर्थव्यवस्थालाई पूरै ध्वस्त पार्दै गइरहेको कोभिड–१९ रोग लगाउने सार्स–कोभ–२ नाम दिइएको कोरोनाभाइरसको संक्रमणले यतिखेर विश्वभरि २ करोड १७ लाख ५५ हजार ६९ जना (भदौ २ गते बिहान १ बजेसम्म) पीडित बनेका छन् । तीमध्ये अमेरिकामा मात्रै ५४ लाख १६ हजार ६ सय ३९ जना संक्रमित बनिसकेका छन् । विश्वव्यापी रुपमा कोरोनासंक्रमणका कारण ७ लाख ७६ हजार ४ सय ६९ जनाको निधन भइसकेको छ भने अमेरिकामा मात्रै १ लाख ७० हजार १ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

वितेका तीन हप्ता यता अमेरिकामा कोरोनाभाइरसकै कारण प्रतिदिन १ हजारजना भन्दा बढीको निधन भइरहेको तथ्यांकहरुले देखाउँछ ।

अमेरिकाका सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका पूर्व निर्देशक डा. थोमस फ्राइडेनका अनुसार, ‘कोभिड अहिले अमेरिकामा मृत्युको तेस्रो प्रमुख कारण बनेको छ । यसले दुर्घटनाहरु, चोटपटक, फोक्सोका रोग, मधुमेह, अल्जाइमर र अन्य थुप्रै रोगहरुलाई पछाडि पारिसकेको छ ।’

‘अमेरिकामा कोभिडका कारण मर्नेहरुको दर अरु थुप्रै देशहरुमा भन्दा निक्कै उँचो छ,’ फ्राइडेन भन्छन्, ‘गत हप्ता, युरोपियनहरुको तुलनामा कोभिडका कारण मारिने अमेरिकाको संख्या ८ गुना बढी थियो ।’

स्मरण रहोस्, अमेरिकामा सबैभन्दा बढी मृत्यु मुटु रोगका कारण हुने गर्छ । दोस्रो नम्बरमा क्यान्सर आउँछ भने कोभिडको प्रकोप शुरु हुनुभन्दा पहिले दुर्घटना र अप्रत्यासित चोटपटकहरु तेस्रो नम्बरमा आउने गथ्र्यो ।

विश्व स्वास्थ्य संगठनको सन् २०१६ को तथ्यांकअनुसार चाहिँ विश्वमा सबैभन्दा बढी मृत्यु गराउने १० कारणहरुमा क्रमशः इस्केमिक हार्ट डिजिज, स्ट्रोक, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज, लोअर रेस्पिरेटोरी इन्फेक्सन, अल्जाइमर डिजिज एण्ड अदर डिमेन्सिया, ट्राचिए, ब्रोङकस, लङ क्यान्सर, डाइबिटिज मेलिटस, रोड इन्ज्युरी, डाययिा डिजिजेज, ट्युबरक्लोसिस पर्दछन् ।

तथ्यस्रोतः जोन हप्किन्स युनिभर्सिटी अफ मेडिसन,  सीएनएन, डब्लूएचओ, एमडीलिङक्स, मेडिकलन्यूजटुडे

Title Photo: Map vector created by studiogstock - www.freepik.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप