आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नागरिकताबारे छानविनका लागि उच्चस्तरीय आयोग गठन गर्न नेकपा (माले)को माग

मङ्गलबार, ०२ भदौ २०७७, १३ : ४८
मङ्गलबार, ०२ भदौ २०७७

काठमाडौं । नेकपा (माले)ले विदेशी नागरिकले अवैध तवरले लिएका नागरिकता प्रमाणपत्रबारे छानविन गर्न अविलम्व अधिकार सम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । सो पार्टीको स्थायी कमिटी बैठकले अवैध रुपमा विदेशीले लिएका नागरिकता प्रमाणपत्रहरू खारेज गर्न र लिने–दिनेलाई कठोर कानुनी कारवाही गर्ने उद्देश्यले अधिकारसम्पन्न उच्चस्तरीय न्यायिक आयोग गठनको माग गरेको छ ।

बैठकका निर्णयबारे जानकारी दिने उद्देश्यले जारी प्रेस–विज्ञप्तिमा सरकारको अकर्मण्यता र अब्यवस्था लगायतका कारणले बाढी–पहिरो तथा कोभिड १९ बाट जनधनको क्षति बढेको उल्लेख छ । यी विपत्तिबाट भएका विनाशका लागि प्राकृतिक कारणमात्र नभई सरकार पनि जिम्मेवार रहेको नेकपा (माले) स्थायी कमिटी बैठकको ठहर छ । 

कोभिड–१९ को सम्भावित संक्रमणलाई समयमै समुचित ब्यवस्थापन गर्न नसक्नु तथा त्यस सिलसिलामा सरकारका जिम्मेवारहरू नै कमाउ धन्धामा लाग्नु, २०७२ को विनाशकारी भूकम्पबाट क्षतविक्षत तथा असुरक्षित गाउँबस्तीलाई सुरक्षित स्थानमा ब्यवस्थापन गर्न नसक्नु र विकासको नाममा कमाउ धन्धामा लागेर विनासको खतरालाई देखेर पनि नजरअन्दाज गर्नु सरकारको अकर्मण्यता रहेको पनि सो पार्टीले प्रष्ट पारेको छ ।

‘कोरोना संक्रमणलाई नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमानाका निश्चित् नाकाबाट मात्र आइजाई गर्ने ब्यवस्था गर्नु अत्यावश्यक देखिएको छ । कोरोना पश्चात् पनि नेपाल–भारत खुल्ला सिमालाई ब्यवस्थित गर्नु पर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘धेरै अतिक्रमित सिमा क्षेत्रमा आवश्यकतानुसार सशस्त्र प्रहरी पोष्ट राख्ने ब्यवस्था गर्न यो बैठक सरकारको ध्यानाकर्षण गर्दछ ।’ 

प्राकृतिक विपत्ति र सरकारी अब्यवस्थाको मारमा परेका जनतालाई उद्धार र राहतका निम्ति स्थानीय राजनीतिक जनकार्यमा सकृय रहन पार्टीका सबै प्रदेश, जिल्ला, पालिका तथा वार्ड कमिटी एवम् तद्नुसार वर्गीय तथा जनसंगठनहरूलाई निर्देशन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोभिड–१९ को उच्च जोखिमलाई ध्यान दिंदै संक्रमण प्रभावित क्षेत्रका सर्वसाधारण जनतालाई ०७७ भदौ २ गतेसम्म पहिलो चरणमा काठमाडौं उपत्यकाका निश्चित् ठाउँहरूमा मास्क वितरण गर्न पार्टीका स्थानीय कमिटीहरूलाई प्रोत्साहित गर्ने निर्णय गरिएको नेकपा (माले)का महासचिव सीपी मैनालीले जनाएका छन् ।

बैठकले नेपाली महिलाको परम्परागत चाड हरितालिका तिजको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहने समस्त नेपाली महिलालाई हार्दिक शुभकामना ज्ञापन गर्दै कोभिड–१९ को संक्रणप्रति अति गम्भिर रहेर पारिवारिक हिसावले मात्र पर्व मनाउन बैठक आग्रह गरेको महासचिव मैनालीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप